दाङ शान्तिनगर गाउँपालिका २ विष्णपुरका पवन केसी र रुकुम पश्चिम मुसिकोट नगरपालिका २ रातामाटाकी सुप्रिया खड्काबीच प्रेम विवाह भयो। उनीहरुको २ जेष्ठ ०७१ सालमा विवाह भएको थियो।
विवाह भएको करिब ७ वर्षपछि ४ चैत्र ०७८ मा सुप्रियाको मृत्यु भयो। मृत्युको कारणका विषयमा सुप्रियाको माइती पक्ष र घर पक्षबीचको विवाद आजसम्म रहेको छ। उनको मृत्यु के कारणले भएको भन्ने विषयमा सुप्रियाका श्रीमान पवन र माइति पक्षबीचको दाबी फरक–फरक रहेको छ।
अहिले पनि घटना टुंगोमा पुग्न सकेको छैन। प्रहरीले आफुले गरेको अनुसन्धानसँगै अस्पतालको पोष्टमार्टम रिपोर्ट र पवनको भनाइका आधारमा सुप्रियाको आत्महत्या भएको दाबी गरेको छ।
सुप्रियाले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। तर प्रहरीको अनुसन्धानमा आत्महत्याको कारण श्रीमान पवनले बच्चा जन्मान नसकेको भन्दै कुटपिट, झैझगडासँगै शारिरीक तथा मानसिक आयतना दिएको खुलाइएको छ।
अदालतमा बुझाइएको प्रतिवदेनमा भनिएको छ, ‘सुप्रियाले बच्चा जन्माउन नसकेका कारण पवन केसीले अन्य केटीहरुसँग लागी हिड्ने र दिनप्रतिदिन कुटपिट, झैझगडा शारिरीक तथा मानसिक यातनासमेत दिई मर्नसम्मको परिस्थिति खडा गरी निज सुप्रिया खड्काले सोहि पीडा सहन नसकी विषादी सेवन गरी उपचारका क्रममा मृत्यु भएको स्पष्ट खुल्न देखिन आएको छ।’
तर परिवारले प्रहरीको अनुसन्धान माथि नै प्रश्न उठाउँदै अस्पतालले समेत पोष्टमार्टम रिपोर्ट सहि नदिएको बताएको छ। मंगलबार घोराहीमा पत्रकार सम्मेलन गर्दै सुप्रियाका बुवा कर्णबहादुर खड्काले छोरीले विष सेवन गरेको नभई पवनले हत्या गरेको बताए।
उनले छोरीको नाक, योनीबाट रगत बगेको, शरीरका विभिन्न भागमा निल डाम देखिएको बताउँदै सुप्रियाको पवनसँगै अन्य व्यक्ति संलग्न भएर हत्या गरेको दाबी गरे।
छोरीको विभिन्न भागमा रगत देखिएको, कुटपिट गरेको निलडाम देखिएको भए पनि अस्पतालले सामान्य रुपमा लिएर घटना लुकाउन गलत रिपोर्ट दिएको कर्णबहादुरको दाबी छ। उनले प्रहरी र अस्पताल रिपोर्टमा थुप्रै गल्ती भेटिएको बताउँदै घटना शंकास्पद रहेको पत्रकार सम्मेलनमा बताए।
सुप्रिया र उनका श्रीमान पवनले दाङको तुलसीपुरमा रक्सीको व्यापार गरेर बसेका थिए। उनीहरुको बसाई पनि तुलसीपुर उपमहानगपालिका ५ (ख) लाइनमा कोठा भाडामा थियो। कोठामा नै चैत ३ गते राति साढे १२ बजे श्रीमतिले बन्ता गरेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगेको समयमा ४ गते विहान करिब २ बजे सुप्रियाको मृत्यु भएको पवनले प्रहरीलाई बयान दिएका छन्।
तर यस घटनामा माइति पक्षले प्रहरीको अनुसन्धानमा विश्वास गर्न सकेको छैन। अहिले यो विषय अदालतमासमेत पुगेको छ। अदालत आफूहरुलाई न्याय दिनेमा पूर्ण विश्वास रहेको भन्दै सुप्रियाका बुवा कर्णबहादुरले प्रहरीको अनुसन्धान र अस्पतालको पोष्टमार्टम रिपोर्ट शंकास्पद रहेको बताए।
उनले सुप्रियाको मृत्यु चैत ४ गते भएको भएपनि प्रहरीले छोरी ज्वाँई बस्ने कोठा खानतलासी गर्न चैत २ गते नै सूचना जारी गरेको भेटिएको बताए। उनले प्रहरीले घटना भएको २४ दिनपछि चैत २८ गते घटनाको मुलुल्का खडा गरेको, सप्रियाले डिप्रेसनको औषधी खाएको कुरा भनिए पनि अस्पतालको दर्ता पुर्जिमा डाक्टरले सो कुरा नखुलाएको, अस्पतालको इमेरजेन्सिमा भर्ना हुँदा सुप्रियाका दुई वटा भर्ना टिकट देखिएको र समय मेटिएको बताए।
प्रहरीले चैत ५ गते तयार पारेको लाशजाँच मुचुल्कामा मृतक सुुप्रियाको योनी, नाकमा रगत देखिएको, शरिरका विभिन्न भागमा निलडाम देखिएको भए पनि अस्पतालको पोष्टमार्टम रिपोर्टमा त्यो नखुलाइएको, अस्पतालमा कसैको मन्जुरिनामा कागज बेगर स्वास्थ्य जाँच गरेको, अस्पतालमा चैत ४ गते १ बजेर ४५ मा भर्ना भएको देखिए पनि पोष्टमार्टम रिपोर्टमा १ बजे नै मृत्यु भइसकेको देखिएका लगायत शंकास्पद तथ्य रहेको कर्णबहादुरले बताए।