ठुला पार्टीले पैसाकाे चलखेल गरेर चुनाव जिते, नयाँ पार्टी विलय भएर जान्छन्: हिमलाल पुरी (अन्तर्वार्ता)

आम निर्वाचनकाे प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छ। अघिल्लाे निर्वाचनकाे तुलनामा याे पटक ठुला राजनीतिक दलहरूकाे सिट संख्या खुम्चिएकाे देखिन्छ। अहिलेकाे निर्वाचनकाे मतपरिणामप्रति दलहरू खासै सन्तुष्ट देखिँदैनन्।

कुनै दलले गठबन्धन गरेर त कुनै दलले चुनावी तालमेल गरेर निर्वाचनमा हाेमिए पनि नतिजा भने साेचअनुरूप आएन। सन्ताेषजनक परिणाम नआएपछि दलहरूले चुनावी समीक्षा पनि गरिरहेका छन्।

यता बाम लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदान हाेमिएकाे राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभातर्फ एक सिट मात्र हात पारेको छ। गठबन्धनकाे भागबण्डामा प्रतिनिधिसभातर्फ २ सिट लिएकाे जनमोर्चाले १ सिट मात्रै जित्याे।

निर्वाचनकाे नतिजालाई लिएर जनमोर्चा पनि असन्तुष्ट नै छ। चुनावी समीक्षा, पार्टीको धारणा, गठबन्धन तथा वर्तमान राजनैतिक विषयमा केन्द्रित रहेर राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचिव हिमलाल पुरीसंग बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानी संम्पादित अश प्रस्तुत छ :

निर्वाचनकाे प्रारम्भिक नतिजा आइसक्दा परिणाम त सन्तोषजनक आएन नि, यसलाई कसरी समीक्षा गर्नुहुन्छ?

हामी बाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचनमा गएका थियौँ। एमालेले पनि विभिन्न पार्टीसंग तालमेल गरेर निर्वाचनमा हामिएको थियो। मुख्य गरेर यी दुई घटकबीच प्रतिपर्धा रहेर चुनाव सम्पन्न भयो। तर बाम लोकतान्त्रिक गठबन्धनलाई झिनो बहुमत पाप्त भयो। कारण सत्तामा रहेका दलहरुले ठिक प्रकारले काम गर्न सकेनन्, जसले गर्दा देशमा अपेक्षाअनुसारको विकासका कामहरु हुन सकेनन्।

जनताको जीवनस्तर झन् खस्केर गयो। देशभित्र बेरोजगारी, भ्रष्टाचार बढ्दै गयो। जसले गर्दा जनताले दलहरुप्रति नकारात्मक धारणा बनाए। त्यो असन्तुष्टहरु जनताले यो निर्वाचनमा पोखे। जस्तो कि विभिन्न स्वतन्त्र तथा नयाँ दलहरुलाई फाइदा भयो। सोचेको जस्तो मतपरिणाम आउन सकेन। मुख्य गरेर दलहरुप्रतिको असन्तुष्ट नै हो। स्वतन्त्रहरुले ठुल्ठुला कुराहरु गरेकाले जनतालाई आकर्षित गरे, जनताको ध्यान उतै भएका कारण चेकजाँच गर्नका लागि भएपनि उनीहरुलाई नै मतदान गरे।

कुनै नीति, सिद्धान्त, कार्यक्रम, चरित्र, घोषणापत्र नभएपनि एक पटक हेरौँ न भन्ने सोचले जनताले नयाँलाई भोट हाले। तर यो उचित हैन, किनभने बहुदलीय व्यवस्थामा दलबाहेकको अर्को कुनै विकल्प छैन। उनीहरुको जितले वर्तमान सरकार गठनमा पनि निकै असर गरेको छ।

मतपरिणाम राम्रो नआउनुमा तपाईंको पार्टीको एजेण्डा ठिक नभएर हाेला नि?

त्यस्तो कदापि होइन। एजेण्डा ठिक नभएका कारण जनमत नभएको भन्न मिल्दैन। पञ्चायतकालमा पञ्चायती व्यवस्था ठिक थिएन तर धेरै पञ्चायतीहरु थिए। बहुदलीय व्यवस्था आइसकेपछि पनि कैयौँ ठुला पार्टीका एजेण्डाहरु जनताले अस्वीकार गरेका छन्। तर जनताले उनीहरुलाई नै भोट दिएका छन्। जनताले मूलधारका ठुला पार्टीहरुको एजेण्डा हेरेर मतदान गरेका होइनन्। यस्तो प्रकारको संसदीय व्यवस्था जनताको व्यवस्था पनि होइन। तर यसकाे विकल्प अर्को छैन।

वर्तमान ठुला राजनैतिक दलहरुले पनि एजेण्डाले काम गरेर निर्वाचन जितेका होइन। पैसाकाे चलखेल, निर्वाचनमा अनियमितता, छलछाम, तिकडम र जनतालाई झुठा आश्वासन दिएर चुनाव जितेका हुन्। यस्ता कुराहरु जनताले स्पष्टसंग नबुझेर एक वा अर्को भ्रम, प्रलोभमा परेर मतदान गरेका हुन्।

हामी जहिले ठिक छौँ, हाम्रो एजेण्डा ठिक छन्। अहिलेको निर्वाचन प्रणालीमा समेत हाम्राे केही असहमति छन्। संघीयता हाम्रो तथा जनताको लागि उचित छैन। हाम्रो कुनै एजेण्डा जनताले अस्वीकार गरेका छैनन्।

अहिलेकाे निर्वाचन निकै महँगाे भएको छ। याे पुँजीवादीहरुको निर्वाचन हो। एजेण्डाले भन्दा पनि पैसाले मत किन्ने भएकाले यस्तो भएको हो। रणनैतिक रुपमा हामी संघीयता मादैनौँ। तर चुनावलाई उपयोग गरेर हाम्रो आवाज जनतामा पुर्याउनका लागि हामी चुनावमा गएका हौँ। पुँजीवादी संसदीय व्यवस्था ठिक छैन। हाम्रो एजेण्डा जनताका एजेण्डा हुन्।

तपाईंको पार्टीले एक सिट जितेर भएपनि संसदमा पार्टीको अस्तित्व त राख्यो नि होइन र?

हाम्रो अस्तित्व जिते पनि, नजिते पनि कायमै रहन्छ। अस्तित्व भनेको राजनैतिक रुपमा रहने हो। अहिले हामीले एक सिट मात्र जित्यौ। हाम्रो आवाजहरु सदनमा पुग्ने भए।

अब तपाईंको पार्टीको भविष्य के हुन्छ?

हाम्रो पार्टीको भविष्य राम्रो नै छ, केही हुँदैन। हामी जहिले पनि गरीब जनता र राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाइरहेका हुन्छौँ। हामी संसदमा नहुँदा पनि हाम्रो अस्तित्व राम्रो नै हुन्छ।

पञ्चायतकालमा हामी निर्वाचनमा नजाँदासम्म पनि हाम्रो संगठनात्मक स्थिति राम्रो थियो। बहुदलीय व्यवस्थाको पहिलो निर्वाचन बहिष्कार गरेका थियौँ। त्यतिबेला पनि हामी जनताको बिचमा थियौँ, अहिले पनि हामी जनताको बिचमा छौँ।

तपाईंको पार्टी चुनावमा जसरी बाम लोकतान्त्रिक गठबन्धनमा च्यापिएर गयो, अब नयाँ सरकारमा पनि त्यसरी नै जाने त होला नि हाेइन?

अहिलेको जुन बाम लोकतान्त्रिक गठबन्धन छ, यो रहरले बनेको गठबन्धन हैन। केपी ओली नेतृत्वको सरकार अर्थात केपी ओलीले पार्टीको नियम, संविधान र नीति नमानेर संसद विघटन गरेका थिए, त्यसकै विरूद्ध हाे। उनले गरेका त्यो कदमले गर्दा संविधान, लोकतन्त्र संकटमा देखियो र हामी बाध्यातमक रुपले बाम लोकतान्त्रिक गठबन्धन गर्न पुगेका हौँ।

अहिले पनि एमालेले आफ्नो नेतृत्व नीति बदल्छ, सच्चिएर आउँछ भने एमालेसंग गठबन्धन हुन सक्छ। तर त्यो सम्भावना अहिले देखिँदैन। हामी गठबन्धनमै हुन्छौँ।

नयाँ सरकारमा जाने/नजाने विषयमा तपाईंको पार्टीकाे धारणा के छ?

सरकारमा जाने/नजाने अहिले नै हाम्रो पार्टीले निर्णय गरेको छैन। अहिले सत्ता गठबन्धनको बहुमत देखिएको छ। प्रतिगमनको खतरा अझै रहेकाे छ। झनै ठुलो समस्या भनेको अहिले उदाएका नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरु हाे। उनीहरू कुन पुष्ठभूमिबाट आएका हुन् थाहा छैन। यस्तो परिस्थितिमा जवाफ दिनुपर्ने भएकाले अहिले गठबन्धनको सरकार बनोस् भन्ने अपेक्षा हो। तर हामी त्यसैमा समावेश हुन्छौँ भन्ने पनि छैन। सरकारमा जाने, मन्त्री बन्ने चाहना हाम्रो हुँदैन। संसदवादी पार्टी जस्तो गरेर हाम्रो राजनीति हुँदैन, सरकार बनाउने कुरामा हामी छैनौँ।

अहिलेको निर्वाचनमा पुराना तथा ठुला पार्टीलाई जनताले विश्वास नगर्नुका कारण के होला?

मैले पहिले पनि भनिसकेको छु। जनताले पूर्ण रुपमा अविश्वास गरेको भन्न मिल्दैन। जुन प्रकारले जनताको विश्वास पाउनुपर्थ्याे, त्यो पाइएन। त्यसको मुख्य कारण भनेको दलहरुले गरेका कामहरुप्रति जनता सन्तोषजनक थिएनन्।

वर्तमान समयमा उदाएका नयाँ पार्टी र उनीहरुको जितलाई कसरी लिनुभएको छ?

राजनीतिमा नयाँ मान्छेको प्रवेशलाई नराम्रो मान्दैनौँ। किनभने, बहुदलीय व्यवस्थामा कुनै पार्टीमा लाग्ने-छोड्ने, नयाँ पार्टी गठन जनताको अधिकारको कुरा हो। त्यसलाई सकारात्मक रुपमा लिएका छौँ। अहिले उदाएका दलहरुको घोषणापत्र छैन, सिद्धान्त छैन, नीति तथा कार्यक्रम स्पष्ट छैन। तर एक प्रकारको जनमत पैदा भयो। यो भनेको दलहरुप्रतिको वितृष्णा, आक्रोशको परिणाम हो। चुनाव जित्दैमा सबै कुरा गर्ने, हुने भन्ने हुँदैन। पुराना इतिहासहरुलाई हेर्नु पर्छ। जस्तो कि हिजोको विवेकशील साझा अथवा रविन्द्र मिश्रको पार्टीको उदयलाई ताजा उदाहरणको रुपमा लिन सकिन्छ। आज उनीहरु विलय भएर कहाँ कहाँ गए?

अहिलेको स्वतन्त्रहरुको उदय पनि कतै त्यस्तै पाे हो कि भन्ने पनि देखिन्छ। पहिले नै स्पष्ट रुपमा आफ्नो नीति, सिद्धान्त, योजना सार्वजनिक गरेर जनताको माझ गएको भए फरक हुन्थ्यो तर उनीहरुको जित त्यस्तो जित हैन। उनीहरुको पार्टी गठनको लामो इतिहास पनि छैन। जनता असन्तोषको माहोलमा लागेर जिताएको अनुमान गर्न सकिन्छ। उनीहरुको बारेमा अहिले नै नकारात्मक रुपमा टिप्पणी गर्नु हुँदैन। उनीहरुको काम क्रियाकलाप हेर्न बाँकी छ। तर उनीहरुबाट देशको राजनीतिले निकास पाउने देखिँदैन। काम हेरेर मात्र विश्वास गर्नुपर्छ भन्ने लाग्छ।

तपाईं त सत्ता गठबन्धनको बैठकमा नियमित हुनुहुन्छ, के अबको सरकार गठबन्धनको बन्ला त?

बहुमत भएपछि गठबन्धनको सरकार बनिहाल्छ। तर कांगेसभित्र विभिन्न ग्रुपहरु देखिएका छन्। अन्य दलहरुबाट कस्तो प्रकारको भूमिका रहन्छ हेर्न बाँकी छ। आफ्नो सरकार आफैँ ढाल्नसमेत पछि नपर्ने पनि देखिन्छ। गठबन्धनको बहुमत झिनो मात्र देखिएकाले स्थायी सरकार बन्ला जस्तो देखिँदैन।

अन्त्यमा, नेपालका बामपन्थीहरुमा स्पष्टता देखिँदैन, कांग्रेससंग गठबन्धनमा हुनुहुन्छ? यसरी जनता झुक्काउन भएन नि?

मुख्य बामपन्थीहरु मिलेका हुन्। तर देशमा प्रतिगमन निम्तिएकाले बाम लोकतान्त्रिक गठबन्धन बन्न पुगेकाे हाे। गठबन्धन भनेको कार्यगत एकता हो। कार्यगत एकता एउटा पार्टीको हुँदैन, एउटै कार्यक्रम पनि होइन। यो खास कामको लागि आवश्यकता हाे।

राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि हाम्रो गठबन्धन भएको हाे। गठबन्धन गर्नका लागि राजनैतिक एजेण्डा मिल्नु पर्छ भन्ने छैन। राजनैतिक पक्ष मिल्ने भए त पार्टी नै एक हुन्थ्यो। अधिकांश मिल्यो भने रणनैतिक मोर्चा बन्छ। कार्यगत एकता मिल्न सक्छ। अहिलेको कांग्रेससंगको गठबन्धन विभिन्न कोणबाट आलोचना आएपनि यो चाहिँ नैतिक नै छ।

प्रकाशित मिति: : 2022-12-08 22:20:00

प्रतिकृया दिनुहोस्