हिराले ढुङ्गामा बुट्टा भरेरै राजधानीमा घर ठड्याए (भिडियाेसहित)

‘पाटनमा तीन लाख ७० हजारमा घर किनेँ’

पाटनका हिरा बज्रचार्य पुरोहित परिवारमा जन्मिए। पुराेहित परिवारमा हुर्किएका कारण उनलाई सानै बेलादेखि बाआमाले पुरोहित बन्नुपर्छ भन्दै सुझाव दिएका थिए। तर उनी बाआमाको कुरालाई बेवास्ता गरिदिन्थे।

पूजारी बन्नमा चासो नरहेका उनलाई जीजुबाजेले नगरेको काम हस्तकलामा रुचि थियो। जसका कारण थिए, उनको घर छेउका काका। उनमा कलाप्रतिको रुचि पनि उही काकाले भरदिएका हुन्।

उनका काकाले ढुङ्गा कुँदर थरिथरिका मूर्ति बनाउँथे। त्यही देखेर उनमा पनि जोश आएकाे थियाे, चित्र काेर्ने। अकंलले ढुङ्गाबाट मूर्ति बनाउँदा उनी त्यसको नक्कल गर्दै घरको आँगनमा चित्र कोर्थे। ‘इट्टाको चौटाले भुइँमा कोरेर चित्र बनाउँथे’, उनी सुनाउँछन्।

काकाले गरेको काम देखेर लोभिएका उनले भविष्यमा पनि त्यही काम गर्ने निधो गरे। अध्ययनभन्दा कलामा रमाएका उनले २०३३ सालमा पढाइलाई विश्राम दिए।

‘कक्षा ८ मा फेल भएपछि पढ्न मन लागेन, त्यसैले पढाइ नै छाडिदिएँ’, उनले भने। पढाइ छाडेपछि उनी मूर्ति बनाउनतर्फ लागे। अकंलकहाँ मूर्ति बनाउन सिक्ने गएका हिरालाई काकाले पहिलोपटक ढुङ्गाबाट सूर्यको आकृति बनाउन लगाए।

हिराले पनि काकाले भनेझैँ सुरुमा सानो ढुङ्गा लिए अनि त्यसमाथि छिना र हम्मरको प्रयोग गर्दै ढुङ्गालाई सूर्यको आकृतिमा ढाले।

‘ढुङ्गालाई सूर्य बनाउनका लागि मलाई साता दिनै लाग्यो’, बिएल नेपाली सेवासँग आफ्नो पहिलो अनुभव सुनाउँदै उनले भने, ‘त्यो दिन म धेरै खुसी भएको थिएँ।’

ढुङ्गा फुटाएर देवता बनाउन जानेपछि उनी त्यही काममा रमाउन थाले। काम सिक्न थालेको वर्ष दिनपछि उनले ढुङ्गाबाट सूर्य मात्र होइन, भगवान र मान्छेको मूर्ति पनि बनाउन सक्ने भए।

हिराको प्रगति देखेर ‘डाहा’ गर्ने छरछिमेकले उनको बारेमा नानाथरी कुरा काट्न थाले। आफन्तहरुले छोराको कुरा गरेको सुनेर हिरालाई बाआमाले ढुङ्गाको काम छोड्न आग्रह गरे।

‘पुराेहितकाे छाेरा भएर पनि हिराले फोहोर काम गर्यो भनेर मेरो कुरा काटेको मेरा बाआमाले सुन्नुभएछ। त्यसैले मलाई उहाँहरुले काम छाड्न लगाउनु भयो तर मैले मानिनँ’, उनले भने, ‘बरू उल्टै उहाँहरूलाई सम्झाएँ।’

ढुङ्गालाई मूर्तिमा ढाल्न जानिसकेका हिराले दिनको तीन रुपैयाँ तलबमा काम गर्न थाले। उनको कामप्रतिको लगाव र मेहनतको कारण महिना दिन नबित्दै उनको तलब दुई रुपैयाँ बढेर पाँच रुपैयाँ पुग्यो।

‘त्योबेला पाँच रुपैयाँको धेरै कुरा आउँथ्यो। भक्तपुर गएर फिल्म हेर्न र खाजा खान मात्रै पुग्थ्यो’, उनी भन्छन्, ‘पाँच रुपैयाँ कमाएर खुसी भएँ।’

‘पाटनमा चार लाखमा घर किनेँ’

ढुङ्गालाई मूर्ति बनाउन सिपालु भएका उनले विस्तारै ठूल्ठूला भगवानका मूर्ति बनाउन थाले। राम्रो काम गर्ने भएकाले उनीकहाँ स्वदेशबाट मात्र होइन, विदेशबाट पनि मूर्ति बनाउने कामको ठेक्का आउन थाल्यो। अधिकांश जापान र थाइल्याण्डबाट मूर्ति बनाउने अर्डर आएकाे उनले सुनाए।

‘थाइल्याण्ड बुद्धको धर्म मानिने देश हाे। त्यसैले मलाई थाइल्याण्डबाट झण्डै १० फिट ठूलो बुद्धको मूर्ति बनाउने अर्डर आएकाे थियाे। एक वर्ष लगाएर बनाएकाे त्याे मूर्तिबाट मैले चार लाख रुपैयाँ पाएकाे थिएँ’, दुई दशकअघिको कुरा याद गरेर हाँस्दै उनी सुनाउँछन्, ‘त्यत्रो पैसा कहाँ राख्ने कहाँ भयो, त्यसैले तीन लाख ७० हजारमा घर किनेँ।’

पाटनको गल्लीमा किनेकाे पुरानाे घरलाई उनले भत्काइदिए। त्यसपछि सात लाख खर्च गरेर त्यही ठाउँमा नयाँ घर बनाए। ‘अहिले यो घरको मूल्य डेढ करोड बढी पर्छ’, आफूले पसल गरेर बसेको घर देखाउँदै उनले भने।

२० वर्षअघि मूर्ति बेचेर किनेको घरमा उनले आफ्नै ‘हिरा स्टोन वर्कशप’ नामको पसल खोले। आफैँले पसल सञ्चालन गरिसकेपछि उनले दक्षिणकालीबाट ढुङ्गा ल्याउन थाले र त्यसलाई कुँदेर मूर्ति बनाए।

‘२५ लाख रुपैयाँमा १२ फिट अग्लो बुद्धको मूर्ति बनाएँ’

२०७२ सालमा हिराले साथीहरुसँग मिलेर १२ फिट अग्लो बुद्धको मूर्ति बनाए। जसका लागि उनीहरुले एक वर्ष समय लगाए। २५ लाखमा ठेक्का लिएको मूर्तिलाई उनीहरुले पाटनको सुन्धारामा ठड्याए।

‘मलाई अझै ७ वर्ष अगाडिको त्यो पुरानो घटना याद छ’, उनले भने, ‘वैशाख १२ गते हामीले त्यो मूर्तिलाई सुन्धारामा उभ्याएर उद्घाटन गर्नका लागि मूर्ति छाेपेकाे कपडा के उठाएका मात्र थियाैँ, त्यत्तिकैमा एक्कासी भुइँमा हलचल हुन थाल्यो। त्यतिबेला ठ्याक्कै ११:५६ बजेको थियो।’

मूर्तिको उद्घाटन गरेकै समय भुइँचालो जानु संयाेग रहेको उनको बुझाइ छ। ७ वर्ष अगाडि गएको महाभूकम्पले नेपाललाई तहसनहस गरेको सम्झँदै उनी सुनाउँछन्, ‘मेरा बुबाले बनाउनुभएको धरहरा पनि भत्कियो।’

पुरोहित भएपनि मिस्त्रीको काम गर्न जानेका बुबाले ९० सालमा काठमाडौंको धरहरा बनाएकाे उनले बताए।

‘नयाँ पुस्ताहरुलाई काम सिकाउन चाहन्छु’ 

साढे चार दशकदेखि मूर्ति बनाउनमा पोख्त रहेका हिराको अब नयाँ पुस्तालाई काम सिकाउने लक्ष्य छ। ‘६० वर्ष पुगिसकेँ, काम गर्ने जाँगर पनि हट्न थालिसक्यो। त्यसैले नयाँ पुस्तालाई काम सिकाउन चाहन्छु’, उनी भन्छन्, ‘कलालाई कहिले कसैले मार्नु हुँदैन।’

आफूले गरेको काम गर्न जाने महिनामै लाखौँसम्म पैसा कमाउने उनी बताउँछन्। ‘मकहाँ अहिले लाखौँ मूल्य पर्ने मूर्तिहरु छन्’, उनले भने, ‘हामीहरुले उचाइ हेरेर रकम लिने गर्छौँ। जति अग्लो मूर्ति उत्तिकै ठूलो रकम।’

आफ्नो शरीर गल्न थालिसकेको कारण युवा पुस्ताहरुले काम सिकेर यसलाई निरन्तरता दिइरहनु भन्ने हिराको चाहना छ।

प्रकाशित मिति: : 2022-12-12 22:00:00

प्रतिकृया दिनुहोस्