अहिलेको प्रतिनिधिसभा र प्रदेशसभामा कयौं नयाँ अनुहारहरूले ठाउँ पाएका छन्। हुन त विगतमा भएको स्थानीय तहकाे निर्वाचनले पनि नमुना देखाइसकेको थियो, त्योबेला कयौं व्यक्तिहरू महानायकको रूपमा चयन भएका थिए। जसमा धरान उपमहानगरपालिका र काठमाडाैँ महानगरपालिकालाई उदाहरणको रूपमा लिन सकिन्छ। त्योबेलाको निर्वाचनले एउटा भावी सन्देश दिएकै हो।
कतिपय बुद्धिजीवीहरूको अनुमान त धेरैजसो पुराना नेताहरूले घुँडा टेक्छन् भन्ने दावा पनि थियो तर त्यसो हुन सकेन। त्यस्ताे हुन नसक्नुमा छुट्टै बिश्लेषणको विषय छन्, त्यसमा विभिन्न कारणहरू हुन सक्छन्। अहिलेको जल्दाबल्दा विषय संसदमा युवाहरूले ठाउँ पाएको बारेमा केही चर्चा गर्नु उपयुक्त हुनेछ।
प्रथमत: यो हाम्रो देशको लागि नौलो विषय नै होइन। देशको इतिहासमा राष्ट्रियता र जनजीविकाको विषयलाई लिएर चर्को भाषण गर्ने जुनसुकै व्यक्ति वा समूहलाई कयौं पटक जनताले सहयोग गर्दै आएका छन्। अतिरञ्जित नारा लगाउने, क्रान्तिकारी गफ लगाउने र उग्र आन्दोलन गर्नेहरूलाई जनताले किन साथ सहयोग दिएका हुन्छन्? यही हाम्रो पहिलो प्रश्न हो।
विकासको नाउँमा असमान सन्धि-सम्झौता गरेर देशलाई नाङ्गेझार पार्दै आएका व्यक्तिहरूबाट देशका जनताहरू दुखी छन् र उनीहरूले पटकपटक निकास खोजिरहेका हुन्छन्। त्यसैको परिणाम अहिले र आजभन्दा पहिले नौला अनुहारहरूको उदय हुँदै आएको हो।
सर्वसाधारण जनताले भ्रष्टचारमुक्त माहोल र अखण्ड देश चाहिरहेका हुन्छन्। युवाहरूले आफ्नै देशमा रोजगार पाउँ भन्ने चाहेका हुन्छन्, देशभक्तहरूले देशमा विदेशीको हालिमुहाली रोकियोस् भन्ने सपना देखेका हुन्छन्। प्रत्येक न्यायप्रेमीले अन्याय, अत्याचार रोकियोस्, देशभित्र बिना दस्तुर नागरिकको काम होस् र देशका जनतालाई शान्ति सुव्यवस्था होस् भन्ने चाहन्छ। चेलिबेटीको सुरक्षा राज्यले गरोस् प्रशासन नागरिक समाजप्रति उत्तरदायि होस् आदि इत्यादि भन्ने चाहन्छन्।
आइपरेका समस्यहरूको समाधान गर्ने कुनै पात्र हाम्रो देशभित्र छ कि भनेर आम जनताले नाडी छामेको हो भनेर बुझ्नुपर्छ। उनीहरूको पार्टी र नेताहरूमा जनताले राष्ट्रियता र जनजीविकाको आशा गरेका हुन्छन्। ६/७ महिना पहिले जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि जनताले त्यही आशा गरेर जिताएका हुन सक्छन्।
व्यवस्थाभित्र धेरै खराब व्यक्तिहरू भएका कारणले नौला अनुहारहरूको उदय भएको हो। जुन जनताले हिजो राजतन्त्रलाई फाल्न ठुलो कुर्बानी दिए, तिनै जनताले अहिले राजावादीहरूलाई जिताउन किन पर्याे? देशभित्र अहिलेसम्मका नेताहरू धेरैजसो निकम्मा भएर नै हो।
हाम्रो देशमा अहिले मात्रै होइन, दशकौंदेखि यस्तो हुँदै आएको छ। साँच्चै भन्ने हो भने २००८ सालमा के आई सिहंको उदय, त्यसपछि २०५२ सालमा माओवादीको कथित जनयुद्ध पनि यस्तै अवस्थाका कारणले जन्मिदै आएका हुन्। तर जनताहरूको आन्दोलन कामियाब नहुनु वा गन्तव्यमा नपुग्नुमा खराब पात्रहरूको भूमिका प्रमुख हुन्छ।
लाखौं युवाहरू विदेशिन बाध्य छन्, उनीहरूलाई आफू बसेकै ठाउँबाट मतदान गर्न पाउने सर्वोच्चले दिएको आदेश समेतलाई सरकारभित्र बसेका दलहरूले कुनै वास्ता गरेनन्। परिणाम उनीहरू मतदान गर्न बञ्चित भए। नेपालमा राजनीति पार्टीहरूका पनि विदेशमा सहयोगी जनवर्गीय संगठनहरू हुने गर्छन् तर उनीहरूलाई मात्र बैंकिङको रूपमा चन्दा असुल्ने हेतुले उपयोग गर्दै आएका छन्। उनीहरूको अवस्था के छ, उनीहरूले विदेशमा कस्तो जीवनयापन गरेका छन्, त्यसबारे कसैलाई सरोकार छैन।
गर्न चाहे के हुँदैन? भारतमा सन् १९४७ देखि कैयौं नेता आए/गए, खास गरेर कांग्रेस र बिजेपीको बोलवाला रह्यो तर जनताको समस्या हल भएको थिएन। अहिले त्यहाँका जनताले गत पन्द्र वर्षबाट केजरिवालको शासन व्यवस्थामा सुख भोग्दै आएका छन्। केजरिवाल जनताको मनमष्तिकमा बस्न सफल भएका छन्। जनताले विस्तारै उनलाई राष्ट्रिय नेताको रूपमा स्थापित गरेका छन्। अहिले पञ्जाबमा पनि केजरिवालको सरकार छ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रमले देशभित्र पनि केही न केही प्रभाव पार्नु अस्वाभाविक होइन। अहिले हाम्रो देशको अवस्थाले यो गति लिएको हो। बहुदलीय व्यवस्थापछि अहिलेसम्म देशको दुर्गति र जनताको दर्दनाक अवस्थाकै परिणाम देशका जनताले निकास खोजेका छन्। राजनीतिक पार्टीहरूप्रति उनीहरूको अविश्वास बढ्दै गएको यो चुनावी नतिजाले पनि पुष्टि गरेको छ।
अहिले राजनीतिक पार्टीहरूले हारेपछि एकले आर्कालाई आरोप प्रत्याराेप लगाउनुको कुनै औचित्य छैन। बरू आत्म मन्थन गरेर आ-आफ्नो पार्टीलाई सुधार्ने प्रयत्न सबैले गर्नुपर्छ भन्ने लाग्छ।