चुनावअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे पार्टी दाेस्राे शक्ति बन्ने दाबी गर्थे। प्रचण्डले दाबी मात्रै गरेका थिएनन्, साेही अनुसार रणनीति पनि बनाइरहेका थिए। फलस्वरुव: विचार र सिद्धान्त नमिल्ने पार्टी काँग्रेससँगकाे सत्ता गठबन्धनलाई निरन्तरता दिए, आफ्ना पूर्व सहयाेद्धा डा. बाबुराम भट्टराईलाई पार्टीमा भित्र्याए र अन्य असन्तुष्ट पक्षलाई समेत साथमा लिए।
नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)सँग गठबन्धन गरेर चुनावमा जाँदा माओवादीले सिट बाँडफाँडमार्फत् ४३ क्षेत्रमा उम्मेदवार उठाएकाे थियाे। ४३ सिटमा उम्मेदवारी दिएकाे माओवादीले ०७४ मा जितेकाे भन्दा बढी सिट जितेर एमालेभन्दा ठुलाे शक्ति भन्ने विश्वास थियाे। तर, चुनावकाे अन्तिम मतपरिणाम आइरहँदा माओवादी १७ सिटमा समेटियाे।
राजनीतिका चतुर खेलाडी मानिने प्रचण्डले गठबन्धनबाट नराम्राेसँग फेल खाए। २०७४ मा ३६ सिट जितेकाे माओवादी १७ सिटमा समेटियाे, सुदूरपश्चिममा एउटा पनि सिट जित्न सकेन, काठमाडाैँबाट सबै उम्मेदवार हारे, पार्टी महासचिवसहित शीर्ष नेताहरुले नराम्राेसँग हारे व्यहाेरे। अन्तत: माओवादी केही महिना अगाडि खुलेकाे रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे हाराहारीमा झर्याे। आखिर बलियाे रणनीति बनाएर चुनावी मैदानमा हाेमिएकाे माओवादी किन नराम्राेसँग पछारिनु पर्याे ?
सत्ता गठबन्धनमा रहेकाे नेपाली काँग्रेसले इमान्दारिता नदेखाउँदा खराब नजिता भाेग्नु परेकाे माओवादीकाे निष्कर्ष छ। गठबन्धनकाे मत बलियाे रहेकाे ठाउँमा पनि काँग्रेसले आफ्ना उम्मेदवारलालाई भाेट नदिएकाे माओवादीकाे आराेप छ।
काँग्रेसकाे भरमा माओवादीले उम्मेदवारी दिएका ठाउँहरु काठमाडाैँ क्षेत्र नं. २ मा ओन्सरी घर्ती मगर, काठमाडाैँ क्षेत्र नं. ७ मा अस्मिता सिंह मानुषी यामी, ललितपुर क्षेत्र नं. २ मा ऊर्जा मन्त्री समेत रहेकी पम्फा भुसाल, लम्जुङमा देब गुरुङ, महाेत्तरी क्षेत्र नं. १ मा गिरीराजमणि पाेख्रेल, कन्चनपुर क्षेत्र नं. १ मा बिना मगर पराजित भएका छन्। यी उम्मेदवारहरुले जित्ने सम्भावना रहे पनि गठबन्धकै घटक काँग्रेसले मत नदिँदा पराजय भाेग्न परेकाे माओवादीकाे भनाइ छ। यसलाई माओवादीले गठबन्धनभित्रकाे धाेकाकाे संज्ञा दिएकाे छ।
हुन पनि सार्वजनिक मत परिणाम अनुसार काँग्रेस कार्यकर्ताले माओवादीलाई भाेट दिएनन भने माओवादीले काँग्रेसलाई इमान्दारिता पूर्वक भाेट दिएका छन्। गठबन्धनमा माओवादीले राम्राे साथ नपाउँदा एमालेलाई भने फाइदा पुगेका छ। जहाँ पहिला माओवादीले जितेको थियो, त्यहाँ यसपटक एमालेले जित्यो। यसको समीक्षा माअेवादी अध्यक्ष प्रचण्डले गठबन्धनका सबै दलहरुसँग गर्नुपर्छ।
माओवादीलाई चुनावमै धाेका दिएपछि भोलि गठबन्धनको सरकार बन्छ कि भन्दैन भन्ने कुरासमेत अन्याेलमा परेकाे छ।
कति धोका पाउँछन्, माओवादी अध्यक्ष प्रचण्डले ? २०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धन थियो। त्यो गठबन्धनले निकै राम्रो नतिजा ल्यायाे। त्यतिबेला नेपाली काँग्रेस प्रत्यक्षतर्फ २३ सिटमा समेटिएकाे थियाे। त्यसपछि गठबन्धन सरकारमा जाँदै गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच साढे दुई/दुई प्रधानमन्त्री बन्ने सम्झाैता भएकाे थियाे तर ओली प्रचण्डलाई प्रधानमन्त्रीकाे कुर्सी छाेड्न तयार भएनन्। अन्तत: उनीहरूबीच विद्राेह भयाे।
पहिला एमालेसँग गठबन्धन हुँदा ३६ सिट जितेकाे माओवादीको यो पटक जम्मा १७ सिटमा कसरी समेटियाे ? १७ सिट मात्र आउनुको कारण के हो ? कि माओवादी पार्टीप्रति जनतालाई वाक्क भएको हो कि गठबन्धन दलहरुले नै माओवादी सिध्याउने खेल खेलेको हो ?
अहिलेको अर्को चर्चाको विषय भनेको छ, काँग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नाे डिजाइनमा रवि लामिछानेकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेर गठबन्धनका उम्मेदवारलाई हराए भन्ने आशंका। गगनकै सर्कुरमा माओवादीका उम्मेदवार रहेकाे ठाउँमा काँग्रेस कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीकाे घण्टी चुनाव चिन्हमा मत दिएकाे आराेप छ।
तर, सार्वजनिक मत परिणाम हेर्दा माओवादीले काँग्रेसलाई राम्राे साथ दिएकाे पाइन्छ। जसअनुसार २०७४ मा प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेका काँग्रेसले यसपटक करिब ६० सिट पुर्याउने अनुमान गरिएकाे छ।
माओवादीले काँग्रेस सँगकै धाेकाका कारण ०६४ पछि पहिलाे पटक सरकार निर्माणकाे निर्णायक हैसियतबाट बाहिरिएकाे छ। जसकारण चुनावअघि प्रचण्डले गरेकाे दाबी र आंकलन अनुसार माओवादीले सरकारकाे नेतृत्वदायी भूमिका खेल्न अवसर नपाउने सम्भावना बढेकाे छ।