लुम्बिनीमा कसको बन्ला सरकार ? 

केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ। मुलुकको मध्य भागमा रहेको लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित देखिएकाे छ।

लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ। लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भए पनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो। कांग्रेस र माओवादीले एकल रुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति ठुलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन्।

प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागवण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ। नेपाली कांग्रेसले बलियो आधार मानेका र यसअघि पटक–पटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कंडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाँणले फराकिलो मतान्तरले पराजय भाेगेका छन्।

गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा (माओवादी केन्द्र)ले ३ क्षेत्र मात्रै जितेको छ। यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन। कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणि खनाल (बलदेव), बाँके १ मा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), बर्दिया २ मा सुरेश पन्त यसअघि सो पाटीले जितेका क्षेत्रमा पराजित भएका छन भने माओवादी कोटामै टिकट पाएका पूर्व (एमाले) नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित भएका छन। माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठुलो उपलब्धी बनेको छ।

नेकपा एसले भागवण्डमा पाएको ४ सीटमध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सीटमा मात्रै विजयी भएको छ। पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन्। तर, दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भएका छन्। गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक एक सिट गुमाएर रित्तै भएको छ। प्युठानमा दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागवण्डामा उम्मेदार बनाए पनि जित्न सकेनन्।

अहिलेसम्म सार्वजनिक भएकाे मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ। प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ। सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले त्यो थ्रेस होल्ड पार गरिसकेका छन।

प्रकाशित मिति: : 2022-11-27 19:14:00

प्रतिकृया दिनुहोस्