गठबन्धनको मत घण्टीले काट्दा पनि एमाले पत्तासाफ, किन हारे महासचिव पोखरेल ?

दाङमा सर्वाजनिक मत परिणामअनुसार एमालेले प्रतिनिधि र प्रदेशसभा कुनैमा पनि एक सिट जित्न सकेको छैन। यो समाचार तयार पर्दासम्म दाङमा एक प्रतिनिधि र पाँच प्रदेशसभाको मत परिणाम सार्वजनिक भइसकेको छ। यहाँ ३ प्रतिनिधि र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।

प्रभावशाली नेताका रुपमा हेरिएका एमालेका महासचिवको गृह जिल्लामा अब सार्वजनिक हुने मत परिणाम पनि एमालेले आशा मान्ने खालको छैन। दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेलले नै माओवादी केन्द्रकी केन्द्रिय सदस्य रेखा शर्मासँग नराम्रोसँग हार बेहोर्न पुगेपछि अन्य निर्वाचन क्षेत्रमा एमालेको आशा कमै मात्र छ।

निर्वाचनमा होमिने समयमा नै पाँच दलीलय गठबन्धन भएपछि निर्वाचन क्षेत्र नम्बर १ र ३ भन्दा महासचिव पोखरेलेको निर्वाचन क्षेत्र २ आफूहरुले सहजै जित्ने एमाले पंतिहरुको अनुमान थियो। उक्त अनुमान गएको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार एमालेले गरेको थियो।

तर गठबन्धनका बीचमा पोखरेल शर्मासँग १९७ मत (शर्माको २६ हजार ८७७ र पोखरेलको २६ हजार ६८० मत) ले हार बेहोर्न पुगेपछि अब जिल्लाका अन्य क्षेत्रको एमालेले कमै मात्र आशा गरेको छ। यो समाचार तयार पार्दासम्म दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा ६५ हजार ३९३ मत गणना भएको छ। जसमा गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका दिपक गिरीले २६ हजार ७७४ मत र उनकी निकटतम प्रतिस्पर्धी एमालेकी कोमल वलीले २१ हजार ३३ मत प्राप्त गरेकी छन्। यो मतान्तर ५ हजार ७४१ हो।

यहाँ ९० हजार ५३० मत खसेको थियो। अब गणना हुन बाँकी रहेको मत करिब २५ हजार मात्र रहेको छ। अहिले रहेको मतान्तरले वलीलाई जितका लागि सहज नहुने देखाउँछ। यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनबाट सहरी विकास मन्त्रीसमेत रहेका नेकपा एसका नेता मेटमणि चौधरीसँग एमालेकी नेतृ शान्ता चौधरीलाई ढुंगा चपाए सरह भइरहेको छ।

क्षेत्र नम्बर १ मा पनि मेटमणिभन्दा शान्ता करिब ३ हजार मतले पछाडि छिन्। यहाँ कुल खसकेको मत ७८ हजार ६९८ हो। ४३ हजार ५०५ मत गणना भइसकेको छ। अब करिब ३५ हजार मत गणना हुन बाँकी हुँदा शान्तालाई निरन्तर पछाडि रहेकी छन्।

मत परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा पनि एमालेका उम्मेदवार गंगाराम भट्टराई करिब १ हजार मतले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित थारुसँग पछाडि छन्। यसले दाङमा एमाले पत्तासाफ हुने देखाउँछ।

घण्टी उदाउँदा एमाले किन कमजोर ?

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो। जिल्लामा राजनीतिक वृत्तमा स्वतन्त्र पार्टीका उम्मेदवारले एमालेको मत काट्ने नभएर गठबन्धनको मत काट्ने चर्चा हुने गर्थ्याे। घण्टी चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र पार्टीका उम्मेदवारहरुले पनि सम्मानजनक मत प्राप्त गरेका छन्।

जुन मत एमालेको नभएर गठबन्धनको भएको नेताहरु बताउँछन्। एमालेले पनि आफ्नो संगठनमा कुनै तुष नरहेको र एकताबद्ध भएकाले एमालेको मत विभाजन नहुने बताउँथ्यो। के एमालेले भनेको जस्तै एमालेको मत विभाजन भएन त? यो समिक्षाको विषय होला।

तर यसअघिको चर्चामा एमालेले स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनको मत काट्ने र आफूहरुलाई जित निकाल्न सहज हुने अनुमान गरेको थियो। यो अनुमान गठबन्धनको पनि थियो। किनभने कांग्रेसको गुटबन्धी तथा माओवादीलाई भोट हाल्न नरुचाउनेले विकल्पका रुपमा कण्टीलाई भोट हाल्ने अनुमान थियो। यो अनुसमान स्वतन्त्र पार्टीले पाएको मतले पनि केही पुष्टि गर्छ।

क्षेत्र नम्बर २ मै स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर विशाल अधिकारले १५ हजार ८८५ मत प्राप्त गरेर तेस्रो भएका छन्। ई.अधिकारीले यति धेरै मत गठबन्धनबाट काट्दासमेत एमाले महासचिव पोखरेलाई पुगन। यस्तै क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले पछिल्लो मत परिणाम अनुसार १० हजार ९७२ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर १ मा पनि स्वातन्त्र पार्टीका उम्मेदवार देबराज पाठकले पछिल्लो मत परिणाम अनुसार ८ हजार मत प्राप्त गरेका छन्। जसमा उनका प्रतिष्पर्धी मेटमणि चौधरीले १४ हजार ७०५ र शान्ता चौधरीले ११ हजार २९१ मत प्राप्त गरेका छन्। स्वतन्त्र पार्टीले सम्मानजनक रुपमा मत काट्दा समेत एमालेका उम्मेदवारलाई जित निकाल्न निकै सकस भएको छ।

किन हारे महासचिव पोखरेल ?

नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग झिनो मत  अन्तरले पराजित भए। जुन दाङ एमालेका लागि मात्र होइन, एमाले पार्टीभित्रै निराशा बनाउने हार हो। पोखरेलले आफ्नो पार्टी बलियो भएको दाबी गर्दछन्। तर उनको दाबीले दाङमा खास सार्थकता पाउन सकेन।

०५१ सालमा चुनाव जितेका पोखरेल यस पटक जितेर दास्रो पटक संघीय संसदमा इनिङ गर्ने सोचमा थिए। तर उनको उक्त सोच पूरा हुन सकेन र उनी राजनीतिक जीवनको तेस्रो हार बेहोर्न बाध्य भए। उनले हार्नुको प्रारम्भिक विश्लेषणमा गठबन्धन भारी परेको देखिन्छ।

काँग्रेस र माओवादीले गएको स्थानीय तहको चुनावमा घोराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक अन्य ८ स्थानीय तहमा जित निकालेको थियो। घोराही र तुलसीपुरमा पनि गठबन्धनमा इमान्दारिता हुन नसक्दा एमालेले जितेको चुनाव पछिको विश्लेषण थियो।

वैशाख ३० को निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा सत्ता गठबन्धनका दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गरी ३६ हजार ७८० मत र नेकपा एमालेले ३३ हजार ५९३ मत ल्याएका थिए।

स्थानीय तहको मत परिणामलाई हेर्दा पहिलो एमालेलाई आफ्नो पक्षमा जित निकाल्न कांग्रेसकाे भर पर्नुपर्ने थियो। एक्लै चुनावमा जित निकाल्ने सम्भव नदेखेपछि कांग्रेसको मत तानेर जित निकाल्ने रणनीतिमा महासचिव पोखरेल थिए।

तर यसपटकको निर्वाचनमा गठबन्धन दलहरुबीच इमान्दारिता देखियो। गठबन्धनका दलहरुको दरिलो साथले रेखा शर्मा विजयी भइन्। ‘समग्रमा हेर्दा गठबन्धनभित्र इमानदारिता हुँदा नै हामीले चुनाव जिऔँ’, कांग्रेसका एक नेताले भने, ‘विगतको पराजय भोग्नु परेको अनुभवबाट पाठ सिकेर यो चुनावमा हामी एकवद्ध उभियौं।’

पोखरेलको लगातार हार

एमाले महासविपच पोखरेलेको यो तेस्रो हार हो। महासचिव भएकाले पनि पोखरेललाई यो निर्वाचन जित्नैपर्ने दबाव थियो। दबाबका बीचमा हार बेहोरेका पोखरेलले दोस्रो पटक संघीय संसाद हुने अवसर पनि गुमाएका छन्।

उनी ०५१ सालपछि उनले प्रत्यक्ष लडेर कुनै पनि निर्वाचन जितेका छैनन्। ०६४ सालमा उनी समानुपातिकबाट सांसद बनेका थिए। त्यतिबेला उनी सञ्चारमन्त्री भए। २०५१ सालमा पहिलो पटक दाङ क्षेत्र नं. २ बाट कांग्रेसका दीपक गिरीलाई हराएर उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

०५६ सालको निर्वाचनमा क्षेत्र नं. २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए त्यसपछि पोखरेल ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भए। त्यतिबेला उनी माधवकुमार नेपाल नेतृत्व सरकारको सञ्चारमन्त्रीसमेत बने।

२०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा उनको प्रतिस्पर्धा दाङ जिल्लाको क्षेत्र नम्बर ४ बाट कांग्रसका नेता बुद्धिराम भण्डारीसँग भयो। त्यतिबेला पनि उनले हारे।

अनेरास्ववियुको अध्यक्ष हुँदादेखि नै केन्द्रीय राजनीतिमा पहिचान बनाएका पोखरेलले ०७४ को निर्वाचनमा भने प्रदेशमा झरे। त्यतिबेला बाम गठबन्धनको नेकपा सरकार बनाउने भएपछि क्षेत्र नं. २ बाट कृष्णबहादुर महरलाई संघमा पठाएर उनी सोही क्षेत्र नं. २ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बने।

पोखरेलले प्रतिस्पर्धी काँग्रेसका कमल किशोर घिमिरेमाथि विजयी हात पर्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न पुगे। आफ्नो निर्वाचन क्षेत्रमा जित र हारको सरावरी अनुभव बटुलेका पोखरेल एमालेभित्रको राजनीतिमा प्रभावशाली छन्।

प्रकाशित मिति: : 2022-11-24 14:54:00

प्रतिकृया दिनुहोस्