गगन थापा : स्ववियु सभापतिदेखि प्रधानमन्त्रीको दौडसम्म

सुदिप बराल

काठमाडौं

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन्। नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो अन्तरले हराउँदै थापा विजयी भएका हुन्।

काठमाडौँ-४ मा ४५ हजार ९ सय २९ मत खसेकामा २१ हजार ३०२ मत प्राप्त गर्दै गगन विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।

२०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थापा ०७० र ०७४ सालको निर्वाचनमा पनि काठमाडौं-४ बाटै निर्वाचित भएका थिए। ती दुवै निर्वाचनमा एमालेका राजन भट्टराईलाई नै पराजित गर्दै गगन विजयी भएका थिए।

०६२/६३ को जनआन्दोलनमा राजतन्त्रका विरुद्ध आक्रमक भाषण गरेर चर्चामा आएका थापा राजनीतिक वृत्तमा प्रखर वक्ताका रुपमा चिनिन्छन्। उनले समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्।

२०४६ सालको जनआन्दोलनदेखि नै निरङ्कुसताको विरुद्ध सक्रिय भएर लागेका थापाको राजनीतिक सक्रियता भने नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। ०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य, ०५३ मा स्ववियु सचिव, ०५५ मा स्ववियु सभापति हुँदै ०५७ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष भए।

२०५९ देखि ०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएका गगन नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसैगरी १३औं महाधिवेशनमा महामन्त्रीमा हारेका गगनले चौधौं महाधिवेशनमा भने महामन्त्रीमा विजयी भए।

२०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका उनी छोटो कार्यकालमा स्वास्थ्य सुधारका क्षेत्रमा उल्लेखनीय कामहरु गरेर चर्चामा आएका थिए।

राजनीतिक जीवनमा राजकाज, राजद्रोहको मुद्दासमेत खेपेका गगन दर्जनौंपटक हिरासत बस्दै छुटदै गरेका थिए।

५५ वर्षमा सक्रिय राजनीतिबाट बाहिरिने घाेषणा गरेका गगन हाल प्रधानमन्त्रीको दौडमा छन्। निर्वाचित भएलगत्तै उनले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने समेत बताएका छन्।

उनी विगत दुई वर्षदेखि विज्ञहरुको टोली बनाएर विभिन्न क्षेत्रको अध्ययन गर्दै  ‘मिसन पीएम’ अभियानमा जुटेको चर्चा छ।

प्रकाशित मिति: : 2022-11-22 12:56:00

प्रतिकृया दिनुहोस्