कमैया मुक्तिपछि लालपुर्जाको आशमा बसेका मुक्त कमैयामा बस्तीमा तीन पुस्ता भूमिहिन छन्। नेताहरु कहिल्यै नपुग्ने यो बस्तीमा निर्वाचनमा भने लालपुर्जा दिने आश्वासन बाँडिन्छ, तर मुक्ति घोषणा भएको दुई दशक हुँदा पनि यो बस्तीका नागरिकहरूले लालपुर्जा पाएका छैनन्।
दाङको राप्ती गाउँपालिका–३ का ५० वर्षीय धनिराम चौधरीका बुवा भागीराम चौधरी ३० वर्ष साहुका घरमा कमैया बसे। धनिरामका बुवा मात्रै हैन, उनका दाइ हेलु चौधरी २५ वर्ष र भाइ मनेराम चौधरी ५ वर्ष साहुको घरमा कमैया बने। धनिराम भने ९ महिना मात्र कमैया बसे। कमैया बस्दाको दुःख सम्झेर उनी भारत हान्निए।
खेती किसानी गर्न आफ्नै जग्गा-जमिन नभएपछि धनिरामको परिवार साहुका घरमा कमैया बस्न बाध्य भयो। ‘हाम्रो खेतीपाती गर्न जमिन थिएन’, उनले भने, ‘खेतीकिसानी गरेर छाक टार्न बुवा, दाइभाइ सबै कमैया बस्याैँ। तर साह्रै दुख थियो जमिनदारी प्रथा।’
‘वर्षभरी खेतबारीमा काम पसिना बगाउँदा जम्मा ३६ मन अर्थात ५ क्विन्टनल धान पाइने। ‘साहुबाट पाएको धान पनि वर्षभरी खान नपुग्ने’, उनले भने, ‘खान नपुग्नेभएपछि फेरि साहुकै घरमा कमैया बस्नु पर्थ्याे।’
सरकारले २०५७ सालमा कमैया मुक्तिको घोषणा गरेपछि धनिरामका बुवा, दाजुभाइले कमैयाबाट मुक्ति पाए। तर मुक्ति पश्चात उनीहरुको बस्नलाई घर थिएन। खेतीबारी गर्न जमिन थिएन। जमिनदारी प्रथापछि पनि उनीहरुको दुखहरु सकिएनन्, बरु झन् थपिए।
कमैया मुक्तिपछि धनिरामको परिवार बासस्थान खोज्दै राप्ती गाउँपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ बसे। कालान्तरमा त्यहाँ उनीहरुजस्तै कमैया मुक्तिपछि भूमिहिन भएका मुक्त कमैयाहरु आएर बस्थ थाले।
आफ्ना बाबु र दाजुभाइ कमैया बस्दा पनि धनिराम भूमिहिन भए। अहिले पनि उनी आफ्ना बाबुझैँ मुक्त कमैया बस्तीमा लालपुर्जा नभएर बसेका छन्। जीवनभर कमैया बसेका उनका दाजु हेलु त्यही बस्तीमा भूमिहिन भएर बसेका छन्।
धनिरामका बाबु भागीराम केही वर्षअघि बिते। त्यसपछि उनी आमा, श्रीमती र छोरीसँग बसिरहेका छन्। सुरुमा उनले छाप्रो बनाएर बसे। अहिले उनले ब्लक, इँटाको घर बनाउनसम्म सकेका छन्। आफ्नो जीवनकालमा धनिरामले सुनाउन लायक गरेको प्रगति सायद यही हो।
उनको कमाइबाट घरखर्चदेखि सबै चलाउनुपर्छ। दुई कठ्ठा नपुगेको जमिनमा बसेका उनको आयआर्जन गर्ने अर्को कुनै श्रोत छैन। उनले भने, ‘त्यो थोरै जमिनमा केही हुँदैन, मजदुरी गरेमात्र खान पाइन्छ।’ उनी जे काम पाउँछन्, त्यही गर्छन्। कहिले गाउँमै लेबरी गर्छन् त कहिले भारतमा रोजगार खोज्दै पुग्छन्। चुनाव नजिकै आउँदासमेत अब भारत जाने तयारीमा छन् धनिराम। उनलाई यहाँ मतदान गर्नुभन्दा भारत जान हतार छ। ‘यहाँ भोट हालेर के हुने हो र?’ प्रश्न गर्दै उनले भने, ‘बरु काम गर्न पाए हुन्थ्यो।’
नेताहरुलाई भोट दिएर आफ्नो अवस्था फेरिनेमा उनी विश्वस्त छैनन्। ‘के हुन्छ र भोट गरेर? पहिले पनि गरेकै हो,’ उनले भने, ‘आजसम्म लालपुर्जा पाइएन। रोजगार छैन। बरु काम गर्न भारत जानपाए हुन्थ्यो।’ मौसमी रोजगारले घरमा खान मात्र पुग्ने उनले बताए। घरको अवस्था कहिले फेरिने हो, उनी चिन्तामा छन्। ‘हिजो बुवाहरु कमैया बसे। म पनि बस्नुपर्यो र आज सुकुम्बासी हुनु परेको छ,’ उनले भने, ‘हाम्रो अवस्था फेरिएन, हाम्रो सन्तानको के होला? चिन्ता लाग्छ।’
०००
मुक्त कमैया बस्तीमै बस्छिन्, ४१ वर्षीया सावित्रा चौधरी। उनका बुवा कमैया बसे। दिदीको कमलरी बसकै समयमा सडक दुर्घटनामा मृत्यु भयो। त्यसपछि ७ वर्षको हुँदा सावित्रा दिदी कमैया बसेकै साहुको घरमा कमैया बस्न गइन्। त्यसपछि उनका दुःखका दिन सुरु भए। जहाँ उनले पढ्न पाइनन्। कलिलो खेल्ने उमेरमा बिहानदेखि साँझसम्म कामको बोझमा परिन्। स्कुलको जीवन कस्तो हुन्छ। साथीभाइसँगको रमाइलो कस्तो हुन्छ, उनले भोग्न पाइनन्। ठुली भएपछि प्रोढ शिक्षा लिने आँट गरिन् तर साहुले पढ्न दिइनन्।
०६० सालमा साहुको घरबाट मुक्त भएपछि सावित्राको विवाह भयो। उनका ससुरा बुवा पनि कमैया बसेका हुन्। उनीहरुको घरबास थिएन। पछि कमैया बस्तीमा उनीहरु पनि बस्न पुगे। यस बस्तीमा बस्न थालेको एक दशक बढी भइसकेको छ। तर आशातित परिवर्तन हुन सकेको छैन। ‘साहुको घरबाट त बाहिर आउन पाइयो तर यहाँ सरकारले हामीलाई सही रुपमा व्यवस्थापन गर्न सकेको छैन,’ उनले भनिन्, ‘हामी अहिले पनि पीडामा छौँ।’
एक दशकसम्म पनि राज्यले लालपुर्जा दिन नसकेको प्रति उनको गुनासो छ। अझ बस्तीबाट उठाउने कुराले उनलाई यो देशका नागरिक नभएको आभाष हुन थालेको छ। ‘यहाँ बसेको वर्षौँ भइसक्यो। लालपुर्जा पाउने बेलामा बस्तीबाट उठाउने कुराले चिन्ता हुन्छ,’ उनले भनिन्, ‘के हामी यो देशको नागरिक होइन र?’
साहुबाट भोगेको दुःख अहिले पनि सावित्रालाई ताजै लाग्छ। विगतका कुरा सम्झँदा उनका आँखा रसाइहाल्छन्। ‘हिजो साहुबाट पाएको पीडा सम्झन्न भन्दा पनि सम्झना आउँछन्,’ यति भन्दा उनका आँखा रसाएका थिए। हिजोको त्यो पीडा र मुक्त भइसकेपछि राज्यले दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा उनी थप पीडामा छिन्।
यस्तै सावित्राकी छिमेकी ४१ वर्षीया सुमित्रा चौधरीलाई पनि लालपुर्जा पाउन नसकेको र राज्यले व्यवस्थापन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्छिन्। उनले चुनावमा नेताहरु भोट माग्न मात्र आउने गरेको बताइन्। उनले भनिन्, ‘यहाँ भोट माग्न आउने मात्र हो। जितेर गएपछि त यो बस्ती उठाउने कुरा आउँछ।’
सुनसान बस्ती
मुक्त कमैया बस्ती, पूर्व–पश्चिम राजमार्गको करिब २०० मटिरभित्र उत्तरतर्फ पर्छ। यस बस्तीको पश्चिमतर्फ लुम्बिनी प्रदेश सरकारको निर्माणाधीन संसद भवन छ। छेवमै अन्य बस्तीहरु पनि छन्। अन्य बस्तीमा जतिबेला पनि चहलपहल देखिन्छ, मान्छेहरु घरमा भेटिन्छन्। तर मुक्त कमैया बस्तीमा दिउँसोको समयमा पुग्ने हो भने घरमा मान्छे भेटाउन मुस्किल पर्छ। बस्तीसँग जोडिएको सामुदायिक वनमा चराहरुको चिरविर सुनिएला तर मान्छेको चहलपहल भेटिँदैन।
दुई दिनसम्म बिएल नेपाली सेवाको टिम पुग्दा यो बस्तीको चहलपहल दिउँसोमा देखिएन। गएको बिहीबार (२४ गते) सवा ३ बजे बस्तीमा पुग्दा प्रायः घरमा ताला लगाइएको भेटियो। घरमा काम गर्दै गरेका धनिराम मात्र भेटिए। साँझ ५ बजेपछि सावित्रा, सुमित्रा भेटिएकी थिइन्। तर मुक्त कमैया बस्तीसँगै रहेको गाउँ नयाँ बस्ती, उत्तर मसुरिया गाउँमा मान्छेको चहलपहल थियो। साँझ पर्दै जाँदा स्कुलबाट बालबालिका आएपछि मुक्त कमैया बस्तीमा पनि चहलपहल बढ्दै गयो।
कामबाट फर्किँदै गरेका जगन चौधरी बाटोमै भेटिए। उनलाई किन गाउँ सुनसान छ भन्दा सबै काम गर्न गएको हुँदा दिउँसोमा गाउँ सुनसान हुने गरेको प्रतिक्रिया दिए। ‘घरमा काम केही छैन। बाहिर नगरे के खाने?’, जगनले भने, ‘म पनि अहिले काम गरेर आउँदै छु।’
उनका अनुसार यहाँका प्रायः सबै रोजगार गर्न बाहिर जाँदा दिउँसोको समयमा घरमा कोही भेटिँदैनन्। यस बस्तीका नागरिक केही गाउँमै काम गर्छन्, कोही बाहिरी जिल्लासँगै भारतसम्म पुग्छन्। भेटिने प्रायः सबैलाई किन गाउँ सुनसान छ भन्ने हाम्रो जिज्ञासामा दिउँसोमा काम गर्न जाने हुँदा घरमा कोही नभेटिने प्रतिक्रिया दिए।
‘चुनाव लागेको छैन?’ जगनलाई हामीले प्रश्न गर्यौँ। उनले भने, ‘चुनाव त नेताहरुलाई लागेको होला। हामीलाई के लाग्नु र। देख्नुभयो, अहिलेसम्म कामबाट फर्कँदै छौँ।’ उनले गाउँमा रोजगार नहुँदा धेरै जना बाहिर गएको बताए। ‘यहाँबाट बुटवल, पोखरा, स्याङ्जामा पनि काम गर्न गएका छन्,’ उनले भने, ‘कोही भारतमा छन्।’ हामीसँग कुरा गर्दै जगनले आफूहरुलाई रोजगारको ग्यारेन्टी हुनुपर्ने बताए।
यस्तै शुक्रबार दिउँसो १२ बजे पुग्दासमेत यस गाउँ सुनसान नै थियो। घरमा भेटिएका पनि काममा जान हतारमा देखिन्थे। १२ बजे पुग्दा खेतबाट काम गरेर फर्किएकी जानकी चौधरी भेटिइन्। तर उनलाई हामीसँग कुरा गर्ने फुर्सद थिएन।
किनकी, उनले खाना बनाएकी थिइनन्। खाना बनाएर खाएपछि फेरि उनी बाख्रा चराउन जानुपर्ने थियो। ५ मिनेट जति कुरा गर्दै उनले श्रीमान बिहानै काममा गएको बताइन्। आफू फेरि बाख्रा चराउन जानुपर्ने र घरमा अरु काम गर्ने कोही नभएको जानकारी दिइन्।
उनले निर्वाचनमा भोट दिने बताइन्। तर नेताहरुले आफूहरुलाई लालपुर्जा दिन नसकेको प्रति गुनासो गरिन्। उनले आफूहरुलाई बस्तीबाट उठाउने कुरा सुन्ने गरेको भन्दै यहाँबाट नउठाउन आग्रह गरिन्। ‘हाम्रो न घर छ, न जमिन छ, यहाँबाट उठाएपछि कहाँ गएर बस्ने’, उनले दुख सुनाइन्।