नेपाली कांग्रेसको पार्टीको निर्णय विपरित उम्मेदवार दिने मोरङका ५ नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
कांग्रेसले पार्टीको निर्णय विपरित बागी उम्मेदवार दिने मोरङका पाँचसहित देशभरका ७४ जनालाई पार्टीबाट निकालेको हो।
मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभामा आफ्नै पार्टीका उम्मेदवार डा. सुनिल शर्माविरुद्ध उम्मेदवार बनेका जय राज संयोग लिम्बूलाई कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। उनी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन्।
मोरङ क्षेत्र नम्बर-२ को प्रदेश ‘क’ मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका क्षेत्रीय प्रतिनिधि फणिन्द्र थापालाई कारबाही गरेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गणेश उप्रेती उम्मेदवार छन्।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जनार्दन निरौला र क्रियाशिल सदस्य गोपाल रेग्मी पनि कारबाहीमा परेका छन्। उनीहरु दुवै मोरङ-६ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार छन्। केदार कार्की यो क्षेत्रका आधिकारिक उम्मेदवार हुन्।
यस्तै पार्टीको निर्णय विपरित उम्मेदवार दिने नन्दु सरदारलाई पनि कांग्रेसले कारबाही गरेको छ। गुरुराज घिमिरे आधिकारिक उम्मेदवार रहेको मोरङ-४ ‘क’ मा उनी उम्मेदवार छन्।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ती पार्टीको विधान बमोजिम बागी उम्मेदवारहरुलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ।