...त्यसपछि उनीसँग सम्बन्ध तोडेँ

BreaknLinks
BreaknLinks

गत शनिबार बिहान। आरुबारी चोकमा मेरो भेट ‘प्रिती’ (नाम परिवर्तित) सँग भयो। प्रिती अर्थात् मेरो बच्चा बेलाको साथी। 

मैले उनलाई झण्डै एक दशकपछि भेटेकी थिएँ। त्यसैले पनि होला मैले उसलाई चिन्नै सकिनँ। चिनौँ पनि कसरी, लामो कालो उसको कपाल छोटो र खैरो भएको थियो।

मैले प्रितीलाई नचिने पनि उसले मलाई चिनिसकेकी रहिछ, उसले नै मलाई मेरो नामबाट बोलाएकी थिइन्।

मेरो नजिक आउने बित्तिकै उनले भन्न थालिन्, ‘ओई, तिमी त अझै उस्तै रहिछौँ त, बदलिएकी छैनौँ है।’

मैले हाँस्दै प्रितीलाई जवाफ दिएँ, ‘अँ, मेरो सट्टा पनि तिमी बदलिएकी रहेछौँ नि त, चिन्नै गाह्रो भयो।’

मेरो कुरालाई काट्दै उनले भनिहालिन्, ‘सधैँ स्कुल पढ्ने विद्याथी जस्तो हुनु भएन नि, जेनेरेशन अनुसार त बदलिनु परिहाल्छ नि यार।’ बल्लतल्ल भेटिएको पुरानो साथीसँग ‘डिबेट’ गर्ने मेरो मन थिएन, त्यसैले उनको कुरामा सहमति जनाइदिएँ।

उसले मलाई भनिरहेकी थिइन्–‘स्कुल छाडेपछि तिमी कता गायब भयाैँ? मैले तिमीसँग सम्पर्क गर्ने काेसिस गरेँ तर कहीँ फेला पार्ने सकिनँ।’

उनले मलाई चिया पिउँदै गफ गर्न आग्रह गरिरहेकी थिइन् तर मैले चिया पिउने मेराे आदत छैन भन्दै उनीसँग बिदा भएँ। उनले पनि मलाई हात हल्लाउँदै बिदा गरिरहेकी थिइन्।

उनी स्कुल पढ्दाखेरिकाे साथी भएकाेले मैले डेढ वर्ष अघिको मेराे स्कुललाई सम्झन थालेँ।

जङगलको बिचमा छ, नेवार बस्तीकाे देशे गाउँ। त्यहीँ गाउँमा पर्छ, काठ र ढुङगाले बनेको मेराे सानो स्कुल। कक्षा पाँचसम्म मात्र भएपनि शान्त र स्वच्छ वातावरणले भरिपूर्ण थियो, स्कुल।

६ वर्षको उमेरमा म तलेजु भवानी स्कुलमा भर्ना भएँ। घरबाट स्कुल पुग्न करिब एक घण्टा नै लाग्थ्यो। एक त सानो उमेर त्यसैमाथि टाढा स्कुल। त्यसैकारण मलाई स्कुल जानै मन पर्दैन थियाे।

अल्छी मानेरै भएपनि पहिलाे दिन स्कुल गएकी थिएँ। स्कुलकाे कक्षा काेठा मेराे लागि नाैलाे थियाे, त्यसैले चुपचाप बेन्चमा बसिरहेकी थिएँ। त्यहीँबेला मेरै उमेरकी केटी मेरो साथी बनिन्। जो थिइन्, प्रिती तामाङ।

मिजासिली स्वभावकी उनीसँग म एकैदिनमा नजिक भएकी थिएँ। उनकै कारण नै मलाई स्कुल जान राम्रो लाग्थ्याे। स्कुलमा उनी मेरो पहिलो साथी बनेकी थिइन्।

कक्षा कोठाको बेन्चमा बस्दा होस् या ‘टिफिन टाइम’ मा नै किन नहोस्, हामी सधैँ सँगै नै हुन्थ्यौँ। उनीसँग मेरो घनिष्टता यता बढेको थियो कि, शनिबारको दिन पनि मलाई स्कुल जाऊ झैँ लाग्थ्यो।

कक्षा एकबाट हामी पाँच कक्षामा पुगिसकेका थियाैँ। त्यहीँ कक्षामा हुँदा पढाउने तयारी गर्नका लागि भनेर हाम्राे स्कुलमा पशुपति कलेजमा कक्षा १२ मा पढदै गरेका विद्यार्थीहरु आउनु भएकाे थियाे। जसलाई हामीहरूले ‘टिचिङ प्राक्टिस’ का सर मिसहरु भनेर सम्बोधन गर्थ्यौँ।

सायद पढाईमा राम्रै भएकाेले हाेला थाेरै समयमा म उहाँहरूसँग नजिक भइसकेकी थिएँ। उहाँहरुका लागि म प्रिय विद्यार्थी थिएँ।

कक्षा अगाडि आएर किताब पढ्नका लागि होस् या विषयगतका कुराहरु सोध्नका लागि नै किन नहोस् उहाँकाे पहिलाे रोजाईँ म नै हुन्थेँ।

अक्सर उहाँहरुले हामीलाई कक्षा काेठाभित्र हाजिरी जवाफ प्रतियोगिता खेलाउनु हुन्थ्याे। जुन खेलमा सधैँ विजेता म हुन्थेँ। पुरस्कार स्वरुप मैलै ‘एफो साइज’ को कापी र कलम पाउँथेँ।

पढाईसँगै प्रतियोगितामा पनि अब्बल भएकाेले हाेला मेरा साथीहरुले मलाई भन्ने गथे, ‘सधैँ तिमीले नै जित्छाैँ, कारण के हो?’ उनीहरुको कुरा सुनेर म हाँस्दै भनिदिन्थे, ‘जादुले जितेको!’

‘टिचिङ प्राक्टिस’ का लागि आउनुभएका सर मिसहरुको स्कुल छाड्ने बेला भइसकेको थियो। महिना दिनसम्म बिताएको स्कुल छाड्नअघि उहाँहरु हामीलाई हाजिरी जवाफ प्रतियोगिता खेलाउन चाहनुहुन्थ्यो। जसका लागि स्कुलका सर म्यामहरुले समेत सहमति जनाउनु भएको थियो।

हाजिरी जवाफ प्रतियोगिता मेरो रुचीको खेल भएकाले होला म धेरै उत्साहित थिएँ। प्रितीलगायत मेरा साथीहरुले मलाई भनिरहेका थिए, ‘हामी त के खेल्नु यार, तिमीले जितिहाल्छौँ।’

उनीहरुकाे कुरा सुनेपछि घर आएर म सामान्य ज्ञान पढ्न थालेँ। मैले एकैदिनमा सामान्य ज्ञानको किताब पढेर भ्याइसकेको थिएँ। मलाई भाेलि हुने खेलकाे तयारी जाे गर्नु थियाे।

भोलिपल्ट स्कुल पुग्दा सर म्यामहरुले कक्षा कोठाको बेन्च सारेर प्राङ्गणमा राखिसक्नु भएछ।

प्रतियोगिता सुरु हुनै लाग्दा म आँगनतर्फ जाँदै थिएँ। त्यतिकैमा मेरो आँखा भुईँमा गयो। मेराे खुट्टाले त पाँच सय रुपैयाँ कुल्चीरहेकाे रहेछ। पाँच रुपैयाँ खाजा ल्याउने मेराे लागि पाँच सय रुपैयाँ त धेरै थियाे।

भुईँमा पैसा देखेर म एक्कासी आत्तिन थालेँ। मनमा कौतुहल्ता बढ्यो, भुईँको पैसा टिप्यौँ कि छाड्यौँ। त्यतिकैमा मनु मिसले भन्न थाल्नुभयो, ‘नानी खेल सुरु भयो, छिटो आऊ!’ 

गुरुबाट मैले पाए त्याे आशीर्वाद...

मिसको कुरा सुनेपछि भुईँबाट टिपेकाे पैसा पाइन्टको गोजीमा राखेँ अनि प्रतियाेगिता हुने ठाउँतिर गएँ। खेल खेल्नका लागि आँगनमा राखिएकाे बेन्चमा बसेपछि सुरु भयो, प्रतियोगिता।

प्रतियोगितामा सुरु भएपनि मेरो ध्यान भने त्यहीँ पैसामा नै थियाे, अचानक मनमा डर पैदा हुन थाल्याे। थाह छैन किन र कहाँबाट आयो मेरो मनमा एक्कासी डर?

डरले मेराे मनमा यसरी डेरा जमाएर बसेकाे थियाे कि मलाई आउने प्रश्नकाे समेत मैले उत्तर दिनु सकिनँ। कहिल्यै नदेखेकाे मेराे हरकत देखेर सर म्यामहरुले समेत भनिरहनुभएकाे थियाे, ‘आज ईश्वरीलाई के भो?’

एक घण्टासम्म चलेकाे खेलमा सर म्यामहरुले के–के प्रश्न सोध्नुभयो त्यो त  मलाई थाहा छैन तर म सबैभन्दा अन्तिम अर्थात पाचौँ भएकी रहिछु।

सरले जब प्रतियोगितामा विजेताको नाम घोषणा गर्नुभयो, तब मात्र मैले चाल पाएँ, म त खेलमा हारेँछु।

म हारेपछि प्रितीसँगै अरु साथीहरुले मलाई गिज्याउँदै भने, ‘तिम्रो जादुले आज काम गरेन हो?’ मलाई प्रतियोगिता हार्दा त्यति मन दुखेको थिएन, जति प्रितीको कुराले दुखेको थियो।

मैले उसलाई एक असल साथी सम्झेको थिएँ, तर उसले नै मेरो मजाक बनाइरहेकी थिइन्। मेराे मनपर्ने खेल नै थियाे, हाजिरी जवाफ। तर त्यहीँ खेलमा हारेपछि मैले त्यो खेललाई नै छाडिदिएँ। अनि मनपर्ने मेरी साथी प्रितीसँग पनि सबै सम्बन्ध तोडिदिएँ।

प्रकाशित मिति: : 2022-11-05 21:50:00

प्रतिकृया दिनुहोस्