हुन त म बितेका कुरा सम्झिरहने व्यक्ति होइन तर बाल्यकालको घटना भने मलाई अझै याद छ।
भनिन्छ, ‘बच्चा बेला बोलेको र सुनेको कुरा कहिल्यै बिर्सिंदैन रे! त्यसैले पनि होला सानाे छँदाको सबै कुरा मलाई हिजो झैँ लाग्छ।
कुरा आजभन्दा सोह्र वर्षअघिको हो, जब म कक्षा एकमा अध्यनरत थिएँ। ६ वर्षको उमेरमा भर्खरै तलेजु भवानी माध्यमिक विद्यालयमा भर्ना भएकी थिएँ।
मेरा लागि स्कुल र कक्षा कोठा नै नौलो थियो। कक्षामा बसेर यताउति हेर्दै थिएँ। त्यत्तिकैमा एकजना ‘म्याम’ आउनुभयो। अनि ‘हाजिर कापी’ पल्टाउँदै नाम बोलाउन थाल्नुभयो।
थोरै समयको लागि भएपनि पहिलो पटक बाआमाको साथबाट टाढा रहेर कक्षा कोठाभित्र टोलाइरहेकी थिएँ। त्यत्तिकैमा उताबाट म्यामले भन्नुभयो, ‘रोल नम्बर–४९, ईश्वरी राई।’
उहाँको कुरा सुनेर बेच्नमा बसिरहेकी म जुरुक्कै उठेँ। म उठेको देखेर म्याम छेउमा आएर भन्न थाल्नुभयो, ‘मैले तिम्रो नाम बोलाउँदा एस मिस भन्नु ल बाबा!’
उहाँको कुरा सुनेर मात्र मेरो टाउको हल्लिन्थ्यो। भर्खर-भर्खर स्कुल जान थालेकी मलाई पढ्न-लेख्न नै आउँदैन थियो। हुन त सुरुवाती दिनहरुमा कसले पो जानेको हुन्छ र!
कक्षा एकमा पढाउने अन्य सरलगायत मिसहरू पनि हुनुन्थ्यो तर मलाई पहिलो पटक देखेको मिस नै राम्रो लाग्थ्यो। थाहा छैन किन?
मलाई अझै याद छ, उहाँ मसँग कुरा गर्न रुचाउनुहुन्थ्यो। सायद म अरुभन्दा भिन्ने देखिन्थेँ होला!
७० जना विद्यार्थीहरुको भीडमा म एक्ली त्यति फुच्ची थिएँ, मेराे कपाल झन्डै मान्छे जत्तिको लामो थियो।
उहाँ मिसले मेरो कपाल बेलामौकामा सुम्सुमाइ रहनुहुन्थ्यो, अनि भन्नुहुन्थ्याे, ‘तिम्रो कपाल कत्ति लामो र राम्रो छ है!’ उहाँले त्यसो भन्नु हुँदा म मख्ख परेर हाँसिदिन्थेँ।
लेख्न केही नजान्ने मलाई उही मिसले पहिलो पटक हात समातेर लेख्न सिकाउनुभयो। उहाँले मलाई हातमा ‘कलम’ अठ्याउन सिकाउँदै भन्नुहुन्थ्यो, ‘यो ‘क’ हो ल बाबा!’ उहाँको कुरा सुनिरहँदा सोच्ने गर्थेँ, ‘मिस त कत्ति राम्रो, कहिल्यै रिसाउनु हुँदैन रहिछ।’
कक्षा एकबाट दुईमा पुगेकी थिएँ। मेरो लागि मनपर्ने मिस भनेकै उहाँ नै हुन्नुथ्यो, जसको मलाई वर्षदिन बितिसक्दा पनि नाम नै थाहा थिएन।
एकदिन स्कुल पुग्दा साथीभाइहरु कुरा गर्दै भन्दै थिए, ’त्यो मनु मिस त छुच्ची हुनुहुन्छ। मलाई त डर लाग्छ, त्यो मिस देखेर।’
भलै सानी थिएँ म, तर मनमा कौतुहल्ता चाहिँ लागिहाल्यो। अनि सोधेँ, ’कुन मिस छुच्ची हुनुहुन्छ र?’ मेरो कुरा सुनेका साथीहरुले मलाई मनपर्ने मिसलाई देखाउँदै भन्न थाले, ‘यो मनु मिस छुच्ची हुनुहुन्छ।’
’मसँग कहिल्यै नरिसाउनु भएकी मिस छुच्ची हुनुहुन्छ र’ भन्दै मनमनै सोच्न थालेँ। अनि साथीहरुसँग रिसाएँ, मलाई मनपर्ने मिसलाई छुच्ची भनेको सुनेर। तर खुसी पनि थिएँ, उहाँको नाम ‘मनु’ मिस रहिछ।
हामीलाई दुई कक्षामा मनु मिसले ‘ओपिटी अङ्ग्रेजी’ पढाउनुहुन्थ्यो। त्यसैले एकदिन मिसले पढाउनुभएको कुरा सोध्न थाल्नुभयो। लगभग २५ जना विद्यार्थीहरुले भरिएको कक्षा कोठाबाट मिसले सोध्नुभएको प्रश्नको उत्तर २० जनालाई सोध्दा पनि पाउनुभएकै थिएन। त्यसैले हाेला मिसको सुमधुर बोली चर्किँदै जान थाल्याे।
त्यो देखेर मलाई डर लाग्न थाल्यो। मभन्दा दुई बेन्च अगाडि बसेकी मेरी साथीले पनि प्रश्नको उत्तर जानिनन्।
मनु मिसले हपार्दै भन्नुभयो, ‘हिजो पढाएको कुरा पनि याद हुँदैन।’ त्यति मात्र होइन मिसले साथीको फिँजिएको कपालसमेत तानिदिनुभयो। त्यो देखेपछि झनै मन डराउन थाल्यो। अनि भगवानसँग प्रार्थना गर्दै भन्न थालेँ, ‘मेरो पालो नआओस्, घण्टी बजोस्।’
नभन्दै कक्षा कोठाकाे बाहिरबाट घण्टी बजेकाे आवाज आयो–टिङटिङ...! आफू बचेको देखेर खुसी हुँदै कल्पिन थालेँ, ‘पढेर आउनुपर्ने रहिछ!’
मैले सोझी सम्झिएकी मिसको छुट्टै रुप देखेर म निकै त्रसित थिएँ। अरुबेला मिस भनेपछि हुरुक्कै हुने म त्यो दिनदेखि मिसबाट टाढै बस्न थालेँ।
मनु मिस छुच्ची हुनुहुन्छ भनेर मनमा कोरिसकेकी थिएँ। तर मेरो मन त्योबेला बदलियो, जब घरबाट स्कुल जाँदै गर्दा मनु मिसलाई बाटैमा भेटेँ। मिसलाई देखेर पनि बेवास्ता गरेकी मलाई पछाडिबाट बोलाइहाल्नुभयो–‘ईश्वरी!’
उहाँको आवाज सुनेर झस्किएकी म ‘फ्रिज’ भएर बसेँ। मेरो नजिक आउनुभएकी मिसले कुममा हात राख्दै भन्न थाल्नुभयो, ‘तिमी अहिले बच्चा छौ, त्यसैले फुर्तिली छौ। उफ्रिँदै हिँड्छौ तर म बूढी भइसकेँ, हिँड्नै गाह्रो हुन्छ उफ!’
मिसको कुरा सुनेर किन हो मलाई हाँसाे लाग्याे, खित्का छाडेरै हाँसेँ। म हाँसेको देखेर होला मनु मिस पनि हाँस्नुभयो।
अनि सोध्नुभयो, ‘तिम्रो घरमा को–को हुनुहुन्छ?’ उहाँलाई उत्तर दिँदै भनेँ, ‘मम्मी, ड्याडी, दुई जना दादा, बहिनी अनि म।’
मेरो कुरा सुन्दै गर्दा मिसले भनिहाल्नुभयो, ‘दादाले कुट्नु हुन्छ कि नाइँ?’ मैले पनि भनिहालेँ- कहिलेकाहीँ कुट्नुहुन्छ।
मेरो कुरा सुनेर हाँस्दै मिसले निधारलाई छाेपेर राखिएको कपाल उचाल्दै देखाउनुभयो, ‘मलाई पनि मेरो दादाले सानाेमा हिर्काउनु भएर टुटिल्का नै उठाइदिनुभएको छ।’
जहिले कपालले ढाकिएको निधारमा त मिसको दाइले कुटेर ‘फोका’ पो बनाइदिनुभएको रहिछ! अनि मैले भनेँ, ‘तपाईंको दाइले दिनुभएको चिनो पो रहिछ है मिस!’
मेरो कुरा सुनेर हाँस्दै उहाँले भन्नुभयो–हो नी! छुच्ची मिस भनेर सोच्न थालेको मेरो मन परिवर्तन भयो। अनि फेरि मेरो मनपर्ने मिस नै मनु मिस हुनुभयो।
‘धेरै पढेर ठुलो मान्छे बन्नु ल’
कक्षा ५ मा पुगेकी म एघार वर्षकाे थिएँ। जम्मा १० जना मात्र विद्यार्थी रहेको कक्षामा म दोस्रो नम्बरमा थिएँ। एक त सानैदेखि एउटै स्कुल, त्यसैमाथि पढ्ने विद्यार्थी। त्यसैले पनि होला सबै सर मिसको पहिलो रोजाइँ म नै थिएँ।
मनु मिस छोडी मेरो लागि पनि सबै शिक्षक उत्तिकै हुनुहुन्थ्यो। मलाई अझै याद छ। २०६८ असार २७ गतेका त्यो दिन।
जुनबेला हामी पाँच कक्षाका विद्यार्थीहरु सल्लाह गर्दै थियौँ, ‘यो स्कुलमा हाम्रो अन्तिम गुरु पूर्णिमा हो। त्यसैले भव्यसँग मनाउनुपर्छ है!’ याे कुरा सुनेर मेराे मन धमिलिन थाल्यो। सोच्न थालेँ, ‘अब त बाल्यकाल बितेको स्कुल छोड्ने बेला भएछ।’
गोकर्णेश्वरको भित्री देशे गाउँमा थियो, मेरो स्कुल। कक्षा ५ सम्मका लागि मात्र बनेको थियो। त्यसैले पाँच कक्षासम्म पढेपछि स्कुल बदल्नुपर्ने सबैको बाध्यता थियो।
त्याे स्कुलमा हाम्राे अन्तिम गुरु पूर्णिमा भएकाले धुमधामसँग मनाउने सोच बनायौँ। नभन्दै गुरु पूर्णिमाको दिन हामी सबै विद्यार्थीहरुले आ-आफ्नो घरबाट फूलहरु ल्याएर स्कुल पुरै रङ्गाएका थियौँ।
बिहानको ७ बजेदेखि नै हामी स्कुल सजाउनमा लागेका थियौँ। १० बजिसक्दा सबै गुरुहरुलाई कक्षा कोठामा बोलाएर हामीले सम्मान गरेका थियौँ।
त्योबेला हाम्रा गुरुहरुले हामीलाई टाउकोमा हात राख्दै आशीर्वाद दिँदै भन्नुभएको थियो, ‘पढेर ठुलो मान्छे बन्नु है!’ उहाँहरुले त्यसो भनिरहनु हुँदा मेरो मनले सोच्दै थियो, ‘पढेन भने चाहिँ ठुलो मान्छे हुँदैन रहिछ।’
उहाँहरुकै आशीर्वादले होला सधैँ कक्षामा दोस्रो र तेस्रो स्थानमा हुने म पहिलो भएकी थिएँ। पहिलो पटक कक्षा ‘टप’ गर्दा खुसी थिएँ। तर दुखी पनि उत्तिकै थिएँ।
हात समातेर लेख्न र औँलाले देखाएर पढ्न सिकाएका गुरुहरुलाई छाड्ने समय आएको थियो। मलाई स्कुल छोड्ने मनै थिएन तर मैले उहाँहरुले दिनुभएको आशीर्वादकाे पनि त कदर गर्नै पर्थ्यो।
मैले स्कुल छोड्दै गर्दा मलाई सानैदेखि पढाउने बाआमा समानका मेरा गुरुहरु पनि भावुक हुनुहुन्थ्यो, जति म थिएँ। भलै, मैले त्यो स्कुलमा ५ वर्ष बिताएकी थिएँ तर त्यो क्षण मसँग जिन्दगीभर रहनेछ।
आज गुरु पूर्णिमाको दिनमा मैले मेरा गुरुहरुसँग भेट्न नपाएतापनि सबै जना गुरुहरुलाई टाढैबाट ‘ह्यापी टिचर्स डे।’