विश्वकप फुटबल—२०२२ आयोजनाको सँघारमा छ।
‘कतार’ अर्थात् खाडीको एउटा सानो देश अनेकौँ विवाद र आलोचनाका बीच तीव्र तयारीमा जुटेको छ। रंगशालादेखि विमानस्थलसम्म। सडकदेखि गगनचुम्बी भवनसम्म स्टार फुटबल खेलाडीहरू सजिएका छन्।
दुई सातापछि मरुभूमि प्रायद्वीपमा लाखौं अन्तर्राष्ट्रिय दर्शकहरू भित्रिने छन्। टूर्नामेन्टका लागि दिनरात नभनी दौडिरहेको छ— कतार।
विश्वकप आयोजना गर्ने सबैभन्दा सानो देश कतारले आयोजनाको तयारीका लागि २ सय २९ बिलियन अमेरिकी डलर खर्च गरेको छ।
माइलको राजमार्ग। नयाँ मेट्रो प्रणाली। नयाँ विमानस्थल। आठवटा रंगशाला। कैयौँ अग्ला—अग्ला भवन। खाडी—जगतका खेलप्रेमी तथा आर्थिक विकासका जननेता शेख तमिम बिन हमाद अल—थानीको एउटा ‘सग्लो सपना’ पूरा गर्ने प्रयासमा छन्, कतार।
एकातिर विश्वकप फुटबलका लागि ‘दोहा’मा भव्य तामझाम। अर्कातिर मानवअधिकार उल्लघंनका थुप्रै प्रसंग, व्यापक भ्रष्टाचार र कामदारको मृत्युजस्ता विषयले विवाद र आलोचनाको वर्षा छ।
कतारमा आप्रवासी कामदारहरूको मन भाँचिएको छ। विश्वकपको पूर्वतयारीले मृत्युदेखि गम्भीर बिरामीसम्मको डरलाग्दो अवस्था सिर्जना गरेको छ। कैयाैँ कामदारकाे मृत्युले ठूलाे 'चिहानघारी' बनेकाे दाेहामा नाम चलेका खेलाडीहरू उफ्रिने छन्।
कतारले मानवअधिकारको कानूनलाई खुम्च्याएको छ। ‘समलैंगिकतालाई अपराधीकरण गर्ने कतारी कानून’ले विश्वकप आयोजक कतारमाथि चर्को दबाब थपेको छ।
‘अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउने कानून’को चारैतिर विरोध भइरहेको छ। आयोजना नजिकिँदै गर्दा कतारी अधिकारीहरूले कैयौँ अभियोगहरूको रक्षात्मक जवाफ दिइरहेका छन्। तर कतारी कुर्कमकाे खुलेरै विराेध भइरहेकाे छ।