एउटा सानो ग्रामीण भेगमा जन्मिएकी १९ वर्षीया युवती हुन्, पार्क गा–यङ। हजारौँ सपना बोकेर दक्षिण कोरियाको ठूलो सहरमा भित्रिएकी थिइन्, उनी।
कोरियाली मनको लहड उचाल्दै उनले क्यानडामा फेसन डिजाइन अध्ययन गर्ने ‘सपना’ देखेकी थिइन्। उनी पश्चिमी दक्षिण कोरियाको होङ्सेओङमा हुर्किएकी हुन्।
गा–यङ डेजियोन महानगरको मोकवोन विश्वविद्यालयकी लगनशील विद्यार्थी थिइन्। सपना ठूलो छ। महानगर टाढा छ। फेसन डिजाइनको अध्ययन गर्ने सपना लिएर सहर पसेकी गा–यङ बेला–मौकामा काम पनि गर्थिन्।
०००
शनिबार सियोलको हलोइन उत्सव हेर्नका लागि भीडतिर जाँदै थिइन्, गा–यङ। त्यहाँको भीड एकाएक रणभूमि बन्यो। कैयौं मानिसहरू किचिए। १५० जनाको भागदौडमा मृत्यु भयो। अन्ततः गा–यङ पनि मर्ने मध्ये एक थिइन्।
गा–यङ २० वर्ष टेक्नै लागेकी उर्जाशील युवती हुन्। जसको सपना अब गगनमा होइन आकाशमा धुवाझैँ उडिरहेको छ। ‘मेरो छोरीलाई के भयो? मेरो छोरीलाई के भयो,’ १९ वर्षे गा–यङकी आमा चोई सिओन–मीले रुँदै भनिन्।
छोरीको मृत्युले बिछिप्त छिन्, चोई। परिवारका सदस्य र आफन्तहरू गा–यङ सम्झेर टोलाइरहेका छन्। छोरीको मृत्यु पुष्टि भएपछि ४९ वर्षीया चोई बसिरहेको कुर्सीबाट खसेकी थिइन्।
०००
परिवारका सदस्यसँगै बैठक कोठामा थिइन्, चोई। उनले अत्तालिँदै गा–यङको नाम लिएर रोइन्। फोन गरिन् तर फोन उठेन। समय–समयमा अनेकौँ नराम्रा समाचारहरू आइरहेका थिए।
५० वर्षीय पार्क गे–सुनले पनि एउटा ठूलो सपना गुमाएका छन्। उनी श्रीमती चोईसहित आइतबार दिउँसो सियोलको शवगृहमा पुगे। छोरीको मृत शरीर नियालिरहँदा उनीहरूको अनुहारमा आँसु बगिरह्यो।
‘उनी राम्रोसँग पढ्थिन्। सुन्दर थिइन्। विदेश जाने सपना लिएर सहर गएकी थिइन्,’ छोरीको फोटो देखाउँदै चोईले भनिन्।
उत्सवमा ज्यान गुमाउनेहरू अधिकांश गा–यङजस्तै युवा–युवतीहरू छन्। अस्पताल बाहिर सन्नाटा थियो। मानिसहरू मौन थिए।
आफन्तहरू गा–यङको सम्झना राेइरहेका थिए। त्यसैबेला पार्क र चोई लामो सास फेर्दै अन्त्येष्टि गृहबाट बाहिर निस्किए, अनि छोरीसँगको तीतो याद बोकेर घरतिर लागे।