मोरङको कानेपोखरी छेउ हुँदै चिसाङ खोला बग्छ। जसको किनारमा करिब ४ दशकदेखि लालपुर्जाको आशमा बाँचेको सुकुम्बासी बस्ती छ। बस्तीमा धेरैको अनेकौँ सपना हुन सक्छन्। तर सबैको सामूहिक सपना भने लालपुर्जा सिरानीमा राखेर आनन्दको सास फेर्ने नै हो। साँच्चै भन्दा यो बस्ती आत्मसम्मानकाे उज्यालो पर्खिरहेको छ।
चुनावी रिपोर्टिङका क्रममा हामी पूर्वी नेपालका विभिन्न क्षेत्रहरूको स्थलगत रिपोर्टिङ गर्दै जाँदा हाम्रो नजर चिसाङ बस्तीमा पर्यो। खोलाको किनारमा बस्ती भएकाले यो स्थानमा बाढी पस्ने समस्या हुनसक्ने अनुमान गर्दै हामी यो बस्तीमा छिर्यौँ।
चुनावका बेला एउटा फरक रिपोर्ट पनि तयार पार्न सकिन्छ कि भन्ने हाम्रो उद्देश्य थियो। तर उक्त बस्तीका युवतीहरूसँग कुरा गर्न थालेपछि हाम्रो बाढीसम्बन्धी रिपोर्ट बनाउने योजना योजनामै सीमित रह्यो। यो बस्तीमा बाढीको समस्या अल्पकालीन मात्रै रहेछ, वास्तविक समस्या भने लालपुर्जा रहेछ।
हाम्रो संवाद ब्याचलर दोस्रो वर्ष पढ्दै गरेकी निस्तना लिम्बुसँग सुरु भयो। उनको साथमा थप ४ जान युवतीहरू थिए। जो पहिलो पटक मतदान गर्ने तयारीमा बसेका छन्। निस्तना दैनिक सार्वजनिक सवारीमा यात्रा गरेर कलेज पढ्न इटहरी पुग्ने गरेको बताउँछिन्। हामीले यहाँका बालबालिकाहरूलाई पढ्नका लागि नजिकै सरकारी विद्यालय कहाँ छ भनेर प्रश्न गर्दा उनले भनिन्, ‘छन त नजिकै छ तर यहाँ प्राथमिक तहसम्म मात्रै पढाइ हुन्छ।’
त्यस क्षेत्रका मानिसहरूलाई स्वास्थ्योपचार गराउन पनि उत्तिकै समस्या रहेछ। ‘तपाईंले बाहिरबाट हेर्दा खोला पस्ने समस्या देख्नुभयो। एक पटक यी गाउँका मानिसलाई लालपुर्जाको रंग कस्तो हुन्छ भनेर साध्नुहोस् त? हुन त लालपुर्जाको रंग लाल नै हुने हो तर त्यति कुरा पनि धेरैलाई थाहा छैन। किनभने यो बस्तीले कहिल्यै लालपुर्जालाई स्पर्श गरेको अनुभूति गर्न पाएको छैन।’
निस्तनासँगै, निशा अधिकारी, रिना सुब्बा, अस्मिता लिम्बू र सोनु लिम्बुको पनि समस्या उस्तै छ। यी पाँच युवतीहरू पुरानो नेतृत्वदेखि वाक्क देखिन्छन्। उनीहरूसँगको संवादबाटै प्रष्ट थियो, उनीहरू नयाँ अनुहारको प्रतिक्षामा छन्। हामीले प्रश्न गर्याैँ पहिलो पटक भोट हाल्नुहुने रहेछ कुन पार्टीलाई दिने योजना छ? ‘हामी मतदान नगर्ने। हामीले त मत लगानी गर्ने योजना बनाएका छौँ’, यो सबैभन्दा अलि परिपक्व देखिने निशा अधिकारीको जवाफ थियो।
पछिल्लो समय मोरङ क्षेत्र नम्बर तीनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले मतदान हैन, मत लगानी गर्नुहोस् भन्दै आएकी छन्। ती युवतीहरूले पनि सोही शब्द बोलिरहँदा संवाद झनै चाखलाग्दो बन्यो। अन्ततः हामीले नचाहँदा नचाहँदै पनि यो रिपोर्टमा चुनावी रंग मिसिने पक्का भयो।
‘हामीले त भोट हाल्ने विषयमा सल्लाह नै गरेका छौँ। अहिलेको समयमा शिक्षित र जिम्मेवार हरेका नागरिकहरूले आफ्नो टोल र छिमेकमा सल्लाह नै गरेर आफ्नो मत लगानी गर्नुपर्छ भनेर हामी साथीहरूमा छलफल भएको छ’, सोनुले भनिन्। त्यसपश्चात् उनीहरू पालैपालो निरन्तर बोलिरहे।
‘हामी सानै हुँदादेखि रेखा थापालाई फिल्मी हलमा पुगेर हिरोइनको रूपमा देख्थ्यौँ। अलि बुझ्ने भएपछि फिल्मका कथाहरूमा रेखा थापाले गरेको विद्रोह र परिवर्तनको यात्रा देख्दा जिउका रौँहरू ठाडा भएर आउँथे, मनमा विद्रोहको भावना जागृत हुन्थ्यो। छोरीहरूले पनि हिम्मत गरेपछि कोहीभन्दा कमी हुँदैनन् भन्ने भावना हामीमा रेखा थापाले कोरी दिनुभएको छ’, सोनु भन्छिन्।
युवतीहरू भन्छन्, ‘चलचित्रको पर्दामा देखेरै हुर्केका हामीलाई रेखा थापालाई प्रत्यक्ष भेटिन्छ, उहाँका कुरा सुन्ने अनि नजिकबाट चिन्ने मौका पाइन्छ भन्ने कहिल्यै लागेको थिएन। समय बलवान हुन्छ भन्थे, हो रहेछ। जसलाई आइडल सम्झन्थेँ, उनी हाम्रै झुपडीमा आइपुगिन्। खाटमा बसेर, गरिबी र अभावले पिल्सिएको हाम्रो बस्तीका अनुभूतिहरूलाई मानसपटलमा दौडाइरहँदा। हँसिलो अनुहारमा लुकेको परिवर्तनको भोक र जोस बोकेर तिनै रेखा थापा समर्थकहरूको समूहसहित हाम्राे यही घरमा आउनुभएको थियो।’
‘झ्यालबाट रेखा थापालाई देखेपछि म त दौडँदै घरको मूल ढोकामा पुगेँ’, निस्तनाले उत्साहित हुँदै सुनाइन्, ‘उहाँको सरलता, सबै मान्छेहरूलाई महत्व दिएर गरेका कुराहरूले मलाई झनै तान्यो। हाम्रो घर अगाडि त उहाँसँग मेरो कुरा हुन पाएन, मात्र नमस्कार गर्ने र फर्काउने मात्र भयो। हामी पनि उहाँसँगै आएका मानिसहरूसँगै मिसियौँ।’
उनीहरू पालैपालो बोलिरहे, ‘हाम्रो टोलमा धेरै मान्छे भेला भएका थिए। उहाँले यहाँ सम्बोधन पनि गर्नुभयो, गरिबी, अभाव, संघर्ष र झुपडीका कथाहरूमा उहाँको सम्बाेधनहरुले गहिराइमा पुगेर छोए। हामी बच्चा बेलादेखि नै चिल्ला कारमा चुनावका बेला सल्किँदै आउने नेताहरूका रवाफपूर्ण शैली अनि लालपुर्जा दिन्छु भन्दै सुकुम्बासी बस्तीका मतले सांसद बन्नेहरूले उही खालका गतिविधि गरिरहेको देखेका हामीलाई किन किन रेखा दिदीले बोलेका कुराहरूले छोयो। हामीलाई त कता कता चलचित्र नै हेरेको झैँ लागिरहेको थियो। झुटा सपना बाँढ्न ५ वर्षमा एक पटक नेताहरू मात्रै आउने हाम्रो गाउँमा रेखा थापा आउनु नै ठुलो कुरा थियो। अझ त्यसमा पनि इमानदारी पूर्वक हाम्रो समस्या पुरा गर्ने भनेर गरेका प्रतिज्ञाहरू कत्ति सुहाएका थिए। ठुला पार्टीका ठुल्ठुला नेताहरूले हाम्रा बाआमाहरूलाई केही खर्च गोजीमा हालिदिएर केही दिन फुर्काउने अनि जितेपछि सुकुम्बासी बस्तीमा कहिल्यै नफर्कने अनि फेरि चुनाव आयो भने केही न केही लोभ देखाएर आफू चाहिँ सत्तामा पुग्ने खेल खेल्दा रहेछन् भन्ने कुरा अब हामीहरू जस्ता भर्खरै भोट हाल्ने तरखरमा पुगेकाहरूलाई समेत थाहा भयो।’
‘पैसा नपुगेर पित्त थैलीको अप्रेसन गर्न नसकेर प्राण त्यागेका धेरै आफन्तहरू देखेका छौँ हामीले। उपचार पनि निकै महँगो भएको छ। बिरामी पर्दासमेत के भयो भनेर सोध्ने कोही हुँदैन। पढ्ने बेला सहुलियतमा सुकुम्बासी बस्तीका बच्चाबच्ची भनेर पढाउने कोही हुँदैन। तिनै नेताका अस्पताल, विद्यालयहरूमा सकीनसकी निकै महँगोमा पढ्नुपर्ने, उपचार गराउनुपर्ने बाध्यता हामीसँग छ। त्योबेला कोही आउँदैन सहयोग गर्न। जब चुनाव आउँछ, तब सुरु हुन्छ विभिन्न किसिमका प्रलोभनहरू। दुख झेलेपछि मात्र थाहा हुँदो रहेछ’, उनीहरू सनाउँछन्।
निशाले सुनाइन्, ‘कार्यक्रममा छेउमा बसेर सुनिरहेकी थिएँ। रेखा दिदीले प्रश्न गर्नुभयो, ३० वर्षदेखि किन यी ठुला पार्टीका नेताले सुकुम्बासी समस्या समाधान गर्दैनन्? किन खाली चुनावको मुखमा आश्वासन मात्र दिन्छन्? तपाईंको बस्तीमा तपाईं सँगसँगै हिँड्ने, तपाईसँगै बस्ने तपाईंसँगै परिवर्तन, विकास र अधिकारका लागि हातेमालो गर्ने अठोट लिएर, परिवर्तनको बिगुल फुक्न आएकी छु, साथ दिनुहुन्छ? उहाँको प्रश्नले मेरो त मन छोयो। उहाँको अठोट, आत्मविश्वास अनि सरलताले अब हामीले उहाँलाई जिताउनुपर्छ भन्ने लाग्यो। त्यही भएर मत लगानी गर्ने भनेका हौँ। आशै आशामा हाम्रा बाबाममीले धेरै गर्नुभयो तर दान गरेको कुरा कहाँ फिर्ता पाइँदाेरहेछ र?’
रिना भन्छिन्, ‘गरिबी र अभावमा चेतनाले भन्दा पनि भोको पेटले धेरै निर्णय गर्दो रहेछ। भोको पेटको निर्णयकै कारण हामीहरू सधैँभरि विगत ३ दशकदेखि उही अवस्थामा गुज्रिरहेका रहेछौँ, आज मलाई यो कुराको चेतना भएको छ। परिवर्तन अब हामी युवाहरूले गर्नुपर्दछ। हाम्रा आमाबुवा धेरैले यस्ता कुराहरू बुझ्नुहुन्न, त्यसैले हामी सबैले आफ्ना आमाबुवालाई हाम्रो अहिलेको समयअनुसार चल्न सक्ने, हाम्रो समाजको समस्या बुझ्न सक्ने, सेवा भावनाले राजनीतिमा जोडिनुभएका रेखा दिदी जस्ता युवाहरूलाई भोट दिनुपर्छ अनि मात्र हाम्रो समाजमा केही परिवर्तन आउँछ।’
‘हाम्रो झुपडीभित्र छिरेर, के छ? भन्न नसक्ने, हामीहरूसँगै हिँड्न नसक्ने, हामीहरूसँगै खान नसक्ने, तिनै व्यापारी, तिनै भ्रष्टाचारीहरुलाई अब चाहिँ बोक्नुहुन्न। अरू केही नगरेपछि यस पटक उनीहरूलाई भोट नहालौँ। अब त हामी परिवर्तन हुनुपर्छ।यो चुनावले हामीलाई एउटा प्रश्न दिएको छ, माफिया, भ्रष्टाचारी, तिनै व्यापारीलाई रोज्ने कि परिवर्तन र युवा विद्रोहको अभियानमा लम्केकी रेखा रोज्ने? म मेरा साथीभाइ एवं युवाहरूलाई यो प्रश्न आफूले आफैँलाई गरेर आफ्नो अनि आफ्ना बुवाआमाको भोटको निर्णय गरिदिनुहुन समेत अनुरोध गर्छु’, अस्मिता भन्छिन्।
निस्तनाले थपिन्, ‘कार्यक्रम सकिएपछि म दौडँदै गएर रेखा दिदीलाई अँगालो हालेँ। उहाँले माया गर्दै मेरो नाम, पढाइ सोध्नुभयो, मैले उहाँको फोन नम्बर मागेँ, दिनुभयो। पछि हामी फोनमा कुराहरू गर्न लाग्यौँ, मेले सोधेका थुप्रै प्रश्नहरूको उत्तर दिनुभएको छ। उहाँका जवाफहरू सुनेर एउटी युवतीको हिम्मत, जोस अनि काम गर्ने इच्छाशक्ति देखेर मैले भगवानसँग एउटै कुरा मागेकी छु कि हाम्रा मोरङका जनताले रेखा दिदीको यात्रामा साथ दिउन्। हाम्रा बस्तीहरूमा आत्मसम्मानको उज्यालोको प्रकाश परोस्। हामी त त्यही आशमा छौँ।’
हामी फर्किनै लाग्दा निस्तनाले भनिन्, ‘तपाईंहरू त्यसै यो बस्तीमा छिर्नुभयो, यहाँको समस्या अलिअलि बुझ्नुभयो। लालपुर्जाको आसमा यो बस्तीमा धेरै जनाले मृत्युको मुख देखेका छन्। सुकुम्बासी भएर मरेका मेरा छिमेकीहरूको पीडा मैले महशुस गरेको छु। यो बस्ती त उदाहरण मात्रै हो। यो निर्वाचन क्षेत्रमा मात्रै करिब ४० हजार सुकुम्बासी छौँ। नेताहरूबाट त आश थिएन, अब रेखा दिदी आउनुभएको छ, थोरै आस पलाएको छ। यो कुरा तपाईंले पनि लेखिदिनु है। कतै हाम्रो पीडा पनि कसैले सुनिदिन्छ कि!’