इतिहासमा ललितजंग शाही बागी नभएर पार्टीको वैकल्पिक उम्मेदवार (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

सत्तारुढ गठबन्धनबाट जुम्ला प्रदेशसभा (क) मा नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही उम्मेदवार बनेका छन्।

दाेस्राे संविधान सभाकाे निर्वाचनमा उनी विजयी हुँदा नेपाली कांग्रेस जुम्लाले इतिहासमा पहिलाे पटक संसदीय निर्वाचन जितेको थियाे। उनै शाहीसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेकाे कुराकानी यहाँ प्रस्तुत छ।

गठबन्धनबाट उम्मेदवारकाे रुपमा चुनावी मैदानमा हुनुहुन्छ। अहिलेकाे गठबन्धनले चुनाव जित्ने सम्भावना कति छ?

अहिले नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमाेर्चालगायत दलहरुकाे गठबन्धन छ। इमानदारीपूर्वक लाग्ने हाे भने रुकुम पश्चिमबाहेक बाँकी सबै जिल्लामा गठबन्धनले चुनाव जित्छ।

हामी जुम्लामा इमानदारीपूर्वक चुनावमा लागिरहेका छाैं। त्यसैले निश्चित रुपमा जित्छाैं। यसमा कुनै दुविधा छैन।

तर, कांग्रेसकै राजनीति गरेका प्रभावशाली नेता बागी उठ्नुभएकाे छ। यसले प्रतिउत्पादक हुने सम्भावना त रहन्छ हाेला नि?

कार्यकर्ताकाे माझमा काम गरेकाे मान्छेकाे प्रभाव नपर्ने भन्ने हुँदैन। व्यक्तिलाई महत्व दिने मान्छे व्यक्तिको पक्षमा लाग्नु अस्वाभाविक हाेइन। तर पार्टीकाे सिद्धान्त मान्नेहरु पार्टीकै पछि लाग्छन्।

दलीय व्यवस्थामा त्याे पनि विभिन्न दलहरुकाे गठबन्धन भएकाे अवस्थामा स्वतन्त्र बागी उम्मेदवारले बाजी मार्ने भन्ने कुरा असम्भव प्राय हाे।

स्थानीय तहकाे निर्वाचनमा जुम्लामै स्वतन्त्र उम्मेदवारले जित्नुभयाे नि?

त्याे अपवाद हाे। अपवादबाहेक स्वतन्त्रकाे प्रभाव नगन्य नै हुन्छ। चुनाव गठबन्धनले ढुक्कसँग जित्छ।

कुनै समय तपाईं आफैँ पनि बागी स्वतन्त्र उठ्नु भएकै हाे नि। तर, तपाईंले त उल्लेख्य मत प्राप्त गर्नुभयाे!

तपाईंहरुकाे मिडियामार्फत विनम्रता पूर्वक के निवेदन गर्न चाहन्छु भने म बागी स्वतन्त्र उम्मेदवार थिइनँ। पार्टीको वैकल्पिक उम्मेदवार थिएँ। पार्टी केन्द्रले बनाएकाे उम्मेदवारकाे जनतामा प्रभाव नपर्ने भएकाे हुँदा पार्टीले नै निर्णय गरेर मलाई वैकल्पिक उम्मेदवार बनाएकाे हाे।

तपाईं पार्टीको वैकल्पिक उम्मेदवार नै हुनुहुन्थ्यो भनेर ग्यारेन्टी दिनुहुन्छ?

संस्थागत निर्णय नै हाे। झुटाे बाेल्ने कुरा आउँदैन। नेपाली कांग्रेस पार्टीले संस्थापक रुपमा निर्णय गरेर वैकल्पिक उम्मेदवार बनेकाे हुँ। तत्कालीन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य हाम्राे आदर्णीय स्वर्गवासी नेता भिमप्रसाद श्रेष्ठकाे उपस्थितिमा भएकाे निर्णय थियाे, त्याे।

तपाईं नेपाली कांग्रेस कर्णाली प्रदेशकाे सभापति पनि हुनुहुन्छ। यसर्थमा तपाईंकाे उम्मेदवारीलाई जनताले मुख्यमन्त्री, मन्त्रीकाे रुपमा बुझ्ने कि सांसद मात्रै भनेर बुझ्ने?

अब भन्नुपर्दा खेरी मलाई जुम्ली जनताले प्रदेशसभा सदस्यकाे रुपमा मत हाल्ने हाे। जितिसकेपछि स्वाभाविक रुपमा मन्त्री, मुख्यमन्त्रीकाे कुरा पनि आउने नै भयाे। तर अहिलेकाे अवस्थामा गठबन्धनले फलानाेलाई मन्त्री वा मुख्यमन्त्रीकाे रुपमा तयार गरेकाे छैन।

यत्ति हाे म प्रदेशसभाकाे सदस्यकाे रुपमा मात्रै सिमित रहन्न। जनताले याे मान्छे भाेलि केही न केही भूमिकामा रहन्छ भनेर नै बुझिरहेका छन् भन्ने मलाई लाग्छ।

भनेपछि मन्त्री वा मुख्यमन्त्री भनेर मत माग्ने त हुन्न नि?

मलाई त्याे सुविधा छैन।

संसदी व्यवस्थामा त एकजना उम्मेदवारलाई मन्त्री, मुख्यमन्त्री वा प्रधानमन्त्री नै भनेर मत माग्ने सुविधा हुन्छ नि?

विल्कुल सान्दर्भिक प्रश्न गर्नुभयाे। तर त्याे पार्टीहरु अगल-अलग चुनाव लड्दा मात्रै हुन्छ। संसारमा विकसित रुपमा संघीयताकाे अभ्यास हुँदा चुनाव लड्नेबेला यदि जनताले हाम्रो पार्टीलाई बहुमत दिएकाे अवस्थामा फलानाे भावी मन्त्री र मुख्यमन्त्री भनेर प्राेजेक्सन गर्ने चलन छ।

तर गाठी कुरा के हाे भने अहिले गठबन्धन भएकाे हुँदा या त गठबन्धनले नै प्रधानमन्त्री फलानाे, फलानाे प्रदेशमा मुख्यमन्त्री याे भनेर घाेषणा गर्नुपर्‍यो। यस्तो घाेषणा भएकाे छैन। यस्ताे नभएकाे अवस्थामा हामी आफू याे हुनेछु भनेर मत माग्न मिल्दैन।

नजिकैकाे छिमेकी देश भारतमा पनि गठबन्धन नै हुन्छ। तर, त्यहाँ त प्रधानमन्त्री फलानाे भनेर मत माग्ने चलन छ नि?

हाम्रो गठबन्धनले ठाेस रुपमा त्याे कुरा सार्वजनिक नगरेसम्म कुनै एउटा पार्टीले याे मन्त्री वा मुख्यमन्त्री भन्न सुहाउँदैन। त्यसैले हामीले जनतासँग मत माग्दा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भनेर मात्रै मत माग्ने हाे।

तपाईंहरु चुनावी अभियानमा लाग्दा पार्टीले केन्द्रबाट निकाल्ने घाेषणापत्रलाई मात्रै आधार मान्नुहुन्छ कि स्थानीय आवश्यकतालाई पनि मुद्दा बनाउनु हुन्छ?

हामीले एक चरणमा छलफल गरेका छाैं। गठबन्धनका दलहरुले साझा घाेषाणपत्र बनाउने विषयमा केही कुरा बाहिर आएकाे छैन। नेपाली कांग्रेसले केही दिनमा आफ्नाे घाेषणापत्र सार्वजनिक गर्छ। त्यसमा कर्णाली प्रदेशमा हामीले जित्दा के के गर्ने भन्ने कुरा त आउँछ नै।

हाम्राे प्रदेशकाे सम्भावना, आवश्यकता, त्यसकाे सम्बाेधन कसरी गर्ने भन्ने विषय त्यसमा अटाउँछ। जलस्रोतको विषयमा, पर्यटन विकास र प्रवर्द्धनकाे विकासबाट जनताकाे जीवनस्तर कसरी उकास्ने? अथाह जडीबुटीकाे भण्डार भएकाे याे क्षेत्रलाई कसरी प्रमाेट गर्ने? फलफूल, स्याउ, ओखर, अर्गानिक उत्पादनबाट कसरी मनग्ये आम्दानी लिने? र ती उत्पादनकाे उचित बजार व्यवस्थापन कसरी गर्ने? किसानले, संकलकले कसरी लाभ लिने भन्ने विषयहरु नेपाली कांग्रेसकाे घाेषणापत्रमा समेटिनेछन्।

ठाेस रुपमा भन्नुपर्दा अहिले यहाँका स्थानीय आवश्यकताहरु के-के हुन्?

स्थानीय आवश्यकाता यी-यी हुन् भनेर जनतालाई यसाे गर्छु, उसाे गर्छु भनेर भ्रम छर्ने काम म र मेराे पार्टीले गर्दैन। जे सम्भावना छ, त्यसलाई चिर्ने र छिचाेल्ने हाे। सम्भावनाकाे खाेजी गर्ने हाे। स्थानीय साधन र स्राेतकाे उपलब्धतालाई मध्यनजर गरेर त्यसलाई जनताकाे समृद्धिकाे ढाेका खाेल्ने हाे।

तपाईं यसअघि नेपाली कांग्रेस इतिहासमा जुम्लाबाट जितेर संविधान सभाकाे सदस्य पनि भइसक्नुभएकाे छ। त्यतिबेला तपाईंले गरेका कामकाे आधारमा जनताले मूल्यांकन गर्ने हाेलान नि?

नेपाली कांग्रेस जुम्लाकाे इतिहासमा चुनाव जित्दै गर्दा मेराे पहिलाे भूमिका भनेकाे संविधान निर्माण गर्ने थियाे। जुन मैले इमानदारीपूर्वक निर्वाह गरेकाे जस्ताे लाग्छ।

पहिलाे संविभा सभाले संविधान निर्माण गर्न नसकेपछि दाेस्राे निर्वाचन भएकाे हाे। त्याे कार्यभार मैले पूरा गरेकाे जगजाहेर छ। जगजाहेर के मानेमा भने नेपालकाे संविधान निर्माणकर्तामा मेराे नाम र हस्ताक्षर छ। मलाई जुम्ली जनताले संविधान सभाकाे सदस्यकाे रुपमा पठाएकाे उपलब्धि नयाँ संविधान हाे।

संविधान सभाकाे निर्वाचनकाे मुख्य कार्यभार संविधान निर्माण गर्ने त थियाे नै, त्याे संगसंगै संसदकाे भूमिका पनि त निर्वाह गर्नुपर्ने थियाे नि?

संविधान निर्माण सँगसँगै हामीलाई प्रतिनिधिसभाकाे भूमिकासमेत रह्याे। त्यसमा संसदले बनाउनुपर्ने कानुनमा हामीले भूमिका त खेल्याैं नै। त्याे संगसंगै बजेट निर्माण गर्नेबेला समग्र जुम्लाको विकास कस्ता खालका आयाेजनाले गर्न सक्छन् भन्ने खाेजी पनि गर्‍याैं। जलविद्युतकाे मुख्य आवश्यकता देख्याैं। जडीबुटीकाे सम्भावना र त्यसकाे प्रशाेधन केन्द्र स्थापना गर्नुपर्ने बारे जाेड दियाैं।

त्यतिबेला तपाईंले गरेका मुख्य काम भन्नुस् न।

मैले त जुम्लाकाे पहिलाे आवश्यकता भनेकाे उर्जा हाे, जबसम्म यसकाे विकास हुँदैन तबसम्म अरु सम्भावनाका ढाेका खाेलिन्न भनेकाे हुँ। उर्जाकाे नाममा म निर्वाचित भएर गएकाे पहिलाे आर्थिक वर्ष (याे कुरा मैले धेरै पटक भनिसकेको छु। मलाई धेरै मिडियाबाजी गर्न आउँदैन। तर याे कुरा नाेट गरेर सबैले बुझ्नेगरी सम्प्रेषण गरिदिन म तपाईंलाई विनम्र आग्रह पनि गर्छु।) २०७१/०७२ काे बजेटकाे बुँदा नम्बर ६७ मा जुम्लामा पाँच मेघावाट विद्युत उत्पादन गर्नका लागि बजेटकाे व्यवस्था गरिएकाे भनिएकाे छ। त्यसकाे एक वर्षमा बितिसक्दा पनि काम थालनी नभएपछि मैले सर्वाेच्च अदालतमा रिट दायर गरेकाे कुरा जगजाहेर छ। मैले नै ३१ वटा तारिख बदलेकाे छु र अदालतमा म स्वयं वकीलकाे रुपमा उपस्थित पनि भएकाे छु।

अर्को आर्थिक वर्ष २०७२/०३२ काे बजेटकाे बुँदा नम्बर ७४ मा जबा खाेलबाट पाँच मेघावाट विद्युत उत्पादन गरिनेछ भनेर उल्लेख गरिएकाे छ। त्याे कार्य पनि समयमै प्रारम्भ नभएपछि अदालतकाे रिटलाई मैले जबर्जस्त ढंगबाट बहस पैरवी गर्न लगाए। पछि म पद मुक्त भइसकेकाे पहिलाे हप्ता जुम्लाकाे तत्कालीन प्रतिनिधिसभा सदस्य ललितजंग शाहीले दायर गरेकाे रिटमा सर्वाेच्च अदालतबाट परमादेश जारी भएकाे छ।

जुम्लामा विद्युत उत्पादन गर्ने कार्य गर्नु, गराउनु भन्ने आदेश भएकाे थियाे। त्याे मेराे ठुलाे उपलब्धि हाे। तर दुर्भाग्य त्यसपछि मेराे काठमाडौं बसाइ पातलाे हुनु। त्यसपछिका प्रतिनिधि साथीले त्यसलाई अघि बढाउने काम नगरिदिनु। यी विविध कारणले त्याे महत्वपूर्ण याेजना अहिले पनि ओझेलमा छ। म बडा दुखका साथ भनिरहेकाे छु।

बजेटमा याेजनाहरु परिसकेपछि पनि त्यसकाे कार्यान्वयन पक्ष त निकै फितालाे हुँदाे रहेछ। अब कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन तपाईंकाे भूमिका के हुन्छ?

अब मलाई जनताले आधिकारिक प्रतिनिधि बनाएका छन् भने मेराे पहिलाे काम, मैले गरेका पहल र प्रयास जाे पूरा हुन सकेका छैनन्, त्यसैलाई म निरन्तरता दिनेछु।

जुम्लाकाे विद्युत विकास अझै पनि हुन सकेकाे छैन। विद्युत्को विकास नहुनु भनेकाे औद्याेगिक विकास नहुनु हाे। त्यसले अर्थतन्त्रलाई नाेक्सान गरिरहेकाे हुन्छ। मैले चालेकाे कदम बीचैमा राेकिएकाे छ। त्याे निरन्तरता दिने उपाए के हुन सक्छ भनेर बुझ्दा अहिले पाँच मेघावाट विद्युत प्रदेशबाट पनि उत्पादन गर्न सकिने रहेछ। म त्यसलाई निरन्तरता दिनेछु।

डीपीआर पनि भएकाे, पानी नाप्ने, साइड नाप्नेलगायतका काम भइसकेको छ। याे गर्नका लागि सरकारकाे लगानी पनि भइसकेको छ। यसकाे कार्यान्वयन गर्ने निकाय विद्युत् विकास बाेर्ड हाे। त्यहाँबाट पछिल्लो समम याे काम प्रदेशले गर्न सक्ने भन्ने जवाफ आएकाे छ। मैले चुनाव जितेपछि यसलाई कुनै पनि हालतमा पूरा गर्नेछु।

भनेपछि तपाईंले चुनाव जितेपछि जनता आशावादी हुने स्थिति छ?

स्थिति हाेइन, म जनतालाई विश्वास दिलाउन चाहन्छु। म माननीयकाे भत्ता मात्रै खान हिजाे पनि गएकाे हाेइन र अब पनि जाने छैन। जुम्ली जनतालाई मेरा तर्फबाट गरेका प्रतिबद्धताहरु ओझेलमा पर्न दिन्न।

मेराे कार्यकालमा मैले गरेका केही अन्य काम पनि छन्। त्याे त्यतिबेला मैले मिडियामाबाजी गर्न चाहिनँ। तर तपाईं आज मलाई खाेज्दै आउनुभएकाे छ। यस्ताे बेला भन्नु उपयुक्त हुन्छ। जुम्ला बजार हुँदै उर्थुबाट रारा जाेड्ने बहुवर्षीय याेजना मेराे पहलमा सुरु भएकाे हाे। जुम्लाबाट पातरासी हिमालकाे फेदसम्म पुग्ने बाटाे अलपत्र परेकाे थियाे। त्यसका लागि उर्थुमा पुल बनाउन जरुरी थियाे। त्याे मैले नै शिलान्यास गरेकाे थिएँ।

नगरपालिकाकाे १० नम्बर वडा नगरसँग नजाेडिएपछि छिनासँगुमा पुल हाल्ने काम मैले नै गरेकाे थिएँ। ताम्ती जाने कुडारीकाे पुल मेरै प्रयासमा निर्माण भएकाे हाे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नरेश भण्डारीजीकाे कार्यकालमा त बन्याे तर प्रतिष्ठान पुराना भवनमा साँघुराे गरी चलिरहेको थियाे। मेराे प्रयासमा ३०० शय्या क्षमता भएकाे ९६ कराेडकाे भवन बनेकाे हाे।

उसाे भए तपाईंले गरेका कामकाे मिडियाबाजी पटक्कै गर्नुभएन?

हेर्नुस्, पत्रकार मित्र मलाई जनताले के कामका लागि मत दिएका थिए भन्ने कुरा मुख्य हाे। मैले एउटा शिक्षककाे उदाहरण लिने गरेकाे छु। मरिहत्ते गरेर शिक्षक हुनेले मैले साइन्स पढाएँ, म्याथम्याटिक्स पढाएँ, अंग्रेजी पढाएँ, मेराे घाेग्राे सुक्याे भन्नु कत्तिको उपयुक्त हुन्छ? कर्तव्य निर्वाह गर्ने हाे। परिआएपछि तपाईंले के के गर्नुभयाे भन्दा तपाईंको लाेकप्रिय मिडियामार्फत भन्नु परेकाे हाे।

थाेरै कुरा फेरि पनि गठबन्धनकै गराैं। अहिले गठबन्धनका साझेदार दलहरु गठबन्धनप्रति इमान्दार हुन्छन् जस्ताे लाग्छ तपाईंलाई?

मेराे बुझाइ र साेचाइमा पूर्ण रुपमा हुन्छन्।

जस्ताे समाजवादीका केही मुख्य नेताहरु चुनाव प्रचारमै जानुभएकाे छैन नि?

त्याे उहाँहरुकाे आफ्नाे विचार हाेला। व्यक्ति काेही सक्रिय नहुन सक्छन्। तर संस्थागत निर्णय गरेर गठबन्धनलाई सफल बनाउने भनिसकेपछि, जुम्लाकाे सन्दर्भमा नेकपा माओवादी केन्द्रकाे भागमा संघकाे उम्मेदवार गाेमा कुँवरलाई, (क)प्रदेशमा नेपाली कांग्रेसकाे मलाई र (ख) प्रदेशमा समाजवादीकाे पदम राेकायालाई जिताउन लाग्नु हामी सबैकाे कर्तव्य हाे।

सबै दलका नेता-कार्यकर्ताहरु गठबन्धनलाई जिताउन इमानदारीपूर्वक लाग्नुहुन्छ भन्ने मेराे विश्वास हाे। व्यक्तिगत रुपमा कुनै दलका कुनै साथी निष्क्रिय हुन्छन् भने पनि हामी दैनिक मिटिङ त बस्छाैं नै।

तर, अहिले प्रचारमा गठबन्धनका सबै उम्मेदवार संगै गएका भएपनि सामाजिक सञ्जालमा कांग्रेसकाे कार्यकर्ताले लतितजंङ शाही जिताउँ लेख्ने, माओवादीकाे कार्यकर्ताले गाेमा कुँवर जिताउँ लेख्ने र समाजवादीकाे कार्यकर्ताले पदम राेकाया जिताउँ मात्रै लेख्ने भइरहेकाे छ। के याे इमानदारीता हाे?

त्याे पनि गलत हाे। हामी दिनदिनै गठबन्धन दलकाे बैठक बसिरहेका छाैं। याे तपाईंले अहिले उठाएकाे जस्ताे गठबन्धन भन्ने अनि आफ्नाे-आफ्नाे दलकाे मात्रै प्रचार गर्ने गरेकाे कार्य यदि सत्य हाे भने त्यस्तो कार्यलाई निरुत्साहित गर्छाैं। अब तीनवटै उम्मेदवारकाे फाेटाे, तीनवटै उम्मेदवारकाे चुनाव चिन्ह र झण्डा अंकित प्रचारप्रसार हुनुपर्छ।

प्रकाशित मिति: : 2022-10-22 15:06:00

प्रतिकृया दिनुहोस्