आम निर्वाचन : कस्तो छ निर्वाचन सुरक्षा योजना?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनक नजिकिएसंगै यतिबेला देश चुनावी माहाेलले निकै तातेकाे छ। नेता तथा कार्यकर्ताहरू चुनावी प्रचारमा व्यस्त छन्।

नेताहरू अहिले चुनावी अभियान लिएर गाउँ-गाउँ पुगिसकेका छन् भने मतदातालाई आफूतिर तान्न जाेडताेडका साथ लागिपरेका छन्। 

निर्वाचनकाे मिति नजिकिँदै गर्दा सुरक्षा चुनाैती पनि बढ्दै गएकाे छ। निर्वाचनसँग राजनीतिक, सामाजिक, आर्थिकलगायतका धेरै पक्ष जोडिएका हुन्छन्। यससँगै निर्वाचनको समयमा हतियारधारी समूहको प्रभाव देखिने हुँदा सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकाे छ।

सुरक्षा निकायहरूले निर्वाचनलाई लक्षित गरी सुरक्षा योजना तयार गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायले निर्वाचन लक्षित सुरक्षा योजना बनाएका छन्।

गृह मन्त्रालयले समेत एकीकृत निर्वाचन सुरक्षा योजना बनाएको छ। त्यस्तै हरेक सुरक्षा निकायहरूले पनि छुट्टाछुट्टै निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छन्।

निर्वाचन सुरक्षाको प्रथम जिम्मेवारी नेपाल प्रहरीको हो। मतदानस्थलदेखि मतगणनास्थल सबैतिर अग्रपंक्तिमै प्रहरी तैनाथ रहन्छन्। अहिलेको निर्वाचनमा म्यादी प्रहरीसहित तीन लाख सुरक्षाकर्मी देशभर परिचालित हुँदै छन्।

यतिबेला निर्वाचन पूर्वको सुरक्षा प्रबन्धको काम भइरहेको छ। जसमा मतदाता, मतदानस्थल, उम्मेदवारलगायतको सुरक्षा लक्षित सूचना संकलन, त्यसको विश्लेषण र सम्भावित सुरक्षा जोखिमलाई सम्बोधन गर्ने रणनीतिमा सुरक्षा निकाय जुटेका छन्।

सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ। सुरक्षा निकायले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशीलमा वर्गीकरण गरेका छन्। सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ।

मतदाता सुरक्षा, निर्वाचन संयन्त्र, जनशक्ति र सामग्रीको सुरक्षा, उम्मेदवार तथा तिनका कार्यक्रमको सुरक्षा, मतदानस्थलको सुरक्षा, मतपेटिका सुरक्षित ढुवानी तथा मतगणनास्थलको सुरक्षालगायतमा सुरक्षा निकायको प्रमुख चासो देखिन्छ।

निर्वाचनको समयमा मतदातालाई मतदान केन्द्रसम्म पुग्न नदिने, मतदान केन्द्र नै कब्जामा लिएर आफ्ना उम्मेदवारलाई जिताउने हर्कत गर्ने, आफूले हार्ने स्थिति देखेपछि मतदान वा मतगणना बिथोल्ने, हिंसात्मक झडपहरु हुँदै आएका छन्।

जसकारण देशका चारवटै सुरक्षा निकायले पनि अहिलेको निर्वाचनमा दलहरूका गतिविधिलाई नै प्रमुख सुरक्षा चुनौती ठानेका छन्। निर्वाचन प्रचारप्रसारकै क्रममा अघिल्ला निर्वाचनहरूमा भएका घटनाले पनि त्राश फैलिएको पाइन्छ। दलहरूकै आन्तरिक विवाद र हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर सुरक्षा निकायले त्यसैअनुसारको निर्वाचन विशेष सुरक्षा योजना लागू गरिसकेका पनि छन्।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले ६१ हजार ६ सय ९३ जनशक्तिलाई निर्वाचन लक्षित कार्यक्रममा खटाइने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।

‘निर्वाचनका लागि नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ। जसमा उक्त सेलले देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिने, सुपरिवेक्षण गर्ने, अनुगमन गर्ने, प्रहरीको व्यवस्थापन गर्ने र आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्ने छ’, उनी भन्छन्। यससँगै प्रहरीले प्रत्येक प्रदेश र जिल्लामा पनि निर्वाचन सेल गठन गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता राईका अनुसार नेपाल प्रहरीले केन्द्रमा मात्र नभई जिल्लामा पनि निर्वाचन सेल गठन गरेको छ। ती निर्वाचन सेलहरूले आफ्नो जिल्ला तथा आफ्नो प्रदेशमा चाहिने जनशक्ति, त्यसलाई चाहिने साधन स्रोतको व्यवस्थापन गर्नुका साथै आवश्यक समन्वयको काम गर्नेछ। जिल्लामा सुरक्षा समितिसमेत हुनेछ। त्यसले जिल्लाभर कति सुरक्षाकर्मी खटाउने? कुन–कुन मतदान केन्द्रमा कस्तो खालको सुरक्षा रणनीति अपनाउने ? लगायतका विषयलाई ध्यानमा राखेर काम गर्नेछ।

यस्तै सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन सुरक्षा रणनीति तयार पारेको छ। सशस्त्र प्रहरी बलले विभिन्न तहहरू, प्रधान कार्यालय, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरिसकेको छ। त्यस्तै मतदानस्थल, मतदान केन्द्र लक्षित गरेर गस्ती पेट्रोलिङलगायतका काम पनि भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता पुरुषोत्तम थापाले जानकारी दिए।

मतदान स्थलमा शान्ति सुरक्षाको प्रत्याभूत गराउने, त्यहाँको भूगोल, जनसंख्या, मनोविज्ञान बुझ्ने, निर्वाचन सुरक्षालाई असर पुर्‍याउन सक्ने खालको कुनै सूचनाहरू छन् भने संकलन गर्ने, निर्वाचनमा परिचालन हुँदा आइपर्ने सुरक्षा चुनौती विश्लेषण गर्ने र माथिल्लो निकायमा फिडब्याक दिने काम पनि अहिले भइरहेको प्रवक्ता थापाले बताए।

यस्तै गृहमन्त्रालयले निर्वाचन सुरक्षाका लागि चार तहका सुरक्षाकर्मीलाई कार्य विभाजन गरेको छ। जसको फ्रन्ट लाइनमा डेढ लाख म्यादी, तथा नेपाल प्रहरी रहने छन् भने सेकेण्डरी लाइनमा नेपाली सेना तथा सशस्त्र प्रहरी बल रहने छ।

सुरक्षा तथा शन्ति कायम राख्न मोबाइल गस्तीमा सशस्त्र प्रहरीले भूमिका निभाउने छन्। यसैगरी सबैसँग समन्वय र सहकार्यमा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गर्ने गरी सुरक्षा निकायलाई परिचालन गरिने गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव बसन्त भट्टराई जानकारी दिए।

विगतका निर्वाचनमा हुने गरेको अवाञ्छित, तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै त्यसका लागि हरेक सुरक्षा निकाय तयारी अवस्थामा रहने बताए।

प्रकाशित मिति: : 2022-10-21 22:00:00

प्रतिकृया दिनुहोस्