कांग्रेसका एउटा विद्रोहीः शशी किन थाकेनन्, किन भागेनन्

Photo Credit: R. V. MOORTHY

भारतीय राष्ट्रिय कांग्रेसको केन्द्रीय अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। उनी पार्टीको अध्यक्ष पदमा निर्वाचित भएपनि थप चर्चामा छन्, शशी थरूर। कांग्रेसका वैचारिक र ‘स्टाइलिश’ नेता हुन्, उनी। 

कांग्रेसभित्र ‘खड्गे–थरूर’ प्रतिस्पर्धाले भारतीय राजनीतिक वृत्तमा नयाँ बहस छेडेको छ। हजारौँ पार्टी प्रतिनिधिहरूले उर्जाशील नेता थरूरलाई थन्काउँदै अन्ततः ‘वयोवृद्ध खड्गे’ रोजेका छन्। 

कांग्रेसको हाइकमान्ड अर्थात् ‘गान्धी परिवार’ले हुर्काएका खड्गेलाई तीन–तिहाइ प्रतिनिधिले चुनेका छन्। पार्टीको अध्यक्ष पदमा हारेपनि नेता थरूरले निर्वाचनपूर्व वा पछि सानदार प्रदर्शन गरेका छन्। वैचारिक विमर्शसँगै पार्टी–संगठन मजबुत बनाउन जुटेका छन्, उनी। 

सन् २००० मा सोनिया गान्धीसँग चुनावी मैदानमा उत्रिएका थिए, जितेन्द्रप्रसाद। ‘गान्धी परिवार’सँग अध्यक्ष पदमा भिडेका उनी अन्ततः राजनीतिबाट पाखा लागे। आलोचकहरू भन्छन्— कांग्रेस बिग्रियो। कांग्रेस जीवन्त पार्टी होइन, ‘सोनिया–राहुल’को निजी कम्पनी बन्यो।

शशी थरूर भिन्नै मत राख्छन्। विचार परिवर्तनको पक्षमा छन्। पार्टीभित्र पुनर्जागरणको एजेन्डा उठाउँछन्। महाधिवेशन वा सम्मेलनमा प्रधिस्पर्धाको मार्ग रोज्छन्। अनि ‘गान्धी परिवार’को गलत कदमविरूद्ध विद्रोहका लागि तम्सिन्छन्, थरूर। तीनपटक लोकसभा सांसद बनेका उनी शीर्ष नेतृत्वको शैलीप्रति टिप्पणी पनि गर्छन्। 

थरूर कांग्रेसभित्र यस्ता पात्र हुन्, जसले पार्टीको संरचनागत बदलाब र प्रतिस्पर्धा चहान्छन्। उनी बेलाबेला नेतृत्वको कार्यशैलीप्रति असहमति राख्छन्। नेता थरूर ‘गान्धी परिवार’प्रति आक्रोशित र नरम छन्। अध्यक्ष पदमा भिड्नुअघि ‘भारत जोडो यात्रा’मा राहुल गान्धीसँगै हिँडे, उनी। 

अर्कोतिर निर्वाचित अध्यक्ष खड्गे ‘सोनिया–राहुल’का चिर–परिचित वफादार हुन्। उनी एक ‘रबर–स्टाम्प’ अध्यक्षजस्तै मानिन्छन्, जो निष्ठापूर्वक गान्धी परिवारको निर्देशन पालना गर्छन्। त्यसो त खड्गे पटकपटक विधायक चुनिएका छन्। अहिलेसम्म विधानसभा निर्वाचन जितिरहेका छन्।

एउटा प्रश्न— दिल्ली दरबारले किन खड्गेलाई नै रोज्यो? हुनत यस्तै, दरबारी संस्कृतिका कारण आजको भारतीय कांग्रेस ‘झूर–कांग्रेस’का रुपमा परिचित छ। पार्टी वैचारिक बिचलनमा फसेको छ। जनमत घट्दो छ। नेता–कार्यकर्ता खुसी छैनन्। ‘गान्धी परिवार’ मस्त निन्द्रामा छ।

एउटा लोकतान्त्रिक पार्टी कांग्रेसमा ‘हुकुमेशैली’ इन्दिरा गान्धीको शासनकालबाट सुरु भएको थियो। जब दिल्लीसहित अन्य राज्यका मुख्यमन्त्रीहरू ‘महारानी’झैँ ठान्न बाध्य हुन्थे। तब बलशाली साेच्थिन् रे, उनी। भारतीय राजनीतिक संस्कार फेरिएपनि इन्दिराकी बुहारी सोनिया गान्धीको कार्यशैली फेरिएको छैन। मतलब यस्ता, महत्वपूर्ण निर्वाचनमा कुनैपनि उम्मेदवारहरूको क्षमता देखिँदैन, मात्रै आर्शीवाद दिइन्छ।

पार्टीको निर्णय–प्रक्रियामा परिवर्तनको माग खोजिरहेका थरूरजस्ता उर्जाशील नेताहरू ‘गान्धी परिवार’को नजरबाट दूर छन्। उनी यस्ता एक्ला नेता हुन्, जो कांग्रेस सुधारको अभियानमा निरन्तर खटिएका छन्। माथिल्लो नेतृत्वबाट पीडित छन्।

‘गान्धी परिवार’को  भारी आलोचना भइरहेका बेला अध्यक्ष पदको निर्वाचनमा पूर्वअध्यक्ष राहुल गान्धी कहिकतै देखिएनन्। उनी देखिए मात्रै, ‘भारत जोडो यात्रा’मा। विश्लेषकहरू भन्छन्– राहुल कांग्रेसका सबैभन्दा लोकप्रिय नेता हुन्। जो सबै पुस्तासँगै उतिकै दूरी राख्छन्। चाहे मल्लिकार्जुन खड्गे हुन् या शशी थरूर। तर राहुल नयाँ कांग्रेस, नयाँ नेतृत्व, उर्जाशील नेतृत्वका लागि कुनै ठोस ‘एक्सन–प्लान’ भने बनाउन सक्थे।

प्रकाशित मिति: : 2022-10-22 22:10:00

प्रतिकृया दिनुहोस्