कर्णालीमा हवाई उडान थप्न सांसद भण्डारीकाे माग

BreaknLinks
BreaknLinks

साेमबार कर्णालीका पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले विपद्का कारण साविककाे कर्णालीमा हवाई उडान सेवा बढाएर विपतमा परेका नागरिककाे सेवा दिन पर्यटनमन्त्री जीवनकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

टाेलीले सिंहदरबारमै पुगेर पूर्वमन्त्री अविरल वर्षापछि बाढी र पहिरोले सडक तथा हवाईमार्ग बन्द हुँदा जुम्लाको समस्या भयावह भएको भन्दै पर्यटनमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझाउनुकाे कारणबारे टाेली नेता भण्डारीले भने, 'माथिल्लो कर्णाली अघोषित नाकाबन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान कष्टकर परिस्थितिमा कर्णालीमा तत्काल र दीर्घकालीन हवाई समस्या समाधानका लागि  माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमक्ष ज्ञापनपत्रका साथ ध्यानाकर्षण गरियो।'

दसैँकाे दिनबाट परेकाे अविरल वर्षापछिको बाढी र पहिरोले जुम्ला, कालिकोट, मुगु, हुम्ला लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा मानवीय, बालीनाली, कृषि योग्य जमिन, पशुवस्तु तथा भौतिक संरचना सडक, पुल, सिँचाइ, तटबन्ध, जलविद्युत, खानेपानी, टेलिफोन टावरहरुमा ठुलो क्षति भइ जनजीवन कष्टकर भएको छ।

यसपालिकाे वर्षाले साविकको कर्णाली क्षतविक्षत गर्दा विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। तर यस्ताे संवेदनशील परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरुले मानवीय संवेदना पनि नदेखाएपछि मन्त्रीलाई घचघच्याउन जानु परेकाे अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले बताए।

'सडक अवरुद्ध हुँदा दैनिक उपभाेग्य सामग्रीसहित अत्यावश्यक सरसामानकाे अपुग हुँदैछ,' उनले भने, 'नीजि क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले कर्णालीका उडानहरु कटौती गर्दा आवतजावतमा निकै समस्या खेप्नु परेकाे छ।'

नेपाल वायु सेवा निगमकाे सेवा नियमित नहुँदा सांसद भण्डारीले असन्तुष्टि जाहेर गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, 'कर्णालीमा भइरहेका सिमित उडानहरुमा पनि चरम अपारदर्शीताका साथै उडानहरुमा महङ्गो भाडादर असुली रहेको छ भने सेवा प्रभावकारी बन्न सकेकाे छैन।'

विद्यार्थीहरु, बिरामीहरु र अन्य यात्रुहरु विमानस्थलमा अलपत्र छन्। टिकटका लागि दैनिकजसाे कुटाकुट भइरहेकाे स्थितिबाट पार पाउन सांसद भण्डारीसहितकाे टाेली निरन्तर खटिरहेकाे छ।

यसैबीच मंगलबार कर्णाली प्रदेशको हवाई सेवा सामाधानका लागि सदस्य वायुसेवा कम्पनी (दुर्गममा उडान भर्ने) तथा कर्णालीबाट प्रतिनिधित्व गर्ने नरेश भण्डारीलगायले संघको सचिवालय, पशुपति भिजन, गौशाला काठमाडौँमा संघका अध्यक्ष क्या. रामेश्वर थापाकाे अध्यक्षतामा बैठक बसी समस्या समाधान गर्ने विषयमा निर्णय गरेकाे छ।

बैठकले कर्णाली प्रदेशमा हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सदस्य वायुसेवा कम्पनीहरुसँग भएका श्रोत साधनहरुको पूर्ण रुपमा उपयोग गर्ने, विद्यमान परिस्थितिमा हाल कर्णाली प्रदेशमा अलपत्र परेका सम्पूर्णलाई चाँडोभन्दा चाँडो उद्धार गर्ने, हवाई यातायात निर्वाध रुपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभुति गर्न स्थानीय प्रशासनको ध्यानाकर्ष गराउने, सदस्य वायुसेवा कम्पनीहरुले यथाशीघ्र इ-टिकटिङकको व्यववस्था लागू गर्ने लगायतका निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2022-10-18 16:00:00

प्रतिकृया दिनुहोस्