मधेसको विकासका लागि म सधैँ लागिपर्छु : मुकेश साह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा नेता मुकेश साहले मधेसको विकासका लागि आफू सधैँ लागिपरेको बताएका छन्।

सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनबाट बारा क्षेत्र नं. ३ को ‘क’ बाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार रहेका युवा नेता साह अहिले चुनावी कार्यक्रममा विभिन्न गाउँ पुगिरहेका छन्।

युवा वर्गमा लोकप्रिय रहेका ३५ वर्षीय साहलाई माओवादी केन्द्रले प्रदेशको सांसदका लागि टिकट दिएपछि उनको चर्चा बढदै गएको छ।

समाजिक कार्यमा सधैँ अगाडि रहने साहलाई विजयी गराउनका लागि युवाहरुले तीव्र रुपमा प्रचारप्रसार गरिरहेका छन्।

युवा नेता साहले आफू विजयी भए काठमाडौं तराई मधेस फास्ट ट्र्रयाक, बारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि दबाब दिने बताउँछन्।

यस्तै पिलुवा-कलैया-मटिअर्वा सडकलाई ६ लेनको निर्माणका साथै यस क्षेत्रको पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका विकासका लागि संघ र प्रदेश सरकारको सहकार्यमा जोड दिने योजना रहेको बताउँछन्।

‘सामन्ती राजतन्त्रको अन्त्य गरी हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिसकेका छौं’, साहले भने, ‘उपेक्षित जाति, भाषा, क्षेत्र, लिंगको मुक्तिका साथै अब समृद्ध मुलुक र समृद्ध मधेस बनाउनका लागि हामी लाग्ने छौं। भ्रष्टाचारमा शुन्य सहनशीलता तथा सुशासनको प्रत्याभूतिसंगै विकासका आयोजनालाई अगाडि बढाउने योजना मेरो रहेको छ।’

समग्र बारा जिल्लाको विकासका लागि आफूसंग ठोस योजना रहेकाले आफू विजयी भएपछि त्यसलाई कार्यान्वयन गर्ने उनले बताए। युवा, बृद्धबृद्धा सबैको सहयोग आफूले पाइरहेको बताउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन्।

बदलिँदो समय अनुसार यहाँको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायतका क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउँदै उनले यहाँको विकासका लागि जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2022-10-18 15:45:00

प्रतिकृया दिनुहोस्