‘बाबुराम भट्टराई, जसले दुबै हातले एकै पटक लेख्न सक्छन्। उनले काठमाडाैँमा एउटा घरको यस्तो इन्जिनियरिङ गरेका छन् रे, जुन घरको हरेक कोठामा घाम पर्छ।’ मेरो स्कुले जीवन बाबुरामको बारेमा लगभग यस्तै कुराहरु सुनेर बितेको थियो। मलाई लाग्छ, म सङ्गै हुर्किएका अधिकाशंले बाबुरामको बारेमा यस्तै केही पक्कै सुनेको हुनु पर्दछ।
बाबुरामको बारेमा बच्चा बेलामा भनिने ती कुराहरु कति सत्य हो/हैन, आजसम्म थाहा छैन। मैले यसको बारेमा पछि कसैसँग सोध्ने चेष्टा पनि गरिनँ। मलाई उनको उबेला सुनाइने कुराहरुको बारेमा कुनै प्रश्न गर्नु पनि छैन। किनकि, त्योबेला बाबुराम एउटा नाम मात्र नभएर अधिकांश नेपालीको ‘आइडल’ थिए। जुन नामले स्कुले जीवनमा पढ्नुपर्छ भन्ने छुट्टै प्रेरणा दिन्थ्यो।
यतिमात्र हैन, म अलिकति जान्ने सुन्ने हुँदा नेपालमा गृहयुद्ध चलिरहेको थियो। माओवादीको नाउँमा चलेको त्यो युद्धप्रति यदि कोही सकारात्मक हुन्थ्यो भने त्यसका कारण थिए, बाबुराम भट्टराई। बाबुरामप्रतिको यो विश्वास किन थियो, मलाई थाहा छैन तर बाबुराम मेरा लागि सधैँ सम्माजनक नाम थियो। यो लेख बाबुरामप्रतिको मेरो व्यक्तिगत बुझाइ भएकाले पनि बाबुरामका पक्षमा मैले गरेका केही कुराहरु उल्लेख गर्नुपर्ने हुन्छ। जसले शीर्षकमा भए जस्तो बाबुरामप्रति म नकारात्मक मात्र छैन भन्ने कुरालाई पुष्टि गर्नेछ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ‘बाबुरामलाई काम गर्न देउ’ भन्ने अभियानको बारेमा कसैले सुन्नुभएको थियो भने त्यसको सुरूवात मसहित केही साथीहरुले गरेका थियौँ। ठाउँ-ठाउँमा ‘बाबुरामलाई काम गर्न देउ’ लेखिएको टिसर्ट लगाएर सचेतना फैलाउनेदेखि फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा बाबुरामलाई काम गर्न दिनुपर्ने भन्दै अभियान नै चलाएका थियौँ।
उबेला बाबुरामले देशमै बनेका सामानहरु प्रयोग गर्ने, काठमाडाैँलगायतका सहरहरुको सडक चौडा पार्नेलगायतका काम गरेर जनताको मन जित्ने प्रयास पनि गरेका थिए। तर वर्तमान समयमा बाबुराम अर्थमन्त्री र प्रधानमन्त्री हुँदाका केही काम/कुराहरु बिसर्ने हो भने बाबुराम सबैभन्दा बढी नकारात्मक टिप्पणी हुने नेतामा पर्दछन्।
उनले सार्वनजिक रुपमा दिएका अभिव्यक्ति, राजनैतिक अस्थिरता, बोलीको अपरिपक्वतालगायत विभिन्न कारणले उनी दिन प्रतिदिन बदानामी कमाउँदैछन्। तीमध्ये केही कारणको बारेमा चर्चा गर्ने प्रयास गरेको छु।
राजनैतिक अस्थिरता
नेकपा माओवादी केन्द्रको स्थापनाकालदेखि नै माओवादी आन्दोनलमा लागेका बाबुरामले शान्ति प्रकियापछि पार्टीभित्र ‘जसको नीति उसको नेतृत्व’ को अभियान चलाउने प्रयास गरे। वर्षौंसम्म प्रयास गरेपछि पनि प्रचण्डको अगाडि नेतृत्व पाउन असम्भव देखिएपछि अन्त्यमा आफ्नै नेतृत्वमा २०७२ सालमा नयाँ शक्ति पार्टी गठन गरे।
उनले त्योबेला दशबर्से जनयुद्धको निरन्तरताको अन्त्य गरेको मात्रै घोषणा गरेनन्। समग्र रूपले मार्क्सवाद, लेनिनवाद र माओवादलाई समेत परित्याग गरेको घोषणा गरे। साथै नेपालमा कम्युनिष्ट राजनीतिको आवश्यकता नभएको जनाउँदै समाजवादतिर जानुपर्ने भन्दै माओवादीलगायतका कम्युनिष्ट पार्टीहरुको खरो आलोचना पनि गरे।
तर उनको नयाँ शक्ति नेपाल धेरै वर्ष भने टिकेन। करिब ४ वर्षपछि मधेसमा केन्द्रित रहेको संघीय समाजवादी फोरमसँग एकता गरी संघीय समाजवादी नेपाल नामको नयाँ पार्टी दर्ता गरे। साथै नयाँ पार्टीको अध्यक्षता उपेन्द्र यादव र बाबुराम दुबैले गर्ने सहमती गरे। त्यपसछि संघीय समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बन्याे।
सुरुवाती दिनदेखि नै पार्टीभित्र खटपट भइरह्याे। पार्टीभित्र पद बाँडफाँटकाे विषयलाई लिएर भएको असमझदारी बाहिर छताछुल्ल भयो। अन्तसम्म आइपुग्दा जसपामा एक्लो भएका बाबुरामले केही महिनाअघि ‘नेपाल समाजवादी पार्टी’ नामको नयाँ दल दर्ता गरेर अलग भए। त्यसैले उनी राजनीतिक स्थिरता नभएका नेताका रुपमा चिनिन्छन्।
आफैँले भ्रष्टाचारको आरोप लगाएका व्यक्तिको प्रस्तावक
बाबुरामले केही समय अगाडि सार्वजनिक सभामा तथा विभिन्न मिडियाहरुसँगको अन्तर्वार्तामा बुढीगण्डकी आयोजनाको नाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका केही नेताले मिलेमतोमा नौ अर्ब रुपैयाँ कमिसन खाएको आरोप लगाएका थिए। उनले उक्त आरोप सत्य रहेको र यसको बारेमा छानबनि गर्न चुनौती दिएका थिए। साथै आरोप झुटो भए आफू जस्तोसुकै सजाय भोग्न पनि तयार रहेकाे अभिव्यक्ति दिएका थिए। तर स्वयंले भ्रष्टाचारको आरोप लगाएका प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्रमा सांसदको उम्मेदवार बनाएका छन्। अचम्मको कुरा त के छ भने बाबुराम भटट्टराई प्रचण्डको उम्मेदवारीको प्रस्तावक पनि हुन्।
अपरिपक्व अभिव्यक्ति
कुनैबेला नेपालमा कम्युनिष्ट राजनीतिको आवश्यकता सकिएको र अबको आवश्यकता समाजवाद रहेकाे भन्दै माओवादीबाट अलग भएका बाबुरामले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएका छन्। उम्मेदवारी दर्तादेखि नै प्रचण्डको आवश्कता औँल्याउँदै सार्वजनिक रुपमा अभिव्यत्ति पनि दिँदै आइरहेका छन्।
आफू अब सांसदको उम्मेदवार नबन्ने र एकपटक प्रधानमन्त्री भइसकेका व्यक्ति सांसदको उम्मेदवार नबन्न सुझाव दिएका बाबुरामले त्यसको दुई दिन पछाडि दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डको उम्मेदवारीको प्रस्तावक बने। यसले उनको उनी र उनको अभिव्यक्ति कति अपरिपक्व छ भन्ने प्रमाणित हुन्छ।
जातीय तथा पिछडिएका वर्गको सहभागिताको झुटो वकालत
बाबुरामले हरेक जस्तो सार्वजनिक समारोह तथा अन्तर्वार्ताहरुमा राजनीतिमा विभिन्न जात/जाति, भाषा, धर्म, पेशा, वर्गको सहभागिताको बारेमा बहस गर्ने गर्दछन्। सदियौँदेखि पहाडी खसआर्यहरुले अन्य जात/जातिलाई विभेद गरेको, सामाजिक कार्यहरुमा सहभागी नगराएको, आफूहरु मात्र उच्च पद ओगटेकाे जस्ता आरोपहरु लगाउने गर्दछन्।
तसर्थ विभेदमा परेका तथा पिछडिएका वर्गलाई नेतृत्वमा नल्याउँदासम्म विभेदको अत्य नहुने उनको भनाइ हुन्छ। तर यो विषयमा स्वयं आफू भने जवाफदेही देखिएनन्। २०६४ सालदेखि गोरखा क्षेत्र नं. २ को एकलौटी संघीय सांसद हुँदै मन्त्री, प्रधानमन्त्री भएका बाबुरामले आफ्नो ठाउँमा अरु ल्याउने बहस कहिल्यै गरेनन् तर अरुलाई भने प्रश्न गरिरहे।
उनको क्षेत्रबाट जनजाति वा पिछडिएका वर्गबाट कोहीलाई उनको पार्टीले उम्मेदवार बनाउने धेरैको अपेक्षा थियो। गोरखामा खसआर्यबाहेक अन्य जात/जाति भाषा/भाषीका उल्लेख्य जनसंख्या भएकोले पनि यस किसिमको आशा गरिएको थियो। तर त्यसको ठिकविपरीत प्रचण्डलाई समर्थन गरे। यसरी आफूपश्चात पनि खसआर्यलाई नै उम्मेवादर बनाएपछि उनको नैतिकतामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ।
राजनीतिमा परिवार र नातावादलाई प्रशय
बाबुराम राजनीतिमा परिवार र नातावादको कटु आलोचकका रुपमा चिन्निछन्। उबेला माओवादीबाट अलग हुने समयमा प्रचण्डले परिवार, नातावाद र कृपावादलाई प्रशय दिएको भन्दै आलोचना गर्ने गर्दथे। देशको राजनीतिले काँचुली फेर्न नसक्नु परिवारवाद मुख्य कारण बताउँदै आएका थिए।
तर आसन्न संघीय चुनावका लागि उनको पार्टी नेपाल समाजवादीको तर्फबाट आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडाैँ-७ को उम्मेदवार बनाएपछि उनीमाथि परिवारवादलाई निरन्तरता दिएको आरोप लागेको छ। अहिले सर्वसाधारणले उनले आफ्नी छोरीलाई काठमाडाैँमा चुनाव जिताउन प्रचण्डलाई गोरखामा आफ्नो क्षेत्रको उम्मेदवार बनाएको आरोप लगाउने गरेका छन्।
अन्तमा बाबुराम धेरैका आशाका केन्द्र भएकाले पनि उनीमाथि प्रश्न उठ्नु स्वाभाविक हो। पछिल्लो समय राजनीतिमा युवा तथा पढे-लेखेकाको सहभागितामा बढ्नुमा बाबुराम पनि एक कारक हुन् भन्दा गलत नहोला। तर पछिल्ला दिनमा बाबुरामको हराउँदै गएको अडिगता तथा बढ्दै गएको अपरिपक्व अभिव्यक्तिहरुले बाबुरामको नैतिकताप्रति गम्भीर प्रश्न चिन्ह खडा भएको छ। तसर्थ बाबुरामले समाजमा सकारात्मक सन्देश दिनका निम्ति पनि आफूले आफूलाई प्रश्न गर्ने दिन आएको छ। आशा छ बाबुरामले स्व-मूल्याङ्कन गर्नेछन्।