कार्यकर्तालाई शेखरले भने- शेरबहादुरजी र म मिलिसक्यौँ, वडामा तपाईंहरु तुष नराख्नुहोस् (भिडियाेसहित)

नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले शेरबहादुर देउवा र आफूबीच कुनै विवाद नभएको बताएका छन्। अधिवेशनको समयमा केही फरक मत राखे पनि अहिले देउवासँग कुनै विवाद नभएको कोइरालाले दावी गरेका छन्।

चुनावी अभियान अन्तरगत मोरङको सुन्दरहरैँचा ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले आफूहरुबीचको विवाद अन्त्य भएकाले कार्यकर्ताहरुलाई विवाद नगर्न आग्रह गरेका छन्।

‘हिजो स्थानीय तहको निर्वाचन र महाधिवेशनमा के भयो? अधिवेशन कांग्रेसभित्रको अधिवेशन हो,’ कोइरालाले भने, ‘त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस्, मैले त त्यागिसके भने तपाईंहरुले किन नत्यागेको?’

उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग आफ्नो निरन्तर संवाद भइरहेकाले वडातहमा झगडा नगर्न आग्रह गरे। अधिवेशन र स्थानीय तहका बेलाको आन्तरिक लडाइ समाप्त भइसकेको कोइरालाले बताए।

‘शेरबहादुरजी र म सँगै लडेको होइन, जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गरिरहनुभएको छ, मैले कुरा बुझ्न सकिरहेको छैन,’ कोइरालाले भने, ‘लडाइँ प्रतिस्पर्धा उहाँ र मेरो हो। अब त्यो लडाइँ समाप्त भइसक्यो। उहाँ र म एकै ठाउँमा उभिएका छौँ।’ देउवासँग पछिल्लो समय आफ्नो निरन्तर भेट भइरहेको र आफ्नो कुरा देउवाले मानिरहेको कोइरालाले बताए।

सबै समस्या हल भइसकेकाले उनले कार्यकर्ताहरुलाई तल्लो तहमा कुनै विवाद नराख्न सुझाएका छन्। ‘हामीबीचका सबै कुरा मिलिसकेको छ भने तपाईंहरु तल किन केका लागि लडिरहनुभएको छ, मैले बुझेको छैन,’ कोइरालाले भने।

प्रकाशित मिति: : 2022-10-17 14:29:00

प्रतिकृया दिनुहोस्