भारतका गौरव तिवारी पढाइमा सानैदेखि निकै तेज थिए। उनी सानै भएपनि नयाँ-नयाँ ठाउँको भ्रमण गर्न निकै रुचि राख्थे। त्यसैले उनले आफ्नो स्कुले शिक्षा पूरा गरेपछि पाइलट पढ्न सन् २००६ मा अमेरिका गए।
अमेरिका पुगेपछि उनी आफ्नो कलेज नजिकै कोठा भाडामा लिएर त्यहीँ बस्न थाले। तर एक हप्ता नबित्दै उनलाई त्याे कोठामा केही कुराको आभास हुन थाल्यो।
उनलाई कोही आफूसँगै सुतेको, पढेको र खेलेको महशुस हुन थाल्यो। केही दिन त उनले आफूलाई भ्रम भएको ठाने तर जब उनी कलेजबाट कोठमा आउँथे कसैले ‘वेलकम टु दि होम ’ भनेको आवाज सुन्थे।
केही समय त उनले त्याे आवाजलाई सहेर नै बिताए। तर अति भएपछि एकदिन समय निकालेर यसबारे छिमेकीसँग सोधपुछ गरे। त्यसपछि उनले थाहा पाए कि त्याे कोठामा कसैले आत्महत्या गरेका थिए।
सुरुमा त उनी डराए र कोठा नै परिवर्तन गर्ने सोच बनाए। तर उनले आफ्नो मन चाहिँ परिवर्तन गरे। पाइलट पढ्न अमेरिका गएका गौरवले पाइलटकाे पढाइ छाडेर भूत-प्रेतको बारेमा अध्ययन गर्ने निर्णय गरे।
उनले भूत, मुर्दा, नकारात्मक शक्ति, आत्मा आदिका विषयमा धेरै चासो राख्न थाले। के मुर्दा पनि बोल्न सक्छ, मुत्युपछि जीवन कस्तो हुन्छ? भूत कहाँ बस्छन्, के नकारात्मक शक्ति वास्तवमा नै हुन्छ? त्यसले मानिसलाई कस्तो असर पार्छ? भन्ने जस्ता विषयमा उनले अध्ययन र अनुसन्धान गर्न थाले। त्यसपछि उनी भूत-प्रेतसम्बन्धी पढाउने कलेजमा भर्ना भए।
जब उनले यसबारेमा आफ्नो बा-आमालाई भने, बा-आमाले उनलाई पढाइ छाडेर भारत फर्कन सुझाव दिए। तर उनले त्यसो गरेनन्, उनी आफूलाई त्यही विषयमा केन्द्रित गराए। करिब तीन वर्षसम्म उनी त्यही कोठामा बसेर अदृश्य शक्तिका बारेमा गहन अध्ययन र अनुसन्धान गरे।
उनी सन् २००९ मा आफ्नो अध्ययन सकेर भारत फर्किए। उनले त्यहाँ ‘सोसाइटी अफ इन्डिया’ नामक संस्था गठन गरे र भूतसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न थाले। जबकी भारतमा त्यतिबेला भूत-प्रेतको विषयले निकै महत्व पाउँथ्याे। टिभी च्यानलहरुले पनि यस्ता कयौँ कार्यक्रमहरु निर्माण र प्रसारण गर्दथे।
संस्था गठनपछि उनी आफ्नो टोलीसहित भारतका अनेकौँ भूताहा स्थानमा जान थाले। उनी आफूसँग भएका अनेकौँ आधुनिक उपकरण र क्यामेरा लिएर जाने गर्देथे। क्यामेराले रातको अँध्यारोमा फोटो तथा भिडियो खिच्न सक्थे। ती आधुनिक उपकरण जसको माध्यमबाट कानले सुन्न सक्थे। छोटो समयमा नै उनले भारतका धेरै जसो भूताहा स्थानको भ्रमण गरे।
भारतमा केही समय बिताएपछि उनी अष्ट्रेलिया गए। त्यहाँ गएर एक्लै मुर्दाघरमा रात बिताउने योजना बनाए। सयौँ लाश राखिएको एउटा अप्ठ्यारो मुर्दाघरमा उनले रात बिताउँदै थिए। त्यहाँ उनलाई हेर्नु थियो कि मानिस मरेपछि जीवन कस्तो हुन्छ? अर्थात् उनी लाशले कसरी रात बिताउँछन् हेर्न चाहन्थे। उनले त्यहाँ नडराइ रात बिताए। तर त्यहाँ उनले त्यस्तो केही पनि फेला पारेनन्। गौरवले आफूसँग लगेका उपकरण पनि त्यस्तो केही भएको पाएनन्।
त्यसपछि उनी अष्ट्रेलियाको सबैभन्दा ठुलाे भूताहा बंगालाको नामले प्रसिद्द ‘अल गिलिङ जेल’ मा गए। जुन स्थानमा धेरै प्रकारका रहस्यमय शक्तिको बास छ भनेर विश्वभर चर्चित छ। त्यहाँ पनि उनले खुल्ला आँखाले केही पनि देखेनन्। तर आफूले लिएर गएकाे क्यामेरामा रहेका भिडियो र फोटोहरु देखेर गौरव दङ्ग परे।
क्यामेरामा हाम्रो नर्मल आँखाले देख्नेभन्दा रातो रङको प्रकाश रेकर्ड भएका थिए। तर खुल्ला आँखाले उनले त्यस्तो केही पनि देखेका भने थिएनन्।त्यतिमात्र होइन भिडियोमा यस्ता दुईवटा छायाँहरु देखे, जसमा फोटो खिच्न पोज दिइरहेको जस्तो देखिन्थे।
त्यसपछि पनि उनले संसारभरका ६ हजारभन्दा बढी भूताहा स्थानको भ्रमण गरेर त्यसका बारेमा अध्ययन र अनुसन्धान गर्न थाले। यस मिसन पूरा गरेर गौरव पुन: भारत फर्किए। उनले फेरि भारतका धेरै टेलिभिजनमा काम सुरू गरे र भूत तथा नकारात्मक उर्जाको बारेमा बोल्न थाले।
सन् २०१६ मा उनी दिल्लीको जनकपुरीको एक भूताहा स्थान मानिने ठाउँमा भ्रमण गरेर आफ्नो घर फर्के। उक्त भ्रमणबाट राति ढिला घर फर्केकाले उनी बिहान ढिलासम्म सुते। जब उनी उठेर नुहाउन बाथरुममा गए, तब उनी एक्कासी ढले। उनी ढलेको थाहा पाउनासाथ उनको परिवारले ढोका फुटाएर ढोका खोले तर उनको मृत्यु भइसकेको थियो।
मृत्युपछि उनको पोष्टमार्टम गरियो तर रिर्पोट आउँदा उनको मृत्यु स्वाभाविक मानियो। उनकाे घाँटीको आधा भागसम्म कालो निशान हुँदा नकारात्मक शक्तिका कारण मृत्यु भएकाे अनुमान गरियाे तर त्यसबारेमा डाक्टरहरुले केही पनि पत्ता लगाउन सकेनन्।
गौरवको यस प्रकारको मृत्युले धेरैमा प्रश्न उठायो कि उसको घाँटीमा भएको कालो निशान के हो? न त गौरवलाई कसैले मारेको थियो, न गौरवले आत्महत्या नै गरेका थिए।