कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध : निजी  एयरलाइन्स मात्रै हुँदा सबैले सेवा पाउन मस्किल

तस्बिरहरु: धनराज सुनार, मंगल शाही र माधव चाैलागाईकाे फेसबुकबाट

दसैंकाे खुसी आफन्तजनसँग साँट्न नपाउँदै दु:ख सुरु भयाे। साविककाे कर्णालीमा बाढी मात्रै आएन दु:खकाे बाढी नै आयाे। दसैं राम्रोसँग मनाउन नपाएकाहरु कर्मथलो समेत फर्किन पाएका छैनन्।

दैलेख, कालीकोट र जुम्ला खण्डको दर्जनौं स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध छ। हवाई सेवा भएका जुम्ला, हुम्ला र डोल्पामा नियमित उडान भएको छैन।

दसैँ सकेर कर्मथलो फर्केनेहरू पैदलयात्रा गर्दै कालिकोटको डिल्लीकोट हुँदै महावु लेक काटेर दैलेख सुर्खेतसम्म पुग्नुपर्ने भए पनि पहिरोले समस्या थपेको छ।

यस्तै समस्यामा परेका मध्ये एक हुन, तातोपानी- ४ गिडीखाेलाका हंश बहादुर नेपाली। दुई वर्षकाे सानाे छाेरा र श्रीमतीसहित दसैं अगाडि घर भेट्न आएका उनी हवाई टिकट नपाएर मारमा परेका छन्। निजी बैंकमा काम गर्ने उनलाई अफिसबाट ठुलाे दबाब आएकाे छ।

'धेरै ढिलाे भइसक्यो। जागिर धरापमा छ। अफिसले फाेन गरेकाे गर्यै छ,' उनले भने, 'सानाे बच्चा बाेकेर हिँड्न असहज भयाे। गाडी चल्दैन। प्लेनकाे टिकट पाउन मुस्किल छ।'

७६ वर्षीया विजय माबुहाङ्ग १८ दिन अघि काठमाण्डाैंबाटा रारा हेर्ने भनी हिँडेका थिए। दसैंकाे दिन रारा पुगेका उनले कर्णालीकाे सुन्दरता जीवनकाे उत्तरार्धमा हेर्ने ठुलाे माैका जुरेकाे महसुस गरे। तर, जब त्यही दिनबाट ठुलो वर्षात भयाे त्यसपछि उनकाे नैरास्यता सुरु भयाे।

घर फर्किने भनेरे हिँडेका उनी चार दिन कालिकोट जिल्लाकाे नग्मगाडमा राेकिए। बाटाे कुनै पनि हालतमा तत्काल खुल्ने सम्भावना नदेखिएपछि हिडेर जुम्ला सदरमुकाम आएका उनकाे औषधि सकियाे।

मुटु, प्रेसर र सुगरकाे औषधि नियमित खाने उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। तर उनकाे सबै औषधि भेटिएन।

'राेबस्टिङ १० नाम गरेकाे औषधि भेटिएन। राेबास १० मात्रै भेटियो। नियमित खाने औषधि नभएर समस्या भयाे,' निराश हुँदै उनले भने, 'हामीले टिकट पाउन साह्रै मुस्किल भयाे। घर फर्किनलाई अरु कुनै उपाय छैन।'

छ जनाकाे परिवारसहित रारा पुगेका उनले आजभोलि उराठ लाग्ने गरेकाे बताए। उनीजस्ता थुप्रै विरामी, कर्मथलाे पुग्नुपर्ने कर्मचारी, परीक्षा दिनुपर्ने विद्यार्थीहरु मारमा परेका छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार कर्णाली राजमार्गको रारालिही सडकखण्ड र नाग्म गमगढी सडकखण्डमा हिमा, सिँजा र कनकासुन्दरी सडकखण्डमा पहिरो गएको छ।

'पहिरो गएको सबै ठाउँमा असोज २६ गतेदेखि पन्छाउने काम भइरहेको छ,' उनले भने, 'जुम्ला खण्ड पूर्ण रूपमा खुलाउनका लागि अझै दुई–चार दिन लाग्ने जस्ताे छ।'

कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार मान्मदेखि पिली हुँदै जुम्लातर्फको सडक खुले पनि पिलीदेखि जुम्लातर्फ नाग्मसम्म खुलेको छैन।

उनले भने,'कालीकोटको मुकाम मान्म बजारदेखि सेरीघारखण्ड खुलेको छ। सेरीघाटमा ठुलो पहिरो गएकाले बाँकी खण्ड खुलाउन कठिन भएको छ। कालीकोट सडकखण्ड पूर्ण रूपमा खुलाउन अझै केही दिन लाग्ने जस्ताे छ।'

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार दैलेख सडकखण्ड खुलेको छ।

उनले भने,'दैलेखको गुराँसे हुँदै मध्यपहाडी लोकमार्ग भएर कर्णाली राजमार्गको राकम कर्णालीमा जोडिएको छ। दैलेखमा आवागमन सहज भएको छ। तर, तल्लो कर्णाली राजमार्गको दैलेख सडकखण्ड खुलेको छैन।'

सडक, संचार, विद्युतलगायतका आधारभूत संरचनाहरु प्रभावित छन्। सडक सूचारु हुने एकिन छैन। माथिल्लो कर्णाली भेकको लागि हाललाई हवाई यातायात एउटा मात्रै विकल्प रहेको छ।

तर, यसमा सरकारको उदासीनता हेर्दा  केन्द्रले दुर्गम वा सूदुरलाई हेप्ने प्रवृति कायमै रहेको आभास भएकाे दसैं लगत्तै जान खाेजेर पनि नपाएका तातोपानी- ५ लाम्राका यात्रु माधव चाैलागाईले बताए।

'यत्रो समस्यामा न नेपाल वायुसेवाले सेवा दिन्छ न नेपाली सेनाका वायुयानहरुले राहत उद्धार गरेका छन्,' उनले भने, 'पाँचदिन देखि यहाँका पार्टी, प्रतिनिधि, प्रशासन र नीजि वायुसेवाका स्थानीय प्रतिनिधि जहाजको फ्लाईट थप्ने कसरतमा छन् तर सम्भव भएको छैन।'

यतायात नियमित नहुँदा  इन्धन पाइन छाेडेकाे छ। खाद्यान्न अभाव हुने सम्भावना बढ्दैछ। महंगी बढ्ने सम्भावना बढेकाे छ। विभिन्न पार्टीका साना ठुला नेताकाे आश्वासन बाहेक अरु केही हुन नसकेको यात्रुहरुकाे गुनासाे छ।

प्रकाशित मिति: : 2022-10-15 06:52:00

प्रतिकृया दिनुहोस्