आङ सान सुकीलाई थप सजाय, कूल २६ वर्ष जेल

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारको एउटा अदालतले नेतृ आङ सान सुकीलाई थप काराबास सजाय सुनाएको छ। उनलाई अर्को भ्रष्टाचारको मुद्दामा उक्त सजाय सुनाइएको हो।

झण्डै दुई वर्षदेखि सैनिक शासन लागु भएको म्यान्मारमा सुकीलगायत अधिकांश राजनीतिक दलका नेता तथा कार्यकर्तालाई जेल र नजरबन्दमा राखिएको छ। पछिल्लो आदेशसमेत जोडिएपछि ७७ वर्षे नेतृमाथि २६ वर्षको काराबास सजाय भएको छ।

सन् २०२१ को फेब्रुअरी १ तारिखका दिनदेखि सेनाले म्यान्मारको निर्वाचित सरकार अपदस्थ गरेर सत्ता आफ्नो हातमा लिएको छ। सोही बेलादेखि उनीमाथि विभिन्न भ्रष्टाचारको आरोप लगाइएको हो।

सुकीले साढे पाँच लाख अमेरिकी डलर लागुऔषध तस्कर तथा टाइकुन मुआङसँग लिएको गम्भीर आरोप पनि लगाइएको छ। तर उनले ती सबै आरोप अस्वीकार गर्दै आएकी छन्।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सुकीविरुद्ध एक दर्जन भ्रष्टाचारको मुद्दा लगाइएको छ। उनलाई यसअघि नै विभिन्न आरोपमा २३ वर्षको कारावास सजाय सुनाइएको छ।

त्यहाँबाट प्राप्त समाचारमा सुकीविरुद्ध देशद्रोह, चुनावमा धोखाधडी, कोभिड प्रोटोकलको उल्लंघनलगायत आरोप लगाइएको छ।

प्रकाशित मिति: : 2022-10-13 06:44:00

प्रतिकृया दिनुहोस्