झापामा एक क्षेत्र लिएर एमालेसँग चुनावी तालमेल गर्दै राप्रपा

file photo
file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा यी दुई पार्टीबीच चुनावी तालमेल हुने भएको छ।

५ संघीय र १० प्रदेश निर्वाचन क्षेत्र रहेको झापामा राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार संघीय र ८ प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको हो।

झापाको क्षेत्र नम्बर ३ एमालेले राप्रपालाई छाड्न लागेको एमाले स्रोतले बताएको छ। सो क्षेत्रमा निवर्तमान संसद राजेन्द्र लिङ्देन उम्मेदवार बन्दै छन्।

बाँकी रहेका चार निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाइसकेको छ। एमाले स्रोतका अनुसार झापा १ मा अग्नी खरेल उम्मेदवार बन्दै छन्। सो क्षेत्रबाट सिफारिस भएका संविधान सभा सदस्य रविन कोइराला प्रदेशमा उठ्ने भएका छन्। झापा क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद साँवा, २ मा देवराज घिमिरेको उम्मेदवारी रहनेछ।

१० प्रदेश निर्वाचन क्षेत्र रहेको झापामा एमालेले ८ र राप्रपाले २ क्षेत्रमा उम्मेदवारी दिने भएका छन्। क्षेत्र नम्बर ५ का दुई वटै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । ५ (क) बाट स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र (ख) मा होमबहादुर थापा उम्मेदवार बनेका छन्।

४ (क) मा एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्दै छन्। ४ (ख) राप्रपाले पाउने भएको छ । क्षेत्र नं ३ का दुवै क्षेत्रमा एमालेले लिएको छ। ३ (क) मा वषन्त बानिँया र (ख) मा हरी राजवंशी उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नं २ मा चिन्तन पाठक र एकराज कार्की उम्मेदवार बन्दै छन्।

यस्तै क्षेत्र नम्बर १ को एकएक क्षेत्र एमाले र राप्रपाले लिने भएका छन्। एमलेले एक क्षेत्रबाट रविन कोइरालालाई उम्मेद्वार बनाउने तयारी गरेको छ राप्रपाले भने उम्मेदवार कसलाई बनाउने बारे टुंगो लगाएको छैन्।

प्रकाशित मिति: : 2022-10-07 15:32:00

प्रतिकृया दिनुहोस्