दुबईमा इमारतिले समेत लगाए दसैँको टीका

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा स्थानीय नागरिकले समेत बडा दसैँको टीका लगाएर नेपालीहरुको महान पर्व बडा दसैँप्रति सम्मान तथा शुभकामना व्यक्त गरेका छन्।

दुबईको बरदूबईमा रहेको फस्ट भ्यु डकुमेन्ट सर्भिस सेन्टरले दसैँको दिन (बुधबार) आयोजना गरेको दसैँ टीका विशेष कार्यक्रममा उपस्थित भएका इमारती नासर मुर्ताधा बकरले दसैँको टीका लगाएर नेपालीहरुको महान पर्व बडा दसैँको सम्मान तथा शुभकामना ब्यक्त गरेका हुन्।

फर्स्ट भ्यु डकुमेन्ट सर्भिसका स्थानीय स्पोन्सर समेत रहेका बकरले नेपालीहरुको यो पर्व आफूलाई अत्यन्तै मनपर्ने र नेपाली- इमारती बिचको सुमधुर सम्बन्ध र सम्मानका  कारण आफूले टीका थापेको तथा अन्य नेपालीलाई समेत लगाइदिएको बताएका छन्।

खास गरी टीका तथा जमरा आफूले कहिले पनि नलगाएको र नेपालीहरुको बिशेष दिन बडा दसैँ रहेको हुनाले आफू पनि सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बकरले बताए।

यता फस्ट भ्युका संचालक मदन अधिकारीले यसरी इमारतिले समेत नेपालीको दसैँमा सहभागी भएर टीका लगाई दिँदा आफ्नो चाडबाडप्रति इमारतिले देखाएको उच्चसम्मानप्रति खुसी व्यक्त गरेका छन। बिगत १७ वर्षदेखि दुबईमा कामदार हुदै व्यवसायी बनेका अधिकारीले पहिलो पल्ट यो अनुभव लिन पाएको बताए।

इमारतिले सेतो कन्दुरामा रातो टीका र पहेंलो जमरा लगाएको फोटो फस्टभ्युबरदुवई नामक टिकटकमा हाले लगतै अहिले भाइरल बनिरहेको छ भने नेपाली टिकटक प्रयोगकर्ताले इमारतिले देखाएको सम्मानप्रति गर्व महसुश गरेको प्रतिक्रिया दिएका छन्।

फस्ट भ्यु डकुमेन्ट सर्भिसले बिगत २ वर्षदेखि डकुमेन्ट क्लियरेन्स, भिजा टिकट, पासपोर्ट नविकरण, अनलाइन श्रम नविकरण, विजनेश सेट अप लगायतका सेवा दिँदै आइरहेको छ।

प्रकाशित मिति: : 2022-10-07 14:48:00

प्रतिकृया दिनुहोस्