ओली–उपेन्द्र सहमति नजिक, चुनावी तालमेलकाे तयारी अन्तिम चरणमा

नेकपा (एमाले) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल हुने सम्भावना नजिक पुगेको छ। स्रोतकाअनुसार अहिले सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूबीच संवाद भइरहेको छ।

पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टी एमालेसँग नजिक भइरहेको छ। एमालेले उपेन्द्र यादव नेतृत्वको जसपालाई मधेस प्रदेशमा एक्लै सरकार बनाउन सक्ने सिट दिने तयारी रहेकाे अध्यक्ष ओलीनिकट एक पदाधिकारी बताउँछन्।

‘अध्यक्ष ओली र उपेन्द्र यादवबीच हिजाे अबेरसम्म लामाे छलफल भयाे। अहिले बिहानै दाेस्राे तहका नेताहरू अन्तरसंवादमा जुट्नुभएकाे छ। तालमेल गर्ने कुरा सकारात्मक ढंगले अघि बढेको छ। सम्भवतः दुबै पार्टीबीच सहमति हुन्छ,’ महासचिव शंकर पाेखरेलनिकट एक पाेलिटव्यूराे सदस्यले भने।

ओली निवास बालकाेटमा अध्यक्ष ओलीसहित उपमहासचिव प्रदीप ज्ञवाली, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र महेश बस्नेत तथा जसपा अध्यक्ष यादव, सघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठलगायतको टोलीबीच रातिसम्मै छलफल भएको थियो।

मधेसलाई ‘टार्गेट’ गरेर चुनावी अभियान चलाइरहेको एमाले प्रतिनिधिसभातर्फ देशभर २५ सिट जसपालाई छोड्न राजी भएको छलफलमा सहभागी एक नेता बताउँछन्।

प्रकाशित मिति: : 2022-10-07 09:11:00

प्रतिकृया दिनुहोस्