दसैँ सँघारमै आइपुगेको छ । अधिकांश मान्छे पर्वको उत्साह बोकेर गाउँ फर्किसकेका छन् । म पनि ग्रामीण परिवेशमै जन्मिएँ । अधिकांश दसैँ गाउँले परिवेशमै मनाएँ । गाउँमा जब दसैँ आउँथ्यो, लिंगेपिङ, रोटेपिङ हालिन्थ्यो । पिङ देख्दा मात्र पनि खुसी लाग्थ्यो । दसैँको विशेषता नै यही हो जस्तो लाग्थ्यो । तर, अहिले लिंगेपिङ, रोटेपिङ देख्नै मुस्किल भइसक्यो ।
जतिवेला गाउँघरमा दसैँ मनाइन्थ्यो, त्यहाँ कुनै पक्ष–विपक्ष सुनिँदैनथ्यो । सबैले सामूहिक पर्वका रूपमा मनाउँथे । समयक्रमसँगै मान्छेमा विभिन्न विचार आए । सीमित जाति वा समुदायले मात्रै मनाउनुपर्छ भन्ने तर्क गर्न थाले । तर, अहिलेको विश्वमा सबै संस्कारलाई सम्मान गर्ने र सबै पर्वलाई आफ्नै पर्वका रूपमा मनाउने ग्लोबल कल्चर छ । हाम्रोमा भने त्यो इस्यु झनझन् साँघुरिँदै गइरहेको महसुस हुन्छ । पहिलेका सबै जातजाति मिलेर सँगै चाडपर्व मनाउने मान्छेहरू महान् थिए जस्तो लाग्छ । भलै उनीहरू शिक्षामा पछाडि थिए, तर सभ्यतामा अगाडि थिए ।