मेला भन्ने बित्तिकै प्रफुल्ल हुने यो मन बाल्यकालदेखि नै मेलाको आनन्दमा निमग्न हुुनुको भाव ग्रहणमा अभ्यस्त थियो। त्यो बेला ‘मेला’ शब्दसँग जम्माजम्मी चार कुराले मात्र सरोकार राख्दथे मनमा। नयाँ वर्ष चनकट्टे बिसौँको मेला, निरौली दशैंको मेला, दुत्यको मेला र शिवरात्री मेला। यसमा पनि निरौली दशैंको मेला धेरै वर्षसम्म सुन्न मात्र पाइयो हेर्न पाइएन। कारण थियो, मेला स्थान घरबाट टाढा हुनु।
दशैं आउँदा मन निकै चञ्चल हुन्छ। रहर पुरानै लाग्छन्, मनमा पुरानै रहरको साम्रज्य छ। उहिले दशैं हाम्रो लागि एउटै उत्सव हुँदैन थ्यो। यसभित्र धेरै रहर जोडिएका हुन्थे। स्कुल छुट्टीको उत्सव, नयाँ कपडा पाउनुको उत्सव, वर्षदिनपछि घरमा मासु पाक्नुको उत्सव, पढ्नु नपर्ने खेल्न मात्र पाइनुको उत्सव, गाई चराउँदै काँक्रा चोर्नुको अवसर, आदि इत्यादि। अलिकति ठुलो भएपछि नयाँ रहर थपियोः निरौली दशैं मेलामा जाने।
दशैंमा अझै पनि गाउँघर निकै सिँगारिन्छ। घर लिपिन्छ, कमेरो माटो र रातो माटोले। मेरी आमाजस्तै घर लिप्ने भए भने घरभन्दा बढी लुगाकपडा लिपिन्छन्, डुरा, भकारी र भाँडाकुँडाहरू लिपिन्छन्। पहिले त रेडियो, टुक्की, लालटिन आदि पनि लिपिन्थे अचेल यिनको स्थान अरूले नै लियो। जे होस् आमाको हतारले टेबुलका किताबदेखि झुलका काँक्रासम्मले लिपिने अवसर पाएकै छन्।
दशैंकै समय छोपेर पाक्ने खेतको धानले आमाबुवाका योजना खेत केन्द्रित हुने भए पनि दौतरीहरूको योजना बन्थ्यो ढाइतीन घण्टा हिँडेर भए पनि निरौली दशैं जाने। जोरायलबाट जब हामी पुग्थ्यौँ घोडापुछको डाँडामा तब सुनिन्थ्यो पञ्चेबाजाको रन्को अनि हामी हतारिदैँ पुग्थ्यौँ दशैं मेलामा। सबैभन्दा बढी रहर हुन्थ्यो राँगो हेर्ने। निरौली दशैंको राँगो भन्ने बित्तिकै अतर (चरेस) को प्रसङ्ग आउँथ्यो। अतर (चरेस) खाएको राँगो खुब उफ्रिन्छ भन्ने कारणले नै होला राँगालाई अतर खुवाइन्छ।
जब हामी एक दुई बजेतिर पुग्थ्यौँ मेलामा त्यति बेलासम्म मेला परिसर निकै रङ्गी सकेको हुन्थ्यो रहडीहरूको भेलाले। कतिपयको परम्परागत धार्मिक कर्तव्य हुन्छ, भगवती पुजनमा। उक्त कार्यको लागि पुग्नै पर्यो।
कतिपयको मनमा भगवती र निरौली भागेश्वरप्रति आस्था र विश्वास हुन्छ उनीहरूलाई अन्य कुनै रहरले तान्नु परेन। खासमा मेला यिनै भक्तहरूको जम्घट हो र रहर भनेकै भक्तिभाव र समर्पण हुन्। त्यसबाहेक अन्य रहर बोकेर मेलामा पुग्नेको सङ्ख्यामा नि कमी आउँदैन। मेलाको उद्देश्य निर्धारणमा उमेरगत प्रभावहरू पनि ज्यादा पर्दछन् नै।
उमेरकै कारण मानिसका इच्छा आकाङ्क्षा, स्वभाव, र प्रवृत्तिहरू पनि आआफ्नै तरिकाले व्यवहारमा झल्किन्छन् सायद। कसैको रहर पुराना याद र रहरहरू सम्झिनु छ, त्यसैका लागि भए पनि पुग्छन् निरौली दशैंमा। कसैको रहर पञ्चेबाजाको तालमा खुकुरी नचाउँदै चौलो खेल्नु छ। कसैको उद्देश्य निरौली राँगामाथि प्रहार गर्नु छ लठ्ठी र दानवलाई प्रहार गरेको सम्झी आनन्द निम्त्याउनु छ। कसैको उद्देश्य व्यापार छ। कसैको रहर मेलामा घुम्नु मात्रै छ। कोही प्रेमप्रणयले भरिपूर्ण छन् र मौकाको चौका सम्झिन्छन् मेलालाई। कसैको उद्देश्य झगडा छ, प्रतिशोध साँध्नु छ। अचेल केही रहर नयाँ थपिएका छन्: फोटाका, भिडियोका, फेसबुकका, टिकटकका, युबट्युबका।
सानो उमेरमा हाम्रो मेलाको लक्ष्य सिठ्ठी बजाउनु, बेलुन उडाउनु, विशेषतः गुलियो परिकार खानु आदि थिए। मेलाको पूरै परिदृश्य देखिने भ्यु टावर हुन्थे बुवाका काँध, घुम्ने बेलामा समातिएका हुन्थे दाइदिदीका हात। रहरमा समय र उमेरगत परिपक्वताको प्रभाव परी नै रह्यो र परी नै रहने छ। यति मात्र नभई मेलाअनुसार पनि मनोभावहरू उब्जिन्छन्। कुनै मेला भक्त र भक्तिका लागि, कुनै मेला जुवाडी र जुवातासका लागि, कुनै मेला व्यापारी र व्यापारका लागि, कुनै मेला प्रेमप्रणयका लागि अनकूल हुन्छन् जे होस् मेलामा यी सबैको समिश्रण कहीँ न कहीँ कमबढी मात्रामा पाइन्छ नै। मेलामा सांस्कृतिक संस्कारका स्वाभाविक रङ्गहरू मात्र देखिँदैनन् धेरै कुराको भेला हो मेला। यिनै रहरको मिश्रित उपस्थिति हो, निरौली दशैं।
दशैंमा विभिन्न ठाउँमा राँगाको बली दिने परम्परा रहेको पाइन्छ। निरौली दशैंमा पनि त्यो परम्परा रहेको छ। निरौली दशैंमा केही मौलिक परम्परा छ सायद। बाबियोको मोटो लडो (डोरी) ले बाँधिएको राँगोलाई परम्परागत तरिकाले पूजा गरी पञ्चेबाजासँगै भगवती माणौँमा घुमाउने गरिन्छ। यसमा पनि पाँच फन्का घुमाउनेमा दुई फन्का राँगो नलगी चौलो खेल्दै र तीन फन्का राँगोसँगै भोस्सी खेल्दै अघि बढ्दछ। भिडले, होहल्लाले, भिडको पिटाइले जब लडो चुडाउने गरी राँगो उफ्रिन थाल्दछ तब राँगोमा भगवती चढ्यो भन्ने भनाइ सुनिन्छ मेलामा। पञ्चेबाजासँगै खेलिने भोस्सो र चौलोको रौनक पनि कम्ता आनन्दित हुँदैन–
ए, राम्भणा राठौ: भो शिव भोस्सी
ए, सुपरभणा राठौ: भो शिव भोस्सी
ए, बिषभण राठौ: भो शिव भोस्सी
ए, कालभणा राठौ: भो शिव भोस्सी
ए, चारै राठौ: भो शिव भोस्सी
ए, तमरो भुवो: भो शिव भोस्सी
ए, काँहा उबज्यो: भो शिव भोस्सी
ए, डिल्ली अगार: भो शिव भोस्सी
यसरी नै विभिन्न स्थान र देवताका नामको सम्बोधनसँगै खेलिने भोस्सीले मेलाका सबैको ध्यान आफूतिर आकृष्ट गर्दछ नै। जब परम्पराअनुसार भोस्सो र चौलो सिध्दिन्छ त्यसपश्चात राँगाको पूजा र बलीका लागि तयारी गरिन्छ। निरौलीको मूल मन्दिरमा जम्मा हुन्छन्, आआफ्नो विभागीय कर्तव्य निर्वाहमा, धामी, भणारी, पुजारी आदि। पूजापश्चात राँगोमा घाउ लगाइन्छ, जसलाई परम्परागत भाषामा ‘घा छुने’ भनिन्छ। घा छाएपछि तोलिगडा ओलिन्छ। त्यससँगै उद्घोष हुन्छ, “तोलिगडा ओल, पछि नैभन्यो भनौला।” राँगोसँगै तछाडमछाड गर्दै उफ्रिँदै दौडिन्छन् मेलाका सहभागीहरू। यतिबेला राँगामाथिको निर्मम प्रहारको दयनीय अवस्था देखिन्छ, यद्यपि प्रायःलाई दयाभन्दा पनि महानताको महसुस हुन्छ, सायद हान्नेमा पनि र हेर्नेमा पनि। यो परम्परागत मान्यताको मनोविज्ञान हुनुपर्छ। लखेटी लखेटी प्रहारले अद्मरो भएको राँगो तोलिगडा पुगेपछि लडो फुकालिन्छ। कहिलै पीडाले रन्थनिएको राँगो खुकुरीको प्रहारले त्यतै ढल्दछ त कहिलै पुग्दछ गडसेरा चौकी गाडसम्म।
यसरी दानवको प्रतीक मानेर मारिएको राँगोको टाउको ल्याई तोलिगडामा गिरी खेलिन्छ। परम्पराअनुसार निरौलीका चार राठको विशेष सहभागिता रहन्छ। मेला रातभरि लाग्दछ। राति डेउडा खेलिन्छ। यिनै रहर र संस्कृतिहरू पाइन्छन् निरौली दशैं मेलामा। मेला वैयक्तिगत रहरको विषय मात्र नभई सामाजिक, सांस्कृतिक महत्त्वलाई बोध गराउने सामाजिक सङ्गठन पनि हो।
मेलाको यात्रा कति उत्साहजनक हुन्छ, कति भक्तिपूर्ण हुन्छ, कति आनन्दले सिँगारिएको हुन्छ, कति स्वतन्त्र हुन्छ, कति सभ्य हुन्छ कति उत्छृङ्खल हुन्छ अनि कति रसमय हुन्छ भन्ने कुरा मेलाका यात्रीले मात्रै वास्तविक अनुभूत गर्नसक्लान्। मेलाको सौन्दर्यलाई प्रेम गर्ने हरेक मन मस्तिष्कमा मेलाको गहिरो छाप परेकै हुन्छ। मेलाले परिवारका सबै सदस्यमा एकै प्रकारको खुसीको आभास मात्रै गराउँदैन मेला खर्चले निम्त्याउने परिणामको पूर्वाभास गराई जिम्मेबारीको बोध पनि गराउँछ। रहरहरू पनि उमेरगत प्रवाहमा प्रवाहित भइरहन्छन्। मेला रौनकका बाछिटाहरूले मेलाका दिन मात्रै होइन अघिपछि पनि निकै प्रभावित पार्छन्, जीवनका भित्ताहरूलाई। त्यसैले त बालदेखि वृद्धका मुख र मस्तिष्कमा अटाउँछ मेलाको सुगन्ध।
मासको गारोले बनाइएको प्रचीन निरौली दरबार