जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाे छ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। साेमबार जुम्लामा एक कार्यक्रमका गरि ओैपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गरेका हुन।

कार्यालय उद्घाटन गर्दै प्रमुख आचार्यले भने, 'जनतामाझ चुनाव आयाे भनेर खबर प्रवाह भइसकेकाे छ। राजनीतिक दल सजक भएकाे खण्डमा मतदाता शिक्षित हुन्छन्। निर्वाचन प्रजातन्त्रको आधार स्तम्भ हाे।' निर्वाचन आउन ४८ दिन मात्रै बाँकी रहेकाे अवस्था मनोनयन दर्ता गर्ने समय नजिकिएकाे बेला जिल्ला अदालतका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख अविनन्द चौलागाईले बताए।

मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिश विष्णुप्रसाद गौतम रहेका छन्। उनी तालीमको सिलसिलामा जिल्ला बाहिर भएको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्रदेशसभा (क) र (ख) पनि हेर्ने जिम्मेवारी तोकिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा हुने संभावना भएकाले सुरक्षमा विशेष ध्यान दिन सुझाव दिए।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गराउनु सबै राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका हुने भएकाले तयार रहेकाे प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए। 'एकिकृत सुरक्षा योजना निर्माण गरि सोहि आधारमा निर्वाचनको बेला शान्ति सुरक्षा कायम गरिनेछ,' उनले भने, 'ट्रेड युनियनमा आवद्ध भई सक्रिय रुपमा राजनीतिमा लागि परेका निजामति कर्मचारीलाई निर्वाचन प्रक्रियामा सहभागि नगराउने विषयमा साेचेका छाैं।'

उनका अनुसार असोज १२ गते रातिबाट निर्वाचन आचार संहिता लागु भइसकेको छ। मनोनयन दर्ता हुने २३ गतेका दिन उम्मेदवारको नामावली समेत प्रकाशन गरिनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहने नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले बताए। 'निजामति कर्मचारी र सुरक्षा निकायले निर्वाचनको बेला सहजिकरण गर्ने काम भएकाले निर्वाचन गराउने प्रमुख भुमिका राजनीतिक दलहरुको हुनेछ,' उनले भने।

नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले मतदान अधिकृतबाट निर्वाचनमा गलत काम हुने भएकाले सचेत हुनु पर्ने बताए। 'गणतन्त्र र लोकतन्त्र रक्षाको लागि निर्वाचन महत्वपूर्ण छ,' उनले भने, 'आउने निर्वाचनले गणतन्त्र र लाेकतन्त्रलाई स्थापित गर्नेछ।' उनका अनुसार गणतन्त्र स्थापना पछि दोस्रो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ऐतिहासिक छ। निर्वाचनका लागि चाहिने सामग्री जुम्लाका व्यापारीबाट पनि खरिद गरिनुपर्ने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए।

उनले भने, 'सबै सामग्री बाहिरबाट आउँदा हामी व्यापारी मर्कामा पर्ने सम्भावना हुन्छ।' जुम्लामा ६९ हजार ८ सय २८ जना मतदाता रहेका छन्। जसमध्ये महिला ३३ हजार ५ सय ४ र पुरुष ३६ हजार ३ सय २३ जना रहेको निर्वाचन कार्यालय निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाईले बताए।

उनका अनुसार प्रदेशसभा (क) मा ३७ हजार ५ सय ३४ जना मतदाता रहेका छन्। जसमा महिला १८ हजार २ सय ४९ र पुरुष १९ हजार २ सय ९४ जना रहेका छन् भने प्रदेशसभा (ख) मा ३२ हजार २ सय ८५ जना मतदाता मध्ये १७ हजार ३० जना पुरुष र १५ हजार २ सय ५५ जना महिला छन्।

प्रकाशित मिति: : 2022-10-03 16:59:00

प्रतिकृया दिनुहोस्