विश्वका १९४ देशमा अपराध गरेर विदेशमा फरार अपराधी र ठगहरुको सूची राख्ने तथा खोजी गर्ने इन्टरपोलको सूचीमा नेपालमा सबैभन्दा धेरै ठगेर नेपालबाट फरार रहेका पवनकुमार कार्कीको नाम ‘रेड कर्नर’ नोटिसमा छ।
इन्टरपोलको नेपाल शाखा कार्यालय प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको तथ्याङ्कको १०औं नम्बरमा सन् २०१६ जवरी ७ देखि उनी ‘रेड कर्नर’ नोटिसमा छन्।
प्रहरीले कार्कीलाई सन् २०१२ जनवरी २९ मा डिफ्युजन नोटिसको लागि इन्टरपोललाई पत्रचार गरेको थियो भने सन् २०१६ जनवरी ७ देखि ‘रेड कर्नर’ नोटिसमा फरारको सूचीमा छन्।
‘रेड कर्नर’ नोटिसमा जारी भएको सूचनामा उनले १ अर्ब २२ करोड ८ लाख ९७ हजार १४१ रुपैयाँ ५४ पैसा ठगी गरेर फरार छन्।
केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)ले समय–समयमा नेपालमा ल्याउन पनि प्रयास गरिरहेको छ। तर उनी नेपालबाट फरार भएर संयुक्त राज्य अमेरिकाको नागरिक भइसकेपछि नेपाल ल्याउन अफ्ठ्यारो परेको सीआईबीका एक अधिकारीले बिएल नेपाली सेवालाई बताए।
‘उनी अमेरिकाको ग्रीन कार्ड होल्डर भइरसेकपछि नेपाललाई दिन मानेको छैन,’ अधिकारीले भने, ‘हामीले सरकारमार्फत पहल पनि गरेका थियौं।’
उनलाई नेपाल ल्याउनको लागि सरकारले पहल गरेको पनि थियो तर अमेरिकामा व्यवसाय गर्दै आएका कार्कीलाई नेपाल लैजानको लागि दिन नमानेको सिआईबीले जनाएको छ। कार्की डीभी परेर अमेरिकाको टेक्सासमा ‘नमस्ते इन्डिया’ नामको ग्रोसरी सञ्चालन गरेर बसिरहेका छन्।
फरार रहेका कार्कीविरुद्ध उच्च अदालत पाटनमा ५७ वटा मुद्धा छन्, जसमध्ये ५५ वटा मुद्धा पुनरावेदनको लागि सर्वोच्चमा छन्। क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा ऋण अपचलन गरेकामा ७ अर्ब ७३ करोड रुपैयाँ बिगोको मुद्दा चलिरहेका छन्।
उनले दक्षिण कोरियाबाट हुन्डीमार्फत घर पठाउने विदेशी विनिमय हङकङ हुँदै अमेरिका पुर्याउने गरेको समेत अर्थ मन्त्रालयको अध्ययनमा भेटिएको थियो। क्यापिटलको ऋण अपचलनमा ५७ मुद्दामा १ सय २ जनालाई प्रतिवादी बनाइएको छ। जस मध्ये ४६ जनाले सफाइ पाइसेका छन् भने ५६ जनालाई कैद सजाय तथा जरिवाना गरेको सीआइबीले बताएको छ।
क्यापिटल मर्चेन्ट बैंकिङको तत्कालीन पुनरावेदन अदालत अर्थात उच्च अदालत पाटनको वाणिज्य इजलासलले साढे १ वर्ष सजाय र ४९ करोड ५९ लाख ७० हजार १४१ रुपैया बिगो जरिवानाको फैसला सुनाएको थियो। उनले २० कम्पनी खडा गरेर क्यापिटल मर्चेन्टबाट ७ अर्ब ७३ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको थियो।
पवनको ठगीको नालेबेली
पवनकुमार कार्कीले राजेश खड्काको नाममा राजेश काष्ठ उद्योग २०६६ वैशाख २४ मा १५ लाख चुक्ता पुँजी राखेर कम्पनी दर्ता गरे। केही सामानहरु राखेर उद्योग सञ्चालन गरिरहेको भान पारे। कम्पनी खोलेको ठक्कै एक वर्ष पछाडि अर्थात २०६७ वैशाख २४ गते क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा पुँजी १२ करोड बनाउने भन्दै ९ करोड औद्योगिक कर्जा माग गरे।
राजेश खड्का र पवन कुमार कार्कीले सिन्धुली र काठमाडौंको साङ्लामा भएको जग्गा धितोमा राखे। ऋण प्रवाह शाखाका प्रमुख अमूल्य उपाध्यय थिए। मनोज खनाल शोभा श्रेष्ठ र उपाध्यायले विना मिति ८ करोड कर्जा उपलब्ध गराउने टिप्पणी उठाएर सिफारिस गरे।
बैंकले राजेश काष्ठ उद्योगलाई एक महिनापछि अर्थात २०६७ जेठ ३ गते ८ करोड उपलब्ध गराउने निर्णय भयो। त्यसलाई संचालक समितिको समर्थनमा कर्जा समितिमा सिफारिस नलगि विज्ञान प्रसाद पौडेलले ८ करोड पैसा उपलब्ध गराए।
कर्जा प्रवाह गर्न कर्जा समितिले परियोजना निरीक्षण, धितो निरीक्षण, लगानी उपयुक्तता जस्ता कर्जा उपलब्ध गराउँदा आवश्यक पर्ने कुनै पनि प्रतिवेदन नगरी कर्जा उपलब्ध गराएका थिए। त्यो कर्जा पाएको अर्को दिन फेरि त्यही कर्जालाई धितो राखी पुर्नकर्जा २०६६ जेठ ४ गते १ करोड माग गरे। त्यस उपर बैंकका कर्मचारी मनोज खनालले ८ करोडलाई पुर्नकर्जा मानेर २ करोड ८८ लाख दिनसक्ने प्रतिवेदन बैंकलाई बुझाए।
त्यसको अर्को दिन अर्थात २०६७ जेठ ५ गते पुनः ७० लाख रुपैयाँ पुर्नकर्जा राजेश काष्ठ उद्योगले पायो। अब सबै गरेर ८ करोड ७० लाख रुपैयाँ उक्त कम्पनीले लियो। कर्जा लिएको एक वर्ष अर्थात २०६८ भदौ २० गते नेपाल राष्ट्र बैंकले निरीक्षण गर्दा कर्जा प्रवाह गरे अनुसार काष्ठ उद्योगमा कर्जा प्रवाह गरेको नपाएपछि कारवाहि प्रकृया अगाडि बढाएको थियो।
हुँदै नभएको कम्पनीलाई २२ करोड कर्जा
पवनले हुँदै नभएको कम्पनीको नामबाट क्यापिटल मर्चेन्ट बैंकबाट २२ करोड रुपैयाँ कर्जा लिएका छन्। ‘गणेश उमेश फर्निचर उद्योग’ नाम राखेर घरेलु तथा साना उद्योग कार्यालय काभ्रेबाट २०५९ जेठ १७ स्थापना भएको उक्त उद्योगलाई हरिप्रसाद आचार्यको नामा नामसारी गरे।
उनले मासिक आम्दानी १४ लाख ३० हजार भएको जमानी राखेर २०६६ पुष २१ मो औद्योगिक कर्जा १० करोड माग गरे। त्यसको सुरक्षणवापत जगदिश विष्टको नाममा रहेको काठमाडौंको तत्कालीन साङ्ला गाविस ९ मा रहेको १०–०–०–० र श्रीराम लामिछानेको ६–१३–२–० कित्ताको जग्गा जामानी भएको फारमको विवरणमा देखाए तर लामिछानेको घरको ठेगाना भने खुलाएनन्।
त्यो समयमा प्रतिवेदन ऋण शाखाका अमूल्यप्रसाद उपाध्यायले निर्णय उच्च व्यवस्थापनमा पेश गरे। उक्त शाखामा शोभा श्रेष्ठ, मनोज खानाल र उपाध्याय थिए। त्यसपछि त्यो निणर्य कर्जा लगानी समिति हुँदै गणेश उमेश फर्निचर उद्योगलाई २०६६ पुष २४ अर्थात ४ दिनपछि सञ्चालक लक्ष्मणप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले ९ करोड ऋण उपलब्ध गरायो।
एक वर्षको बीचमा लगभग साढे १ करोड ऋण तिरे ७ करोड ६९ लाख रुपैयाँ तिर्न बाँकी थियो। २०६७ चैत १६ गते फेरि ३५ लाख खुद आम्दानी रहको भन्दै १४ करोड रुपैयाँ माग फारम भरे।
ऋण शाखाका प्रमुख रहेका अमूल्यप्रसाद उपाध्ययले १३ करोड कर्जा प्रवाह गर्न मिल्ने भन्दै फेरि त्यही प्रकृयाबाट अर्को दिन २०६८ चैत २८ मा १३ करोड कर्जा स्वीकृत भएर त्यहि दिन ऋण लिए। राष्ट्र बैंकले निरीक्षण गर्दा काभ्रेमा सञ्चालनमा रहेको भनिएको गणेश उमेश फर्निचर उद्योग पनि भेटिएन् तर सञ्चालक भनिएका हरिप्रसाद आचार्य नै भेटिए।
गणेश उमेश फर्निचर उद्योग, साजन चिनि मिल प्रा.लि., श्रीकृष्ण टि उद्योग, सिता खाँडसरी सुगर मिल, सेतीदेवी फर्निचर उद्योग, श्रीबुढा महाँकाल खाद्य प्रोडक्सन उद्योग, आर. के. स्टील फर्निचर उद्योग, जेशप खाद्य प्रोडक्सन, मेगा सप्लायर्स, रुविसा खाद्य स्टोर, सुविन्द्र श्रेष्ठ, रिद्धिसिद्धी विटन उण्ड राई मिल, राजेश काष्ठ उद्योग, संवृद्धी इन्भेष्टमेण्ट कम्पनी प्रा.लि., काभ्रे व्ब्रोइलर सप्लायर्स, मनोरम हाउजिङ्ग, फुल्चोकी दान उद्योग, श्रीगणेश जेन्टल फिल्म प्रोडक्सन, चित्रकुमार श्रेष्ठ र हलमार्क रेष्टुरेन्ट गरि २० वटा कम्पनी खडा गरेर १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार ठगी गरहेको आरोपमा मुद्धा चलिरहेको छ।
सासुकाे नाममा नयाँ कम्पनी र सेयर किनेर ठगी
पवनकुमार कार्कीले सासु जानुका केसीलाई विश्वासमा लिएर एउटा फर्म भराए दस्तखत लिए तर केका लागि भने खुलाएनन्। त्यो दस्तखतले ठग्ने उदेश्यले उनले नयाँ कम्पनी खोले र क्यापिटल मर्चेन्टको सेयरसमेत किने तर सासुलाई पत्तो दिएनन्। पछि ठगी गरेर फरार भएपछि मात्र सासुले आफ्नो नाममा ज्वाइँले सेयर किनेर ठगी गरेको थाहा पाइन्।
उच्च अदालत पाटनको मुद्धा नम्बर ०६८–एफ जे–००५३ नम्बरको मुद्धाको फैसलामा उनले २०६८ असार ३० गते दिएको बयानमा भनेकी छन्, ‘पवनकुमार कार्की मेरो ज्वाई नातका व्यक्ति हुन्, निजको विश्वासमा मैले आफ्नो नागरिकतासमेत दिई निजले भनेअनुसार दस्तखतसमेत गरी दिएको हुँ। उक्त विभिन्न कम्पनीहरु मेरो नाउँमा रहेको हाल आएर थाहा हुन अयो, क्यापिटल मर्चेण्ट बैकिङ उण्ड फाइनान्स लि.मा मेरो शेयर रहेको नरहेको मलाई जानाकारी छैन। उक्त रकम पवनकुमार कार्कीसमेतका व्यक्तिहरुले नै दुरुपयोग गरेको भन्ने हाल थााहा हुन आयो, मलाई जनाकारी छैन।’