विगत ३/४ वर्षदेखि अमेरिकामा चाडबाडको दिनको विषयमा लफडा पर्दै आएको छ।
तिथिको हवाला दिएर चाडहरूलाई नेपालभन्दा एकदिन अगाडी मनाउने आइडियाको उत्पादन गरिएपछि बिना विवाद र रमाइलोसँग मनाउदै आएका चाडहरूले टाउको दुखाउँदै आएका छन्।
अघिल्लो दिन कि पछिल्लो दिन भन्ने कुराले यस्ता पर्वहरूलाई हर्षोल्लासपूर्वक मनाउन के गर्नुपर्छ भनेर छलफलमा खर्च गर्नुपर्ने समय अघिल्लो दिन कि पछिल्लो दिन भन्ने विवादले खर्लप्पै खाएको छ। यो कसैको लागि पनि हितकर छैन।
पर्वलाई एकदिन अघि सार्ने अभियानको शुरूदेखि नै मैले समुदायलाई विश्वासमा नलिई यस्तो काम गर्नु सहि हुँदैन भनेर मन्दिरका संचालकहरूलाई सुझाव दिएको थिएँ तर उहाँहरूले समाजलाई अल्पज्ञानी जमात भन्दै हामीले गरे पछि 'झुक्न बाध्य' हुन्छन् भन्ने तर्क राख्नुभयो।
मैले बृहत् छलफल गरेर मात्रै अघि बढ्नु राम्रो हुने नत्र मन्दिर एकातिर र समाज अर्कोतिर हुन सक्ने कुरामा सचेत बनाएँ। सायद त्यस्ता सुझाव धेरैले दिएका थिए, तर उहाँहरूले सुन्नु भएन। समाजलाई 'झुकाएर छोड्ने' अभियानमा लाग्नु भएका केहि साथीहरू अब न त पछि हट्न सक्ने अबस्थामा हुनुहुन्छ न त अघि बढ्न। तर बिडम्बना आज समाज विभाजित भैसकेको छ।
चाहेर वा नचाहेर यसमा म मुछिएको छु। मन्दिरमा अहोरात्र खटेर काम गर्नेहरूलाई आलोचना गर्न मेरो मन पटक्कै मान्दैन। आफूले समय दिन नसक्ने अबस्थामा समय दिएर समाज र हाम्रो धर्म संस्कृति बचाउन लाग्नेहरूलाई सार्वजनिक आलोचना गर्नु मेरो लागि अत्यन्त कठिन काम हो। आफू हातमुख जोर्नको रातदिन काम गर्ने तर आफ्नो र परिवारको लागि समय नदिएर समाजको लागि केही गर्ने ती आदरणीय व्यक्तिहरूलाई आलोचना गर्दा मलाई पटक्कै आनन्द आउँदैन।
तर, विधिको बिडम्बना अर्कै हुँदोरहेछ। मन्दिरको विरोध वा हाम्रो धर्म संस्कृतिको विरोध गर्नेहरूप्रति अलि कठोर रूपमा प्रस्तुत हुने म मन्दिरको 'यही एउटा धुन्धुकारी कदम'प्रति भने आँखा चिम्लेर बस्न सकिनँ। यसको कारण 'सामाजिक एकता' नै थियो र हो। यसमा कुनै व्यक्ति प्रति मेरो आग्रह वा पुर्बग्रह छैन। जो जो व्यक्तिहरू यो अभियानमा 'हात धोएर' लाग्नु भएको छ, उहाँहरूसंग मेरो व्यक्तिगत सम्बन्ध अत्यन्त राम्रो छ र म यसलाई बिगार्न पनि चाहन्न।
तर, सार्वजनिक विषयमा उहाँहरूले गरेका गलत काम र गल्तीहरू माथि मैले प्रश्न उठाउन भने छोड्ने छैन। म अघिल्लो दिन वा पछिल्लो दिन पर्व मनाउन समाजलाई बाध्य बनाउने अभियानमा लागेको अभियन्ता होइन, समाज एक होस् र सबै चाड पर्ब एकदिन मनाउने बातावरण बनोस भन्ने चाहना राख्ने एक व्यक्ति मात्र हो।
मेरो शुरूदेखिकै भनाइ के थियो भने, हाम्रो यहाँको समाज अझै पनि पूर्ण रूपमा नेपालबाट 'इण्डेपेण्डेण्ट' वा स्वतन्त्र नभइ सकेको अवस्थामा हामीले परम्परागत चाडपर्वहरूमा पनि त्यो 'कनेक्सन' रहने भएकोले दिन अघिपछि पार्दा असहज हुने भएकोले 'परम्पराको निरन्तरता' को शिद्धान्त अनुरूप एकै दिन चाडबाड मनाउन उपयुक्त हुन्छ।
यो तर्कमा ९५ प्रतिशतभन्दा बढी समाजका व्यक्तिहरूको भावना प्रतिबिम्बित भएको देखिन्छ। तर समाजको यति ठूलो हिस्साको भावनाको विपरित बिना गृहकार्य हतारमा काम गरिए पछि समाजले यसलाई सजिलै स्विकारेन। यसमा मन्दिरकै पुजारीहरू, मन्दिर संचालक समितिका अधिकांश सदस्यहरू र मन्दिरका अभियन्ताहरूको समेत बिमति छ।
यो खिचलो बीच मलाई सबै चुप छन् तँ पनि चुप लागेर बस्, मन लागेको दिन चाड मनाई भन्नेहरू पनि थुप्रै छन् भने होइन समाज विभाजित भयो केही त बोल भन्नेहरू पनि यहि समाजमा छन्। मलाई थाहा छ मन्दिरका 'केहि मान्छे'हरू मलाई 'नबुझ्ने मान्छे' भनेर आलोचना गर्छन्। आफ्नो आस्थाको धरोहर मन्दिर जाँदा पनि 'पोइल गएर फर्केर आएकी' महिलाको जस्तो अनुभूति हुन्छ, मलाई।
मन्दिर जाने धेरैले भनेको सुन्छु, 'त्यहाँ अपनत्व छैन' जसले मलाई नरमाईलो महशुश गराउँछ। त्यति ठुलो योजना र भिजन अगाडी छ तर हामी यति सानो कुरामा झगडा गरिरहेका छौं। मलाई यो कुराले कुनै आनन्द दिंदैन। यो कुराले सायद कसैलाई पनि आनन्द नदेला।
अब समाजका सबै अग्रज, अभियन्ताहरू बसेर छलफल गरी यसलाई संधैको लागि बिश्राम लगाउनुपर्छ। मन्दिर वा आध्यात्मिक केन्द्रमा समय दिएर समाजसेवा गर्नुभएका सबैलाई यसमा गम्भीर हुन, छलफल गर्न र दोषारोपण भन्दा पनि समस्या समाधान तिर लाग्न अनुरोध गर्दछु। हाम्रो समाजको उर्जा विवादमा होइन विकासमा लगाउने बातावरण तयार गर्न हामी सबै लागौं। यो सामाजिक विषय भएकोले यसलाई व्यक्तिगत रूपमा नलिई सामाजिक समस्याको रूपमा ग्रहण गर्दै सबैले एक कदम पछि हटेर सोंच्न अनुरोध समेत गर्दछु। यो मामिलामा म कसैप्रति पूर्बग्राही नभएको जानकारी गराउँदै सबै मिलेर अघि बढ्ने प्रेरणा मिलोस् भन्दै विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।