पुन भर्सेस पुनः माओवादीभित्रै खोजियो वर्षमानको विकल्प

आउँदो निर्वाचनमा कहाँ र कुन क्षेत्रबाट भिड्लान् ‘कमरेड’ सिजल अर्थात् ‘सिस्ने जलजला लडाइँ?’

आम निर्वाचनको मिति नजिकिएसँगै जनयुद्धको प्रभाव क्षेत्र रोल्पामा नयाँ चर्चा चुलिएको छ। ‘ज्यूँदो शहीद’ मानिने दीपेन्द्रकुमार पुनले संघीय वा प्रदेशसभा सदस्य पदमा चुनावी टिकट पाउलान् कि नपाउलान्?

रोल्पामा माओवादीभित्र प्रभावशाली मानिएका उनी अन्ततः ‘अनन्त’ अर्थात् माओवादी उपमहासचिव वर्षमान पुनसँग चिढिएका छन्। जिल्लामा वर्षमानलाई संकट आइपर्दा दह्रो साथ दिने नेताहरूको सूचीको अग्रपंक्तिमा पर्थे, उनी। 

‘सिजल सरको जनयुद्ध र शान्ति प्रक्रियापछि पार्टीभित्र ठुलो योगदान छ। उहाँ माओवादी आन्दोलनको एउटा ज्यूँदो शहीद पनि हुनुहुन्छ। जिल्लामा राम्रो छाप छ, ठुलो हिस्सा उहाँसँगै छ,’ माओवादी केन्द्र रोल्पाका एक नेताले भने।

उपमहासचिव वर्षमानविरूद्ध सिजलको विद्रोहलाई अर्थपूर्ण रुपमा हेरिएको छ। जिल्लामा वर्षमानको समूहलाई मलजल गरेका उनी पछिल्लो समय उनै वर्षमानबाट पेलिँदै आएका छन्। सिजल पूर्वमन्त्री जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान र झक्कुप्रसाद सुवेदीलाई राष्ट्रिय राजनीतिमा सफल बनाउने ‘भरिया’ भनेर चिनिन्छन्।

उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समूहलाई रोल्पाबाट कमजोर पार्ने पात्र सिजल नै ठान्छन्, महरानिकट एक नेता। उनको जिल्लामा बेग्लै छाप छ। चारैतिर खासखास स्थानीय नेता–कार्यकर्ता छन्। उनीहरू कुनै न कुनै रुपमा आर्थिक रुपमा जोडिएका छन्।

‘सबैको बराबर योगदान छ। सबै नेता युद्धबाट उदाएका हुन्। रोल्पा जिल्लाको सन्दर्भमा वर्षमान पुन हाबी भइरहेका छन्। महरा दाङ झर्नुभयो। जयपुरी र ओनसरी पनि सांसद बन्नुभयो। यसपटक कमरेड वर्षमानले सिजल दाइलाई प्रतिनिधिसभाको टिकट सुम्पिनुपर्छ,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्य बताउँछन्।

जिल्लामा वर्षमानभन्दा ‘बहादुर’ मानिएका सिजलको यसपालि प्रदेश निर्वाचन क्षेत्र (ख) खोसिने पक्कापक्की जस्तै छ। गठबन्धनको तर्फबाट सिट बाँडफाँड समितिका महत्वपूर्ण सदस्य वर्षमानले आफूलाई व्यवस्थापन गर्ने सन्दर्भमा कुनै वास्ता नगरेको उनको ठुलो गुनासो छ।

गठबन्धन हुँदा जिल्लाको एउटा प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसको दाबी छ। कांग्रेसले दाबी गरिरहेको प्रदेशसभाबाट अघिल्लाे निर्वाचन उनै सिजलले जितेका हुन्। तर अहिले त्यो क्षेत्र उनको काबुमा छैन।

रोल्पा (ख)बाट कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन निर्वाचन लड्न कस्सिएका छन्। अर्को क्षेत्र (क)बाट सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराले टिकट पाउने छन्।

आफ्नो निर्वाचन क्षेत्र खोसिने पक्का भएसँगै नेता सिजलले संघ ताकेको चर्चा माओवादी वृत्तभित्र चलिरहेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट तीनजना तीव्र आकांक्षी देखिएका छन्– वर्षमान पुन, जयपुरी घर्ती र दीपेन्द्रकुमार पुन। त्यसो त तीनैजना रोल्पाली मतदाताले एक–एकपटक चुनिसकेका पात्र हुन्।

‘गठबन्धनको नाउँमा कमरेड सिजललाई अन्याय गर्न मिल्दैन। रोल्पा (ख) उहाँको क्षेत्र हो। यो निर्वाचन क्षेत्र छाड्ने हो भने वर्षमानले ठाउँ खाली गर्नुपर्छ,’ उनीनिकट एक विद्यार्थी नेता भन्छन्, ‘यसअघि कमरेड जयपुरी घर्ती, सन्तोष बुढा, ओनसरी घर्ती र वर्षमान पुनका लागि मैदान खाली गर्नुभयो। अब रोल्पा (ख) वा प्रतिनिधिसभामा उहाँको पालो हो।’

आमसञ्चार र सामाजिक सञ्जालमा वर्षमानको चुनावी चर्चासँगै सिजल परिवार आक्रोशित बनेको छ। ‘कमरेड वर्षमानलाई मिडियाले टिकट दिइसकेको छ। आधिकारिक मानौँ त? घोषणा त नभएको जस्तै लाग्थ्यो,’ पुत्र मिलन पुनले भने।

शान्ति प्रक्रियायता वर्षमान पुनको चेपुवामा परेर आफ्नो राजनीतिक यात्रा कमजोर पारिरहेका उनी यसपालि शीर्ष नेतृत्वसँग सन्तुष्ट छैनन्। राष्ट्रियसभा सदस्यको ‘ललिपप’ दिएपनि उनी रोल्पाबाटै भिड्ने ‘लाइन’मा प्रष्ट देखिएका छन्।

‘योगदानको हिसाबमा उहाँ वर्षमान, जयपुरी, ओनसरी वा सोनामभन्दा मुनिको मान्छे होइन। आफूभन्दा जुनियर कमरेडलाई आफ्नो क्षेत्रबाट जिताएर सभामुख, मन्त्री बन्ने तहसम्म पुर्याउनुभयो। अब पनि पछिल्लो लाइनमा बस्ने भन्ने हुँदैन,’ माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यले भने।



वर्षमानविरूद्ध एमालेले अघि सार्‍याे पूर्वबटालियन कमाण्डर

सकस छैन रोल्पामा, भागवण्डा मिलाउँदै ‘पुन ब्रदर्श’

जनार्दनलाई वहिर्गमन गराएर वर्षमानले जितेको ‘सेकेण्ड इनिङ’

माओवादी पदाधिकारीमा एमसीसीविरोधीको बर्चश्व: दबाबमा प्रचण्ड

माओवादीभित्र ‘स्पेस’को लडाइँमा जनार्दन–वर्षमान: प्रचण्ड वारिपारिका दुई किनारा

प्रकाशित मिति: : 2022-09-27 22:10:00

प्रतिकृया दिनुहोस्