माओवादीभित्र ‘स्पेस’को लडाइँमा जनार्दन–वर्षमान: प्रचण्ड वारिपारिका दुई किनारा

जीवन डाँगी

काठमाडाैँ
file photo
file photo

जनयुद्धको गर्भदेखि संसदीय राजनीतिक यात्रासम्मै ‘प्रचण्ड’ जीवनमा उदात्त फैलिएका दुई किनारा हुन्– ‘प्रभाकर’ र ‘अनन्त’।

माओवादी जीवन रेखामा ‘प्रचण्ड’ रहँदासम्म यी दुई किनाराको संगम भेट्न लगभग मुस्किलै छ। युद्धको ‘कमाण्ड’देखि संसदीय राजनीतिलाई पनि बराबर हैसियतमै हाँकिरहेका यी दुई पात्र अहिले माओवादीभित्र वारपारको लडाइँमा छन्।

‘प्रभाकर’ अर्थात् जनार्दन शर्मा पार्टीको शक्तिशाली महासचिव बन्न चाहन्थे। तर बाधक बने अर्का प्रभावशाली नेता ‘अनन्त’ अर्थात् वर्षमान पुन।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन चलिरहँदा जनार्दनको व्यापक चहलपहल थियो। त्योबेला वर्षमान उपचारका लागि चीन पुगेका थिए।यता जनार्दन भने महासचिव बन्न आतुर देखिन्थे। उनलाई महासचिव बनाउन प्रचण्ड पनि सहमत बने। तर एकाएक बीचमा आइदिए– वर्षमान।

जनार्दनलाई महासचिव स्विकार्न तयार भएनन्, वर्षमान। बरू भनिदिए ‘म महासचिव नबन्ने हो भने अर्का नेता शक्तिबहादुर बस्नेतलाई बताइदिउँ।’ हेर्दाहेर्दै प्रचण्ड यता पनि सहमत देखिए। बस्नेत महासचिव बन्ने पक्कापक्की जस्तै थियो। फेरि प्रचण्डसामु उग्र भएर प्रस्तुत भइदिए– जनार्दन।

०००

महाधिवेशनताका वर्षमान देश बाहिर। राजधानीमै जनार्दनको उग्रता। उनको विद्रोही स्वभाव प्रचण्डलाई राम्रोसँग थाहा छ। उनले ‘रिस्क’ लिन चाहेनन्। लगतै वर्षमानसँग सल्लाह गरेर प्रचण्डले नै पन्छाए पार्टीको केन्द्रीय कमिटी बैठक।

महासचिव छान्ने समय सर्दा आ-आफ्नो कित्तामा उमंग छ। पार्टीभित्रको गुटबन्दी उत्कर्षमा छ। एकातिर स्थानीय चुनावको रौनक छ। अर्कोतिर वर्षमान र जनार्दनका समर्थक एकअर्काको तीव्र आलोचना गरिरहेका छन्। उनीहरू खुलेरै विरोध गर्ने तहमा पुगेको माओवादी नेताहरू बताउँछन्।

दुर्लभ ‘क्रिग्लर नज्जार सिन्ड्रोम’ भनिने वंशाणुगत जन्डिसबाट पीडित वर्षमान आजकल पार्टी कार्यक्रममा बाक्लै गरी देखिन थालेका छन्। सत्ताघटक माओवादी केन्द्रको नेतृत्वको गरेर अर्थमन्त्री बनेका जनार्दन दिनदिनै सिंहदरबारमा भेटिन्छन्। उनीहरूलाई चुनाव कम र गुट बर्ता लागेको छ।

०००

वर्षमान र जनार्दनबीचको टकराव राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणले सतहमा आएको छ। प्रधानमन्त्री देउवा र प्रचण्डको सल्लाहमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रीसमेत रहेका जनार्दनले निलम्बन गरिदिए। वर्षमान यो प्रकरणमा नचाहेरै प्रचण्डको विपक्षमा उभिए।

कारण– जनार्दनको खस्किँदो लोकप्रियमा थप खेल्नु थियो। पार्टी र जनार्दनको निर्णयमा सत्ताधारी दल कांग्रेसका महामन्त्री ‘गगन थापा–विश्वप्रकाश शर्मा’ र प्रमुख प्रतिपक्ष एमालेकै कित्तामा देखिए, वर्षमान। भलै यो विषय सर्वोच्च अदालतबाट सुल्झिसकेको छ। गभर्नर हटाउने जनार्दनको पछिल्लाे निर्णय संवेदनशील ठान्छन्, वर्षमान।

तर पछिल्लोपटक अर्थमन्त्रीबारे आइरहेका अनेकौं समाचारको पछाडि वर्षमान पुनको भूमिका रहेको जनार्दननिकट नेताहरू आरोप लगाउँछन्।उर्जामन्त्री हुँदा जनार्दनको लोकप्रियता एकाएक चुलियो। कारण– कुलमान घिसिङको नियुक्ति र उर्जा मन्त्रालयमा देखाएको कार्यकुशलता नै हो।त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका वर्षमान भने छाँयाका परे। उनको चित्त आजपनि पटक्कै बुझेको छैन।

‘पार्टीभित्र उहाँहरूको पुरानै लडाइँ हो। तर पछिल्लो समय वर्षमान कमरेड पार्टी सक्नेगरी गुटमा लाग्नुभएको छ। उहाँलाई जनार्दन कमरेडले गरेका कुनैपनि कामको विरोध गर्नुपर्छ। हुँदाहुँदा गर्भनर हटाउँदा प्रचण्डसँग निकै लामो सल्लाह भएको थियो। तर अन्नत कमरेड विरोध गर्न सडकमै उत्रिनुभयो,’ जनार्दननिकट एक केन्द्रीय सदस्य भन्छन्।

०००

अब माओवादी केन्द्रको शक्तिशाली महासचिव वर्षमानले नै पड्काउने छन्। उनी महाधिवेशन चल्दै गर्दा उपचारका लागि देश बाहिर थिए। यो उनको बाध्यता थियो। वर्षमानको रोग निको भएपनि निर्वाचित महासचिव हुने सुनौलो अवसर गुमेको माओवादी केन्द्रनिकट एक पत्रकार बताउँछन्। यसो त वर्षमान चीनतिर हुँदा जनार्दनले महाधिवेशनस्थलमा खेल्ने प्रयास नगरेका होइनन्। उनी यो मौकालाई अवसरका रूपमा बल्दन चाहन्थे। तरपनि अस्पतालको शैय्याबाटै खरो बाधक बनिदिए– वर्षमान।

उनीहरूबीच एकले अर्कोलाई रोक्ने र आम–सञ्चारमार्फत् ठोकाठोक गर्ने क्रम चलिरहेको छ। निर्वाचन सकिएलगत्तै अध्यक्ष प्रचण्डले एक जनालाई महासचिव चुन्ने नै छन्। तर अध्यक्षपछिको कार्यकारी पद कसलाई सुम्पेलान्– वर्षमान र जनार्दन वा तेस्रो नेता! यो आम चासोकाे विषय हो।विश्लेषकहरूको टिप्पणी छ– प्रचण्डले जसलाई महासचिव चयन गर्छन्, ऊ नै माओवादी केन्द्रको आगामी नेतृत्व सम्हाल्ने तहमा पुग्ने छ।

०००

माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएको १५ वर्षपछि ‘वर्षमान–जनार्दन’ को द्वन्द्व देखिने गरी सतहमा आएको हो। उनीहरू एकताका खुब मिल्ने र अहिलेका प्रतिस्पर्धी मानिन्छन्। पुन र शर्मा भने आफूहरूबीच आपसी द्वन्द्व कहिँकतै नभएको बताउँछन्।

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा चल्दै थियो। त्योबेला पनि वर्षमान उपचारका लागि विदेशमै थिए। विद्यार्थी नेताहरूबीच मनमुटाव बढ्दै थियो। उनीहरू दुई खेमामा विभाजित थिए। विवादै–विवादका बीच यसपटक भने जनार्दनले बाजी मारे।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए। तर सिंहलाई जनार्दनको साथ थियो। स्वभाविक रूपमा उनको रोजाइँमा परिन्, सिंह। कारण- कर्णाली। वर्षमाननिकट विद्यार्थी नेता बस्नेतलाई पाखा लगाएर सिंहलाई अध्यक्ष चुन्न सफल भए, जनार्दन। उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष हुन्। त्योबेला अध्यक्ष चुन्ने जिम्मा प्रचण्डलाई थियो। प्रचण्डलाई मनाएरै छाडे, जनार्दनले।

फर्केर हेर्दा त्यही अखिल क्रान्तिकारी। (०७४ भदौ) एक्काइसौँ राष्ट्रिय सम्मेलनमा रञ्जित तामाङ (वर्षमान) र अनिल शर्मा (जनार्दन) समूह नै बनाएर चुनावी मैदान उत्रिएका थिए। त्यो निर्वाचनमा तामाङले ८४५ र प्रतिस्पर्धी शर्माले ८२२ मत प्राप्त गरे। यसो त वर्षमानको आड–भरोसामा तत्कालीन विद्यार्थी नेता तामाङ अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी अनिल जनार्दनका कान्छा भाई हुन्।

क्रान्तिकारीको निर्वाचनसँगै वर्षमान–जनार्दन गुट संस्थागत रूपमा माओवादीको भात्तृ संगठन, प्रदेश हुँदै जिल्ला–जिल्लामा पुगेको युवा नेताहरू बताउँछन्। गाउँदेखि केन्द्रसम्म दुई नेताकाे चरम गुटबन्दीले माओवादी केन्द्रको संगठन  थप कमजोर हुँदै गएको छ।

०००

प्रचण्ड सत्ता सहकार्यसँगै चुनावी तालमेलमा छन्। कांग्रेस सभापति एंव प्रधानमन्त्री देउवा उनको दाइने पट्टी छन्। पार्टीभित्र गठबन्धनको चर्को आलोचना हुँदाहुँदै देउवा प्रचण्डसँगै हिँड्न चाहन्छन्। तर प्रचण्डको चुनावी रणनीतिलाई भने ‘गगन–विश्व’ले पर्दा पछाडिबाट नियालिरहेका छन्।

गठबन्धनमा टासिनैपर्ने लज्जास्पद दृश्यले पनि माओवादी नेता–कार्यकर्ताहरू आफ्नो भविष्यप्रति गम्भीर छन्। स्थानीय निर्वाचनमा कसै न कसैसँग मिल्नैपर्नै दौडले थप चिन्ता झल्काउँछ। तर, पार्टीभित्र जुधिरहेका ‘वर्षमान–जनार्दन’ को मनमुटावले उनी झन् तनावमा छन्।

प्रचण्ड भन्छन्– एक्लै हिँड्दा डुब्न सकिन्छ, तर युवा नेताहरू भन्छन्– तौल बढ्दा डुब्ने सम्भावना झन् हुन्छ। त्यो तर्फ मान्न तयार छैनन्– ‘प्रचण्ड-देउवा’। ०७० यता माओवादी केन्द्र अस्तव्यस्त छ। एमालेसँगको एकता पनि फापेन। हुँदा–खाँदाको पार्टी संगठन धुजा–धुजा भयो। शीर्ष नेताहरू एमालेमा बसे।

०००

प्रचण्ड अचम्मका पात्र हुन्– जसले पराजयको समीक्षा कहिल्यै गरेनन्। माओवादीनिकट विश्लेषकहरू भन्छन्, ‘प्रचण्ड जनआधार भएका नेताहरूलाई अगाडि ल्याउनै चाहँदैनन्।’ उनी वर्षमानको चलाखी राजनीति वरिपरी नै रमाउँछन्। अमरसिंह उर्फ कृष्णबहादुर महरालाई पाखा लगाएको उनीहरूको तर्क छ। आज जनार्दन सक्ने काम भइरहेको छ। यो प्रचण्ड–वर्षमानको घातक कार्य हो। पार्टीभित्र वर्षमान प्रिय छन् तर आम-मानिसबीच जनार्दनको लोकप्रियता छ।

प्रचण्डको ठाउँमा फेरि प्रचण्ड नै अध्यक्ष बनेपछि युवाहरूको विश्वास थियो– एमाले र कांग्रेसलाई चुनौती दिन सक्लान्! माओवादी केन्द्रले एकपछि अर्को हार बेहोर्दै आयो तर समीक्षा कहिल्यै गरिएन। धेरै नेताहरूले पार्टी छोड्दै गए आफ्नो समीक्षा गरेनन्। पार्टीभित्रकाे किचलाेलाई किचलाे मान्न तयार छैनन्। मौलाउँदै गएको असन्तुष्ट गुटले पनि नेतृत्वलाई दबाब दिन थालेको छ। तर उनी चुप छन्।

माओवादी पटकपटक सत्तामा पुग्यो। ०६२–६२ पछि सरकार वरिपरी नै छ। उनै वर्षमान–जनार्दन पालैपालो सरकारमा पुगिरहेका छन्। ‘प्रचण्ड’ अर्थात् पुष्पकमल दाहालले दशकाैंदेखि नेपाली राजनीतिको राजमार्गमा ‘माओवादी केन्द्र’ हाकिरहेका छन्। प्रचण्डले माओवादी केन्द्रको नेतृत्व छोडेपछि पार्टी क–कसको पञ्जामा पर्ला? पछिल्लोपटक दोस्रो पुस्ताका नेताको मनमुटावले के–कति काम गर्ला? खासगरी वर्षमान–जनार्दन।

०००

रोल्पाका वर्षमान। रूकुमका जनार्दन। भू-गोलसँगै राजनीतिक संस्कार पनि एकैखाले छ। रोल्पामा वर्षमानको प्रभाव खस्किँदो छ। जिल्लामा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा समूह पनि उत्तिकै सक्रिय छ। अर्कोतिर प्रदेशसभा सदस्य दीपेन्द्र पुन पनि वर्षमानभन्दा हाबी छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले सातवटा पालिका जित्दा एमाले दुई र कांग्रेस एक सीटमा उक्लियो।

जनार्दन अझैसम्म रूकुमलाई माओवादी ‘किल्ला’ कै रूपमा चिनाउन सफल छन्। ०७४ सालको स्थानीय निर्वाचनमा रूकुमका दशवटै पालिका माओवादी केन्द्रले जित्यो। वर्षमानको जस्तो रूकुममा अर्को कुनै समूह पनि छैन। जिल्ला नै टुक्राएर गणेशमान पुनजस्ता युवा नेतालाई पाखा लगाइसकेका छन्।

०००

रूकुममा कम्युनिष्ट पार्टी संस्थागत गर्न जनार्दनका बुबा स्कन्द शर्माको महत्वपूर्ण भूमिका मानिन्छ। सानै उमेरदेखि राजनीतिक संस्कारमा हुर्किएका उनी ०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका हुन्।

उनी जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन्। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारसमेत बने। उनी पार्टीको कुशल सङ्गठन मानिन्छन्। युद्धकालमा सेती-महाकाली केन्द्रीत संगठन विस्तार अभियानमा लागे।

रोल्पाका वर्षमान पञ्चायती कालमा बाम विद्यार्थी आन्दोलनबाट प्रभावित थिए। ०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर सशस्त्र संघर्षको औपचारिक राजनीतिक यात्रा आरम्भ थालेका हुन्।

रोल्पाको निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मिएका हुन्, उनी। युद्धको बेला पूर्वाञ्चल र राजधानीमा संगठन विस्तारमा लागे।

र, माओवादीभित्र ‘स्पेस’को लडाइँमा रहेका जनार्दन शर्मा र वर्षमान पुन अध्यक्ष प्रचण्डकाे वारिपारिका दुई किनारा जस्तै बनेका छन्।

प्रकाशित मिति: : 2022-04-26 20:53:00

प्रतिकृया दिनुहोस्