यो लेखले युरोपेली समुदायको विविधता प्रतिबिम्बित गर्न, आप्रवासी एकीकरणलाई प्रवर्द्धन गर्न, पत्रकारिताको विश्वासनियता,समावेशिता र रूपान्तरणको लागि मिडियाको क्षमतालाई बलियो बनाउने उपायबारे सोधान्तर गर्ने प्रयत्न गरेको छ।
यी सबै उद्देश्यहरू हासिल गर्न, एनआरएन पत्रकारहरूले हालसम्म आर्जन गरेको ज्ञानलाई सर्वप्रथम व्यवस्थित गर्नुपर्ने हुन्छ। त्यसपछि मिडियाको लागि विविधता/एकीकरण मुद्दाहरूमा सबै सान्दर्भिक अध्ययनहरूको खोजीयोग्य सामाग्री संग्रह गर्दै पत्रकारहरूका साझा प्रयत्न र समुदायको चासोबारे छलफल गर्नु उपयुक्त होला।
हाम्रा समुदायसँग समावेशिता,विश्वासनियता र रूपान्तरणको सवालमा रहेका अन्तरविरोधको समाधान गर्ने उपाएबारे एक निष्कर्ष दिन र यसलाई युरोपभरका पत्रकारहरूसँग गहिरो अन्तरसम्बन्धको श्रृंखलासँग संयोजन गर्दै, पत्रकारितालाई भरपर्दो सुचनाको माध्यामको रूपमा स्थापित गर्न बहस सार्थक होस् भन्ने नै यो लेखको अन्तिम निष्कर्ष हो।
प्रवासी नेपाली पत्रकारहरूका रोजगारी अवस्थाहरूमा: प्रदान गरिएको तालिम वा प्रशिक्षणमा: आचार संहिताको सन्दर्भमा: समाचार निर्माण र कार्यक्रम निर्माणमा: विविध भिन्नताकाबीच कसरी सहकार्य गर्न सकिन्छ, लेखमा त्यसबारे निदिष्ट तर्कहरू पनि राखिने छ।
अर्कोतर्फ एनआरएनका क्षेत्रीय कार्यशाला वा सम्मेलनहरूले पत्रकारहरू, सामाजिक संस्थाहरू र अनुसन्धानकर्ताहरूलाई एकै ठाउँमा ल्याएर आप्रवासी समस्याहरूलाई निराकरण गर्न मिडियाको भूमिकाबारे छलफल गर्दा निष्कर्षमा पुग्न सकिन्छ।
बेल्जियम, फ्रान्स, इटाली, पोल्याण्ड, आयरल्यान्ड, ग्रेट ब्रिटेन, ग्रीस र नेदरल्यान्ड्सका नौवटा युरोपेली देशका पत्रकार र सञ्चारकर्मीहरूसँग यस विषयका लेखहरूको साथै ६८ अन्तर्वार्ताको विश्लेषणलाई आधार बनाएर यो लेखको अन्तरवस्तु तयार गरेको गरिएको हो।
यसर्थ यसको एउटा उद्देश्य हामी आँफैमा अन्तर-अनुशासनात्मक र तुलनात्मक अनुसन्धानको विकास गर्नुको साथै सामाजिकीकरण र युरोपेली समाजको प्रक्रियामा रहेका प्रमुख मुद्दाहरूमा हाम्रो रूचीलाई महत्व दिनु हो।
विभिन्न मिडिया सेन्टर (हाउस), युनियनहरू,आइयफजे तथा नेपाल पत्रकार महासंघ केन्द्र स्वयम्ले पत्रकारिता सम्बन्धि अनुसन्धान कार्यक्रमहरू र परियोजनाहरूको साथै कार्य समूहहरूको दायरा तथा क्षमता बढाउनको लागि आवश्यकक पहलहरू होस्ट गर्दै आएको छ।
अनुसन्धान एजेन्डा भन्नाले समाचार निर्माणमा मुख्य विषय वस्तुहरूको छनौट गर्ने कौशल भनेर बुझ्नुपर्छ। बहसको लागि निर्मित प्लटको दायरा युरोपेली संघमा आवद्ध पत्रकार मात्र नभएर नेपाली डायस्पोराका सम्पूर्ण सुचना सम्बाहक र सम्बन्धित समुदाय हुनेछ।
प्रवासको पत्रकारितामा रूपान्तरणका आधारहरू : समावेशिता, विश्वासनियता र विज्ञता
पत्रकारले आधारभूत रूपमा आफू बसेको समुदायभित्रका विविध गतिविधिका आयामहरू मिहिन रूपले अध्ययन गर्न आवश्यक छ। युरोपको सन्दर्भमा समावेशिताका आधारहरू के–के हुन सक्लान्?
सर्वप्रथम यसको अध्ययन गर्नुपर्छ। त्यसपछि मिडियाले कभरेज गर्नुपर्ने विषयगत कुराको चित्र दिमागमा बस्दछ। त्यसपछि आफ्नो क्षेत्रको सन्दर्भमा कुन मुद्धा सबैभन्दा महत्वपुर्ण छन्, त्यसको पहिचान गर्न सकिन्छ। महत्वपूर्ण मुद्धाहरूको बारेमा बिना अतिरंजना समुदायलाई सुसूचित गर्न सकियो भने मात्र समुदायसँग मिडिया जोडिन सक्छौँ। समुदायका हरेक हिस्सालाई समाचारको स्रोत बनाउन यो अति आवश्यक छ।
यसको बारेमा लेख्दा वा बोल्दा, पत्रकारितामा खासगरी प्रवासको नेपाली पत्रकारितामा समावेशिता, विश्वसनीयता र रूपान्तरणको प्रश्न ज्यादै जटिल रूपमा उभिएको समस्या हो।
पत्रकारितामा समावेशिताको कुरा गर्दा हामीले खाली पत्रकार महासंघको मात्र कुरा गर्नु उपयुक्त हुँदैन। एनआरएनए लगायत मिडिया टाक्स फोर्सभित्र पनि आफ्ना समर्थकहरू, लिङ्ग र सम्प्रदाय विशेषलाई फोर्स भित्र राखेर समिति घोषणा गरिन्छ।
यो असमावेशिताको एउटा पक्षमात्र हो। एनआरएनए लगायतले आफ्नो ईण्ट्रेष्टको अनुशरण नगर्ने वा आलोचनात्मक चेत भएका पत्रकारहरूलाई नरूचाउनुका पनि धेरै कारण छन्।
तिनै कारणहरूभित्र छिपेर समाबेशिताको मुद्धाले मुख लुकाउँदै आएको कुरा सबैलाई अवगत नै छ। यो विषयमा यहाँ बहस गर्नु उपयुक्त नहोला। तर हामी पत्रकारहरूको लागि पनि समावेशिताको नियम लागू हुन्छ। मुख्य कुरा हामीले बनाएका पत्रकार संघहरू कति समावेशी छन् वा छैनन् ?
विधानको कारण हामीले हाम्रा संघहरूलाई समाबेशी बनाउन बाध्य भएपनि विज्ञता, शिप, क्षेत्र र विधा वा बिटहरूको संयोजनको हिसाबले ति अझै समावेशी छैनन् भन्ने लाग्छ।
यस बिषयमा विगत देखिने प्रश्नहरू उठ्दै आएका हुन्। अर्कोतर्फ़,हामीले समाचार खोज्दा बहु-आयामिक भएर खोजेका छौं कि छैनौं ? हाम्रा समाचारका स्रोत वा प्लटहरूमा समुदायका सबै तह र तप्काका सुचना,मुद्धा र विषयवस्तु अटेका छन् कि छैनन् ?
खेल क्षेत्रदेखि व्यवसायिक गतिविधि,सामाजिक एकीकरणदेखि स्व:पहिचानका मुद्धा, सामाजिक विकृतिदेखि शोषण उत्पीडन र अपराधहरूका मुद्धाको समाबेशिता हाम्रा छापा लगायत न्युज पोर्टल वा अनलाइनहरूमा नहुनु पनि मिडिया क्षेत्रभित्रको समाबेशिताकै समस्या हो। त्यसैले संघ संगठन भित्रको समाबेशिताले मात्रै पत्रकारहरूलाई पुग्दैन।
त्यहाँ विभिन्न बिटहरूको समाबेशिता र समाजका प्रत्येक गतिविधिको रिपोर्टिङ्गमा पनि समावेशिता हुनु जरूरी छ।
समावेशी संघ संगठनभित्र सबैलाई अपनत्वको अनुभव भए जस्तै समावेशी समाचारहरूद्वारा पत्रकारिता प्रति समुदायमा विश्वासनीय सैद्धान्तिक आधार बन्दछ। यी दुवै आधारले अझ बढी खोज, अझ बढी स्रोत पहिचान र अझ बढी गुणात्मक विश्लेषणलाई तेजिलो बनाउन प्रोत्साहित गर्दछ। त्यसपछि हाम्रो पत्रकारिताको धार गुणात्मक रूपले फेरिन्छ। हाम्रा स्किम र सिपहरू विकसित र अझ भरपर्दा बन्दछन्। पत्रकार यिनै क्षमताहरूले पत्रकारितालाई रूपान्तरणमा लैजाने हो।
माथिको सारांशलाई युरोपको सन्दर्भमा जोडेर मिहिन रूपले बहस गर्दा, आप्रवासनको परिणाम स्वरूप युरोपेली समुदायहरू बहुसांस्कृतिक र जातीय रूपमा अलगथलग भएपनि एकीकृत हुने शिलशिलामा छन्। तथापि, हाम्रो अन्तरघुलन प्रक्रियामा समुदायका सबै तह र तप्काको मनोवैज्ञानिक परिवर्तनलाई पत्रकारहरूले आमसञ्चारमा ठीकसँग प्रतिबिम्बित गर्न र नेपालसंग जोड्न सकिरहेका छैनौं। भन्नुको मतलब न त स्थानीय मूलधारको मिडियामा एनआरएनका गतिविधिहरूको चित्रण वा प्रतिनिधित्व भएको छ, न त यहाँका स्थानीय प्रेस संगठनहरूसंग अन्तरक्रियात्मक सम्बन्ध स्थापित गर्न सकिरहेका छौं।
यसभित्र अध्यागमन र मिडिया सम्बन्धी विभिन्न अध्ययनहरूले सकारात्मक प्रवृतिहरू देखेता पनि स्थानीय मिडियाले आप्रवासीहरूलाई सामाजिक जातिवादको शिकार बनाएको तर्कलाई सामान्यतया स्वीकार गरिएको छ। तथापि हामि पनि मुलधारका मिडियासँग सम्बन्ध स्थापित गर्ने प्रयत्नमा युरोपको हकमा कमजोर नै छौं।
युरोपको नेपाली पत्रकारिताको सन्दर्भमा उठेका विषयगत कुराहरू :
मिडियाले सर्वप्रथम, समाचारको रूपमा केलाई महत्व दिने भनेर निर्धारण गर्नु पर्दछ। स्वाभाविक रूपमा नै समाचारले घटना, समुदायका गतिविधि र व्यक्तिहरूलाई महत्त्व दिन्छ। यसरी तिनीहरूले प्रत्यक्ष रूपमा सामाजिक र राजनीतिक मनोवृत्ति, विचार र कार्यहरूलाई उत्तेजित रूपमा मिडियामा सम्प्रेषण गर्नु आवश्य छ। यसमा असल र खराब दुवै तहका समाचारहरूले समान महत्व पाउनु पर्दछ।
यस विषयगत आलेखले बसाइँसराई सम्बन्धी समाचारको उत्पादन गर्ने तरिका र त्यसलाई असर गर्ने विशेष कारकहरूको बारेमा विस्तृत आलोचनात्मक छलफल गर्नु पर्ने हुन्छ। जुन बिषय अहिले यस लेखमा समेट्न सम्भव छैन।
सञ्चारमाध्यममा नेपाली लगायत विश्वभरिका आप्रवासीहरूको निष्पक्ष वा सन्तुलित प्रस्तुति र परीक्षणको सन्दर्भमा, युरोपेली देशहरूका अनलाइन आउटलेटहरूमा अपनाइएका समाचार निर्माण तथा विषय वस्तुको उत्पादन उत्खनन गर्ने हालै विकास गरिएका तरिका अभ्यासहरूबाट हामीले कति ज्ञान लिएका छौँ ? नेपाली पत्रपत्रिकाहरूबाट कति सिकेका छौं र प्रब्रिद्धिको ज्ञान कति छ ? भन्ने कुराले हाम्रो पत्रकारिताको स्तर निर्धारण गर्छ। हामीले सदैj हेक्का राख्नुपर्छ कि समाचार निर्माण गर्नुको मूल उदेश्य भनेको समाचारमा उल्लेखित घटनाबारे वा सुचनाबारे पाठकले देखे झैँ छर्लंग हुनु हो।
हामीले समाचार बनाउनु भनेको वास्तविकताको विकृतीकरण भन्दा पनि उनीहरूलाई अवलोकन गर्ने, रिपोर्ट गर्ने र पाठकले आफैँ विश्लेषण गर्न सक्ने गरि सहजता प्रदान गर्ने अभ्यास हो।
मिडियाको लागि समाचार निर्माणको मापदण्डहरू मध्ये सर्वप्रथम समाचार संकलन वा लेखनका सामान्य आयामहरूको सेट पहिचान गर्छौं, जसले दिइएको घटना वा जानकारीको टुक्राबाट स्वयम् अनुमान र विश्लेषण गर्न सकोस। त्यो समाचारप्रति दर्शक, स्रोता वा पाठकको विश्वासले नै समुदायमा सूचनाकर्मी प्रतिको विश्वासलाई स्थापित गर्छ। जसका केहि मापदण्डहरू निम्न छन् :
• समाचार उल्टो पिरामिड शैलीको हुनुपर्छ
• समाचार बुझ्न सजिलो हुनुपर्छ
• स्पष्ट अर्थ बुझाउने हुनुपर्छ (राम्रो वा नराम्रो, कालो वा सेतो, विरलै मात्र समाचार 'खैरो' हुन्छ)
• सम्वाददाताले अभिजात वर्गलाई मात्र नपछ्याएर निम्न वर्गका कठिनाई र गतिविधि पनि उल्लेख्य रूपले समाचारमा समावेश गर्नु पर्दछ।
• आकर्षक र लोभलाग्दो प्रस्तुति पनि समाचारको मूल तत्व हो।
त्यस्तै, अध्यागमन वा आप्रवासीहरूका गतिबिधिहरूमा समाचार बनाउदा माइग्रेसनबारे बुझेको, विविध स्रोत चयनगर्न सक्ने, आप्रवासी संघ, प्रतिनिधि प्रवक्ता र आप्रवासी समुदायका विशेषज्ञहरूसँग सम्पर्क तथा सम्वाद गर्न सक्ने पत्रकार हुनुपर्छ।
यसो गर्दा हामि नेपाली आप्रबासीहरूको अन्य आप्रबासीसँगको सम्बन्धका आधारहरू, मुद्दाहरूबीचको समानता,सहकार्यको सम्भावना र झेलिरहेको समस्या तथा अरू आप्रबासीहरूको अनुभवलाई पनि सश्लेषण गरेर फिचर लेख्न सकिन्छ।
विशेषगरी अन्य समूहहरूद्वारा रिपोर्ट गरिएका समाचारलाई आधार बनाउन सकिने कतिपय विशिष्ट कुराहरू हुन सक्छन्। उनीहरूका समाचारपत्र वा टिभी/रेडियो च्यानलको स्वामित्वमा रहेका व्यक्तिहरूको राजनीतिक सम्बद्धता र प्राविधिक मुद्दाहरू हामीसँग मिल्दा जुल्दा छन् वा छैनन् ? बुझ्न सकिने भयो। अर्थात् आफू अगाडी बढ्न अरू आप्रबासी पत्रकार र मुलधारका पत्रकारहरूको स्तरबारे सामान्य ज्ञान हुनैपर्छ।
सामान्यतया यो प्रक्रियाले एकातिर आप्रबासी अन्तरघुलनलाई मद्धत गर्दछ भने अर्कोतिर आफ्नो स्तरको मापन गर्दै उनीहरूबाट सिक्न पनि मद्धत गर्ने भयो। यसले आप्रबासी समाचारलाई हरेक समुदायमा कुन दृष्टिकोणबाट हेरिन्छ भन्ने थाह हुन्छ। समाचार बनाउने प्रक्रियामा मिडियाले भर परेका स्रोतहरूबारे थप अनुसन्धान गर्न र अरूका अनुभवबाट सिक्न सकिने कुरा धेरै हुन्छन्। ठोस रूपमा, बहसले माथिको शिर्षकको लागि निम्न विषयहरूको पहिचान गर्न मद्दत गर्ने छ:
• प्रवासीका बारेमा जब केहि सनसनीपूर्ण र रिपोर्टिङ गर्न लायकको समाचार आउँछ, तब माइग्रेसन सम्बन्धी समाचारहरूले प्रवासीहरूमा विश्वासको विबिजारोपण गर्छ।
• सामान्य पत्रकारहरूलाई नियतबस प्रभाव पारि समस्याका एजेन्डालाई ओझेलमा पार्दै आप्रवासन सम्बन्धी मुद्दाहरू समाचारमा लुकाइने गरिएको छ, यसले समुदायको पत्रकारप्रतिको विश्वासलाई धरासायी बनाउँछ।
• आफ्नो रिपोर्टिङको गुणस्तर र विश्वासनियताको बारेमा चिन्तित धेरै पत्रकारहरू जब व्यक्ति प्रभाव,राजनीतिक तथा अन्य संकीर्णता भन्दा माथि उठेर रिपोर्टिङ गर्न थाल्दछन, तब समुदायको लागि आवश्यक, रिपोर्टिङ गर्न लायक मुद्दाहरू समावेश गर्न सक्छन।
• समाचार वा सुचनामा उठाईएका मुद्दाहरू निजीकृत, भावनाले भरिएका कथाहरू जसले व्यापक समुदायको चासोलाई त बढाउँछ, तर त्यसले तथ्यलाई बंग्याउन सम्भावना पनि रहन्छ। त्यसबारे पत्रकारहरू सजग हुन जरूरी छ।
बसाइँसराइँका कारण उत्पन्न 'मानव मनोदशा' र 'दैनिक' गतिविधि देखाउने कथाहरू हाम्रा मुख्य प्लट हुन् तर आप्रबासीलाई दलाल वा मानव तस्करद्वारा लुटिएका र रंगभेदमा परेका प्लटहरू आदिले समुदायलाई सचेत गराउँदै सूचनाकर्मी प्रति समेत बिश्वासको वातावरण निर्माण गर्छ।
• पत्रकारहरूले प्रायः आप्रवासी,प्रबासी समुदाय, गैरसरकारी संस्थाहरू र अन्य गैर आप्रवासी सम्बन्धी मुद्दाहरूको लागि भरपर्दो स्रोतहरूसँग परामर्श गर्नुपर्छ।
भन्नाले हामी पत्रकार हौँ भने सम्बन्धित सबैसंग प्रतिक्रिया लिएर समाचारका प्लटहरू निर्माण गर्नु जरूरी हुन्छ। यसले पत्रकारिता प्रति समुदायमा विश्वास आधार निर्माण गर्न मद्धत गर्ने छ। वास्तवमा सुचना विशेषज्ञहरूले आप्रवासी आवाजहरूको हुलाकीको रूपमा भूमिका खेल्न अति आवश्यक छ।
• मिडियाको रिपोर्टिंग बिना आप्रवासी आवाजहरू सुनिदैन भन्ने समुदायमा जुन चिन्ता हुन्छ,त्यसकालागि फलोअफ रिपोर्ट पनि उति नै जरूरी देखिन्छ। फलोअफले पीडित व्यक्ति वा साक्षीलाई समाचारको स्रोत व्यक्ति बन्नको लागि उत्प्रेरकको भूमिका खेल्छ।
विश्वासनीयताको चिन्ता :
आप्रवासनका कारण युरोपेली समाजहरू बहुसांस्कृतिक र जातीय विविधता सहितसंगै बसेका छन्। EU27 मा प्रकासित डाटा अनुशार करिव ५७ मिलियन विदेशमा जन्मेका व्यक्तिहरू युरोपमा बसोबास गर्छन्। जनसंख्याको करिब १३ प्रतिशत आप्रबासीको यो जमातभित्र नेपालीहरू धेरै कम छन्।
आप्रबासी मिडियाको खबरदारी नसुनिएका कारण युरोपियन देशहरूले दोस्रो पुस्ताका आप्रवासीहरू वा जातीय अल्पसंख्यकहरूलाई तथ्यांकमा समावेश नगरेर थोरै देखाउने प्रयत्न गरेको छ। त्यसले कालान्तरमा हाम्रो पहिचानको अधिकारमा नकारात्मक असर पुर्याउछ।
यी बाहेक विविध जातिय र सांस्कृतिक समुदाय भित्रका समस्या,सांस्कृतिक उत्पीडन,भाषागत समस्या र रेसिजमबारे युरोपेली आमसञ्चारमा ठीकसँग समाचार आउने गरेका छैनन्। न त मूलधारको मिडियामा आप्रवासीहरूको चित्रण र प्रतिनिधित्व नै भएको छ। एनआरएन पत्रकारहरूको लागि यो युरोपको मात्र नभएर संसारभरिकै आम समस्या हो।
यद्यपि आप्रवासन र मिडिया सम्बन्धी विभिन्न अध्ययनहरूले आप्रवासन समस्याभित्र नकारात्मकका साथै सकारात्मक प्रवृतिहरूलाई पनि प्रष्ट रूपले देखाएका छन्। सामान्यतया यो स्वीकार गरिएको छ कि आप्रवासन र एकीकरणका मुद्दाहरू ठिक ढंगले सम्बोधन गरिएन भने कालान्तरमा 'सभ्यताहरूको टकराव' को रूपमा यसले असामान्य रूप लिने छ।
त्यो अवस्थाको निराकरणको लागि पत्रकारहरूले यहाँका मुलधारहरूसंग ब्यबस्थित सम्बन्ध स्थापित गर्दै राज्यलाई दबाब दिइरहनु जरूरी छ। अन्यथा हाम्रा समाचार यहाँको राज्य संयन्त्रको नजरमा पर्ने छैन र बिना दवाव हाम्रा मुद्धाबारे राज्य पक्षले उचित चासो लिने छैन।
समाचार र यसका प्लटहरू :
समाचार सम्भवतः एक मात्र 'चर्चासात्मक अभ्यास हो ... जुन प्रेस र टेलिभिजनमा समाचारको रूपमा धेरै पटक सुन्ने,पढ्ने र देख्ने गरिन्छ।' त्यसैले भनिएको होला, समाचार एक 'छोटो निमेषको सूचना हो, जसलाई दैनिक ताजा बनाइरहनु पर्छ।'
अर्को शब्दमा भन्दा समाचारले धेरैजसो अस्थायी प्रकारको सत्यलाई प्रतिनिधित्व गर्दछ, जुन सत्य भोलिपल्ट महत्वहीन बन्दछ। अर्कोतर्फ, संसारमा भइरहेका सबै नयाँ घटनाहरूलाई समाचारमा समाबेश गर्न सकिँदैन। समाचार बन्नको लागि उक्त घटना सामान्य श्रोता वा दर्शकहरूका लागि उपयुक्त र सान्दर्भिक हुनु जरूरी हुन्छ।
सबै पत्रकारहरूले हेक्का राख्नु पर्दछ कि आम चासो र महत्वका मुद्धाहरूको उचित छनौट र प्रस्तुति कला बिना एउटा गतिलो समाचार बन्दैन। आम चासो र महत्वका मुद्धामा मात्र मानिसले चाख दिन्छ।
त्यो मुद्धालाई माथि बताइएको विधिबाट प्रस्तुत गर्न सकियो भने मात्र पत्रकारिता प्रति मानिसको विश्वास पैदा हुन्छ। त्यसैले पत्रकारिता प्रति आप्रवासी समुदायको बिश्वास नै समाचार लेखनको निर्णायक पक्ष हो भन्दा हुन्छ।
समाचार ल्याउने र समाचार बनाउनेबीचको भिन्नताको सन्दर्भमा पनि हामीले फरक छुट्याउन सक्नु पर्छ। अर्को गरि भन्दा, समाचार सङ्कलन प्रक्रिया र समाचार बनाउने प्रक्रियालाई फरक किसिमले बुझ्नु पर्छ। समाचार मुख्यतया विभिन्न स्रोतहरूबाट जानकारी सङ्कलनसंग सरोकार राख्दछ।
एउटा सम्वाददाताले तथ्यलाई मात्रै प्रस्तुत गर्दैन, त्यसलाई निश्चित अर्थ दिने गरेर सूचनालाई छनोट गरी समाचार निर्माण गर्छ। समाचार सङ्कलन रिपोर्टिङको महत्त्वपूर्ण भाग हो।
नेपालमा, समाचार सङ्कलनलाई राष्ट्रिय समाचार समितिमा ल्याएर अरूले लैजाने नेटवर्क बिन्दु बनाइएको थियो। जसले अझैसम्म सूचनाको हबको रूपमा काम गर्दै आएको छ। तर डिजिटल मिडियाको आगमनले अचेल बिस्तारै सुचनाको नेटवर्क नाम मात्रको हुँदै गैरहेको देखिन्छ। समाचार घरहरू बढेसंगै सुचना केन्द्रहरूलाई पनि निजीकरणले पछ्याएको छ।
अन्तराष्ट्रिय रूपमा पनि सूचना बिक्रीको लागि राखिएका धेरै एजेन्सीहरू छन्। यसरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको लागि काम गर्ने व्यक्तिहरूले आफ्नो रिपोर्ट, पाठ, चित्र वा अन्य समाचार सामग्री एजेन्सीलाई दिन्छन वा बेच्दछन। त्यो सुचनालाई एजेन्सीसँग सदस्यता लिएको मिडियाले किनेर आफ्नो आउटलेटहरूमा पुन: वितरण गर्दछ।
पछिल्लो दुई दशक यता सूचना हस्तान्तरणको गति निकै बढेको छ; फ्याक्स र टेलिक्सलाई इमेल र इन्टरनेटले प्रतिस्थापन गरेको छ। ती प्राविधिक परिवर्तनहरूले सूचनाको समय र स्थानको आयामलाई निकै असर गर्यो। कम्प्युटर र स्मार्ट फोनको आविस्कारले तत्काल टाढाका ठाउँहरूबाट तस्विर, भिडियो, प्रत्यक्ष अन्तर्वार्ता सहित जानकारी सङ्कलन र पुन: वितरण गर्न सम्भव बनाइदियो। यहि आविस्कारले गर्दा एजेन्सी वा सुचना बिक्रेताहरूको केन्द्रलाई धरापमा पारिदिएको छ।
पत्रकारिताको रूपान्तरणका चुनौती:
पत्रकारितामा विश्वसनीयताको महत्वपुर्ण शर्त हो समाचार प्रसोधनको आधुनिक विधि। आईसीटी प्रविधिको पछिल्लो विकासले पत्रकारिताको क्षेत्रमा र विशेष गरी समाचार संकलनमा महत्वपूर्ण गुणात्मक परिवर्तन ल्याएको छ।
एकातिर, स्मार्ट फोन, वायरलेस इन्टरनेट सञ्जाल, साना ल्यापटप तथा डिजिटल क्यामेराको विकास र सस्तो मूल्यमा तिनीहरूको व्यावसायीकरणले धेरै नागरिकहरूलाई सम्भावित पत्रकारिता उपकरण प्रदान गरेको छ,जसद्वारा अब मानिसले आँफै जानकारी सङ्कलन गर्न र संकलित जानकारीहरू अन्य प्रयोगकर्ता वा पत्रकारहरूलाई सजिलैसँग उपलब्ध गराउन सक्छ।
यसका साथसाथै सामाजिक सञ्जालको विकास र द्रूत प्रसारले पत्रकार वा मिडिया आउटलेटको हस्तक्षेप बिना प्रयोगकर्ताले आफ्ना समाचारहरू अपलोड गर्न सक्ने प्लेटफर्म पनि उपलब्ध गराएको छ।
सामाजिक सञ्जाल जस्तै फेसबुक र युटूबले पनि गुणक प्रभावको लागि सुचना सेवा प्रदान गर्दै आएका छन्। तिनीहरूले विभिन्न जानकारीहरू मिडियाबाट फिल्टर नगरी विश्वका अन्य भागहरूमा विभाजित सेकेन्डभित्र आदान प्रदान र साझेदारी गर्न सक्दछन।
यहिनेर कच्चा समाचारको प्रसोधन बिना गरिने प्रसारणले पत्रकारिता पेशालाई चुनौती थपि दिएको छ। जसलाई ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ भनेर युनेस्कोले संसारभरिका मिडियाकर्मीसंग उरूग्वेमा अन्तराष्ट्रिय बहस चलायो। त्यसको निष्कर्ष अनुसार,'सामाजिक संजाल र सूचना नियन्त्रणलाई एकछत्र हल्लाइरहेको सिलिकन भ्यालीको सफ्टवेयर कन्ट्रोल रूममा के कुरा बढाइचढाइ गर्ने र के चाहिँ नगर्ने भन्ने डिजाइन गरि प्रसारण गरिनाले पत्रकारिता धरापमा परेको छ।
संजालका सञ्चालकहरूले मानवीय मूल्य र समुदायको हित भन्दा पनि नाफालाई महत्व दिइरहेका हुन्छन्। संजालमा सम्पादकीय मूल्याङ्कन शून्य रहन्छ। यस्तो सञ्चारमाध्यमका लागि उपभोक्ता झुम्मिने हरेक कुरा उचित भइदिन्छन्। चाहे ति लैंगिक वा जातीय विभेदकारी स्क्रिप्ट हुन् वा अन्धराष्ट्रवादी उन्मादको स्क्रिप्ट, युद्धोत्तेजक ललकारहरू हुन् वा घृणा फैलाउने डिभाइस।
पत्रकारिताको संहितानुसार त्यहाँ समाचार वा सुचनाको फिल्टर गरिँदैन। त्यसैले यो क्लिकबेस सुचना प्रवाह पत्रकारितामा एउटा गम्भीर चुनौती हो भन्दा आत्युक्ति नहोला।'
सारमा भन्दा, अध्यागमन मुद्दाहरूमा समाचार बनाउने कुरा मुख्य रूपमा आप्रवासीहरूको घटनाहरूमा समाचार सङ्कलनसँग सम्बन्धित छ। माइग्रेसन गतिबिधिहरूबारे सुचना विज्ञता: विविध स्रोतहरूको चयन: आप्रवासी संघसंस्था, प्रतिनिधि बक्ता र आप्रवासी समुदायका विशेषज्ञहरूसँगको सम्पर्क तथा अन्तरक्रिया आप्रवासीहरूका बारेमा समाचार बनाउँदा नभई नहुने सर्तहरू हुन्।
प्रवासी र आप्रवासन सम्बन्धी मुद्दाहरूमा समाचार सङ्कलन र समाचार बनाउनेबारे :
पत्रकारिताको गुणात्मक परिवर्तनमा साधन र प्रविधी मात्र निर्णय हुन सक्दैन। हाम्रा समाचार तथ्यपरक र प्रसोधित भएर पनि अभिजात पक्षीयमात्र भए भने त्यसले पत्रकारितामा भुईबर्गलाई कटाई दिन्छ।
भुईँमान्छेहरूका समाचार, गतिविधि छायाँमा पर्नु भनेको अधिकतम समुदायबाट पत्रकारिता ओझेलमा पर्नु हो। त्यसैले नेपाली डायस्पोरामा पनि आप्रबासी नेपाली अधिकतम हिस्साको चासोलाई सर्वप्रथम सम्बोधन गर्ने गरेर समाचार बनाउनु पर्छ।
हामीले कदापि समाचार मूल्यहरू बिर्सेर स्वामित्वको प्रभाव राखेर,नियन्त्रणमुखी वा राजनीतिक सम्बद्धता सापेक्ष र प्रधान सम्पादकबीचको सम्बन्धको आधारमा अतिरन्जित समाचार बनाउनु हुँदैन।
पत्रकारिता धर्म तथा नीतिहरूको पृष्ठभूमि, सामाजिककरण र समुदायको सांस्कृतिक मूल्यमान्यतामा असर नपर्ने गरेर पत्रकारिता गर्दा नै समुदायको सद्भाव र विश्वास खल्बलिदैन।
अन्तमा, अध्यागमन मुद्दाहरूमा समाचार बनाउने कार्य मुख्य रूपमा आप्रवासी वा प्रवासी नेपालीहरूको चासोसँग जोडिएर आउँदा राम्रो हुन्छ। नेपालबाट विदेश पलायन हुने, उनीहरूका आपदविपद तथा उन्मुक्तिका समाचार बनाउँदा, प्रभाव क्षेत्र : विविध तथा स्रोत चयन: आप्रवासी संघसंस्थाको चासो, प्रतिनिधिमुलक बयान र आप्रवासी समुदायका विशेषज्ञहरूसँगको भनाई जस्ता कुरालाई सधैँ ख्याल गर्नुपर्छ।
प्रवासमा प्राय आप्रवासीहरू स्थानियहरूसंग सम्पर्कको अभावमा राजनीतिक रूपमा 'कमजोर' हुन्छन्। उनीहरूसँग स्रोत साधनमा सीमित पहुँच हुनुको साथै कुनै राजनीतिक अधिकार हुँदैन।
त्यस्ता ठाउँहरूमा मिडिया उनीहरूको सहारा बन्न सक्ने अवस्था रहन्छ। जस्तो कि मध्यपुर्वमा धेरै नेपालीहरू अर्ध अपहरित अवस्थामा रहेका समाचार आइरहन्छन। कतिपय देशहरूमा महिलाहरू दलाल वा बिचौलियाको चक्रब्युहमा परेर दाशिको रूपमा श्रम र शरिर बेच्न बाध्य छन्।
उनीहरूका समस्याहरू उनीहरूको जीवन र मृत्युसँग जोडिएका हुन्छन। त्यसैले हामीले समाचार बनाउँदा जीवनको महत्व र विशिष्टताको हेक्का राखेर बनाउनु पर्छ। जसले प्रवासमा नेपाली पत्रकारिताको महत्व र विश्वासलाई धेरै माथि उठाउने छ।
प्रवासी र आप्रवासन सम्बन्धी मुद्दाहरूमा समाचार सङ्कलन र समाचार बनाउन बिषयबस्तुको छनौटमा युरोपमा अलिक फरक परिवेश छ। कानुनी श्रेष्ठता र स्वतन्त्र पत्रकारिताको लागि अग्रिणी देशहरूमा आप्रवासी विषयहरूको सन्दर्भमा फरक ढंगले रिपोर्टिंग गरिन्छ।
यहाँ जुनसुकै आप्रबासी समुह वा व्यक्तिलाई आफ्नो अधिकार दावी गर्ने स्वतन्त्रता छ। त्यसैले उनीहरूले आफ्ना मागहरू, अवरोधहरू र अवस्थाकाबारेमा पत्रकारलाई भेटेर वा संजालबाट समेत जानकारी दिन सक्छन।
ती मुद्धाहरूलाई युरोपका नेपाली पत्रकारहरूले प्रकाशन र वितरण गरिरहेका पनि छन्। तर हामी नेपाली मुलका पत्रकारहरूले यहाँको मुलधारसंगको समन्वयमा त्यति चासो दिएका छैनौँ। यहि कारण नेपाली समुदायका गतिविधिबारे युरोपियनहरूले यथेष्ट जानकारी पाएका छैनन्।
हाम्रा समस्यामा उनीहरूको ध्यान नजानुको पहिलो कारण यहि नै हो। त्यसैले भन्नै पर्ने हुन्छ, युरोपमा हाम्रो आप्रबासी समस्या वा भनौं पहिचान,मानव तस्करी वा शोषणको समस्या र अन्य अपराधिक गतिविधिबारेको समस्या पत्रकारको अन्तरघुलनसँग जोडिएको छ। यो समस्या हाम्रो मुलधारका मिडियासंग समन्वयात्मक एकीकरण हुन नसकिरहेको अबस्थाबाट गुज्रिरहेको छ।
हामी हाम्रो समुदायसंग मात्र परिचित छौं। स्थानीय सरकार र समुदायसंग हामी स्थानीय भाषामा सुचना सम्प्रेषण नभएकै कारण कटिएका छौं। अबको हाम्रो ध्येय र लक्ष युरोपियन स्थानीय भाषाको सिकाई र सूचना सम्प्रेषणसंग जोडिनु आवश्यक मात्र नभएर अनिवार्य छ।
त्यसले नै हाम्रो अन्तरघुलन समस्यालाई सहज बनाउँदै नेपाली पत्रकार र पत्रकारितालाई युरोपको सबै क्षेत्रमा अझ विश्वाशिलो र भरपर्दो बनाउने छ।
त्यसपछि मात्रै एनआरएन पत्रकारहरू रूपान्तरण प्रक्रियामा जाने छौँ। प्रवासी पत्रकारहरू आफैँँ रूपान्तरण नभई प्रवाशको नेपाली पत्रकारिताको रूपान्तरण कदापि सम्भव छैन।
(डिल्ली अम्माई नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष र अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका अध्यक्ष हुन्।)