ताप्लेजुङका निश्चल बस्नेतको सानैदेखिको सपना थियो, ड्राइभर बन्ने। घुम्न र रमाइलो गर्न रुचाउने उनी गाडीको ड्राइभर बनेर सहर डुल्न चाहन्थे।
सानोमा उनलाई कसैले ठूलो भएर के बन्छस् भनेर सोध्दा उनी खुसी हुँदै ‘ड्राइभर’ बन्छु भन्थे। त्यसैले त उनको ध्यान पढाइमा भन्दा पनि धेरै चालक बन्नेमा थियो। नभन्दै उनी स्कुल पढ्दै गर्दा ट्रकमा काम गर्ने भइसकेका थिए। त्यही पनि सहचालक रुपमा।
१५ वर्षका निश्चललाई खलासी बनेको देखेर गाउँका मान्छेले कुरा नकाटेको पनि होइन तर उनले गाउँलेको कुरै सुनेनन्। ‘मैले खलासीको काम गर्दा सबैले सचिवको छोरा भएर पनि खलासी बनेछ भनेर मेरो खिल्ली उडाउथ्यो तर मैले गाउँलेको कुरामा चासै देखाइनँ’ उनले भने, ‘तर विस्तारै मेरो परिवारलाई पनि गिज्याउन थाले।’
उनको आमा सचिव थिइन् त्यसैले उनले स्कुलै नपढी कक्षा १० को परीक्षा दिए। जसमा उनी दोस्रो क्षेणीमा उत्तीर्ण भए।
१० कक्षा सक्काएर उनले काठमाडौं आउने निधो गरे। तर उनलाई आमाले जान्नै दिइनन् र कक्षा १२ सम्म पढ्न आग्रह गरिन्। आमाको कुरा मानेर उनले कक्षा १२ पनि पढे। त्यसपछि उनले आफ्नो कामलाई निरन्तरता दिन थाले।
पढाइ सकाएपछि खलासी काम गर्ने उनले ‘डाइभिङ’ पनि सिके। जुन उनको सानैदेखिको इच्छा थियो। गाडीको ‘स्टेरिङ’ घुमाउन जानिसकेका उनले ‘लाइसेन्स’ निकाल्ने सोच बनाए।
उनले लाइसेन्स बनाउनका लागि घरमा खर्च मागे। तर उनलाई आमाले पैसै दिइनन्। उनको कुरा सुनेकी आमाले भनिन्, ‘गाडीको काम गर्न छाडिस् र राम्रोसँग पढिस् भने जति पैसा पनि दिन्छु तर भनेको मानिनस् भने एक रुपैयाँ पनि पाउँदैनस्।’
आमाको जवाफ सुनपछि उनले आफैँ पैसा कमाउने सोच बनाए अनि काठमाडौं आउने निधो गरे।
भागेर काठमाडौं आए निश्चल बस्नेत
दुई दाजुका उनी कान्छो भाइ हुन्। त्यसैले पनि उनलाई कुनै दुखै थिएन। घरका सबै काम दाजुहरुले नै गर्थे। उनको काम भनेकै साथीभाइहरुसँग खेल्नु र वनवनमा डुल्नु थियो।
सानैदेखि माया पाएकाले उनी पुल्पुलिएर हुर्किएका थिए। उनी सानैदेखि आफ्नै खुसी गर्थे, बिना कसैको डर। त्यसैले उनी आफ्नै जिद्दीका कारण स्कुल पढ्दा पढ्दै ट्रकका खलासी बने, अनि ट्रकमा काम गर्दागर्दै उनी चालक बने।
डाइभिङ गर्न जानिसकेका उनी बस चलाउन चाहन्थे। त्यसैले लाइसेन्स निकाल्ने पैसा बनाउन उनी भागेर काठमाडौं आए।
‘काठमाडौं जान्छु भन्दा घरका मान्छेले जान दिएनन्’ उनले बिएल नेपाली सेवासँग भने, ‘त्यसपछि भागेर काठमाडौं आएँ।’
काठमाडौं आएका उनी सुन्धारामा बस्न थाले। ‘काठमाडौंमा चिनेको कोही मान्छे थिएनन् त्यसैले अङकलसँग बस्न थालेँ’ उनले भने।
निश्चलका अङकल धरहरामा काम गर्थे, सोहीकारण उनी पनि धरहरामा नै काम गर्न थाले। उनको काम थियो, ढुङगा बोक्नु।
धरहरामा काम गर्ने उनको जीवनशैली नै फेरियो। महिना दिनअघि गाडीमा घुम्ने उनी अहिले धरहरा वरपर ढुङगाा बोकेर घुम्छन्।
उनी भन्छन्, ‘म यहाँ मात्र लाइसेन्स बनाउनका लागि काम गरिरहेको हुँ, मेरो कामप्रति म धेरै खुसी छु। राम्रै पैसा कमाइरहेको छु।’
दिनको १० घण्टा काममा खट्ने उनलाई घरबाट फोन गरेर दसैँको लागि बाेलाइरहेका छन् तर उनी घर जान्नै चाहदैनन्।
‘मेरो परिवारलाई मलाई दसैँ मनाउन घर आइज बाबु भनिरहेकाे छ तर म जान्नँ किनकी मलाई लाइसेन्स बनाउनका लागि पैसा थुपार्नु छ’ उनले भने, ‘अब म लाइसेन्स बनाएर सक्कली ड्राइभर बनेपछि मात्र घर जान्छु।’