दसैँ खर्च जुटाउन धराहरामा पसिना बगाइरहेका मजदुर (भिडियाेसहित)

दसैँ खर्च बनाउनका लागि झापाका विश्व लिम्बू दुई महिनाअघि काठमाडौं आए। 

दसैँ पैसा कमाउनका लागि काठमाडौं आएका उनी धराहरामा काम गर्न थाले। उनको काम थियो, ढुङगा काट्नु।

दिनको ८ घण्टा ढुङगा काटेर आठ सय कमाउने उनी हिजोआज १२ सय रुपैयाँ कमाउँछन्। जसको कारण उनी दसैँलाई बताउँछन्।

‘दसैँ आइसकेको छ, त्यसैले ज्यादा काम गरेर पैसा कमाउँदैछु’ उनले भने, ‘दसैँको लागि पैसा कमाउन काठमाडौं आएँ त्यसैले काममा खट्दैछु।’

कक्षा १२ पास गरेका उनी योभन्दा पहिले ‘पलम्बर’ को काम गर्थे। तर त्यसबाट पैसा कमाउन नसकेपछि उनी ज्यामी काममा लागे। उनी भन्छन्, ‘पहिलेको भन्दा अहिले केही पैसा कमाइरहेको छु। पढेर मात्र हुँदैन रहिछ, काम गर्नु ठूलो कुरा रहिछ।’ 

आफू पढे्र पनि ज्यामी काम गर्न परेकोमा दुख पोख्दै उनले बिएल नेपाली सेवासँग भने, ‘नेपालमा पढेर पनि केही काम छैन रहिछ, आखिरमा काम गर्नुपर्ने मजदुर नै त रहिछ।’

त्यसैगरी शंखरापुरका लक्ष्मी नारायण मानन्धरको पनि दैनिकी बदलिएको छ। दसैँ नजिकिएसँगै उनी व्यस्त बनेका छन्। 

अरुदिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गर्नै उनी आजभोलि ६ बजेदेखि बेलुका आँखा देखुन्जेल काम गर्छन्। 

धरहरामा ढुङगा काट्ने उनले दिनकै १२ सय रुपैयाँ कमाउन थालेका छन्। ‘दसैँ आयो त्यसैले ओभर टाइम काम गर्दैछु, मलाई दसैँ खर्च बनाउनु छ’ उनले भने, ‘जहानलाई आफैँले पाल्नुपर्छ। मैले काम गरिनँ भने त हामी भोक्कै मछौँ।’

काठमाडौंका रैथाने उनी गरिबीका कारण पढ्न पाएनन्। त्यसैले उनी पैसा कमाएर आफ्नो छोराछोरीलाई धेरै पढाउन चाहन्छन्।

‘काठमाडौंमा घर छ भन्दैमा सबैले धनी सोच्छन् तर मेरो दुख मसँगै छ’ उनले भने, ‘पैसा नभएको कारण मैले पढ्न पाइनँ तर मेरो छोराछोरीलाई धेरै पढाउने छु।’ 

ताप्लेजुङका निश्चल बस्नेतलाई दसैँको चिन्ता लाग्न थालेको छ। काठमाडौं आएर धराहरामा काम गर्न थालेको महिनादिन बितिसक्दा पनि पैसा भेला पार्न नसकेका उनलाई दसैँले पिरोल्न थालेको छ। त्यसैले त उनी यो पटक गाउँ नजाने सोचमा छन्।

‘काठमाडौं आएर पनि पैसा कमाउन सकेको छुइनँ त्यसैले गाउँ नजाम कि भनेर सोचिरहेको छु’ उनी भन्छन्, ‘गाउँ गएँ भने पैसा कमाएर ल्यायो भनेर रमाउँछन् तर आफूसँग दसैँ मनाउने पैसै हुँदैन। बरु गाउँ नगयो ढुक्कै हुन्छ।’

ज्यामी काम गर्नअघि ट्रकका खलासी बनेर काम गरेका उनी अब लाइसेन्स निकाल्न चाहन्छन्।

‘ट्रकको खलासी बनेर डाइभर भएँ, त्यसैले अब पैसा थुपारेर लाइसेन्स निकाल्न चाहन्छु, बरु त्यसको लागि दसैँ पनि काठमाडौंँमै मनाउँछु’ उनले भने,  ‘खलासी बनेर पैसा कमाइनँ त्यसैले डाइभर बनेर पैसा कमाउन चाहन्छु।’

प्रकाशित मिति: : 2022-09-21 23:36:00

प्रतिकृया दिनुहोस्