हामी कतिपय आफ्नो जीवनमा केही गरौँ, केही उपलब्धि गरौँ, केही नाम केही दाम कमाउँ भन्ने सोच राख्छौँ। तर कति प्रयास गर्दा पनि हामीले आफूले सोचेजस्तो काम बन्दैन र हामी चाहेर पनि खुशी हुन सक्दैनौँ। हाम्रो जीवनमा हामी धेरैको संगत गर्छौं। अझ भनौँ कति त खास हुन्छन्, जसलाई हामी कहिलेकहीँ छुटाउन सक्दैनौँ भने कति यस्ता हुन्छन् कि हामी छोड्न खोज्दा पनि छोडिँदैनन्।
यी सबै सम्बन्ध वा संगत हाम्रो लागि एउटा लत बनेको हुन्छ। जसकाे कारण हामी आफ्नो हरेक कर्मलाई मोडिफाइ गर्नतर्फ लाग्छौँ। तर यिनै परिवेश भित्र पनि यस्ता केही व्यक्ति हुन्छन्, जो न केही काम गर्छन् न केही मद्दत अनि आफूलाई सधैँ आनन्दित बनाउन खोज्छन्। मानौँ आफू युवराज/युवरानी हो, मानौँ आफ्नो जीवनमा केही गुमाउनु छैन, केही पाउनु छैन।
यी युवराज/युवरानीहरु कस्ता प्रवृत्तिका हुन्छन् भने कहिले एउटाकोमा जाने, कहिले अर्कोकोमा जाने अनि ढलिमली गर्ने, मोबाइल चलाउने, सुत्ने, खाने। यस्तो लाग्छ कुम्भकर्णले कलियुगमा अझ २१औँ सताब्दीमा जन्म लिएको छ। यी यसरी चल्दै गरेका व्यक्ति समय र अवस्थाअनुरुप कुनै समयमा एकदमै ज्यादा प्रस्टेट हुने गर्दछन्। किनभने न उनीहरुको कुनै काम हुन्छ, न उनीहरुलाई काम गर्ने बानी बस्छ, न त कामप्रति र भविष्यप्रतिको कुनै सोच नै हुन्छ। जसका कारण हुँदा खाने, नहुँदा अर्काकोमा जाने भन्ने सिद्धान्त लागू हुन्छ। अर्थात यी व्यक्ति आफ्नो जीवनमा परजीवीको भूमिका निर्वाह गर्दै जान्छन्।
यसरी जो कोही आफ्नो कर्म गर्दैन, अर्काको कमाइमा आनन्दित हुन्छ, जो व्यक्ति आफू अरुको अन्न खाएर बिना कुनै कसरत आनन्दित हुन्छ वा भनौँ कसैबाट लाभ लिएर आफ्नो गर्नुपर्ने काम पनि गर्दैन, त्यस्तो व्यक्ति जीवनमा खुशी बन्न सक्दैन। न त उसले सफलता नै हासिल गर्छ, न त उसले कतै चित्त बुझाउने ठाउँ पाउँछ। किनभने उसकाे भाग्यको प्रतिफल उसके कर्मले काटिरहेको हुन्छ। अर्थात उसले गरेको मस्ती, उसले खाएको अन्न, उसले गरेको रजाइँ अनि उसले आफ्नो काम पनि अरुबाट गराउन थालेसी उसलाई कार्मिक दोष लाग्दै जान्छ।
यसले हाम्रो जीवनमा भाग्यका कारण पाउनु पर्ने अवसर, फल, सुख सबै बात्दै जान्छ। जसकाे कारण हामी कुनैबेला एउटा अनुमान गरेर काम सुरु गर्छौँ तर ठीक त्यसकाे आधा वा एकदमै कम्ति प्रतिफल प्राप्त हुन्छ। किनभने हामीले पाउने फल त हाम्रो अघिल्लो कर्मले काटेको हुन्छ। जसकाे कारण हामीले हासिल गर्न खोजेको उपलब्धि नजिक पुगेर पनि हामी बन्चित हुन्छौँ।
यस्तै यदि हामी कसैको साथमा आफ्नो जीवन निर्वाह गर्छौँ भने हामीले पनि उत्तिकै जिम्मेवारी निर्वाह गर्नुपर्छ, उत्तिकै कार्य गर्नुपर्छ। पायो भन्दैमा खाने-बस्ने, पायो भन्दैमा आफूले गर्ने काम पनि अर्काकै थाप्लोमाक हाल्ने वा अर्काकै मुख हेरेर बस्ने गर्यो भने हामी जतिसुकै भाग्यमानी भएपनि यानिकी हामी जतिसुकै खुशी वा एकात्मक भएपनि त्यो सबै क्षणिक हुनेछ। यसैको कार्मिक प्रभावले हामी चाहँदा नचाहँदै कसैको दासी बन्नुपर्ने छ। किनकि ऋण त हाम्रो टाउकोमा आएको हुन्छ।
त्यस्तै कुनैबेला हाम्रो संगत यस्तोसंग हुन्छ, जो एकदम क्रुर छ, जो अरुलाई रुवाएर, अरुलाई ठगेर, अरुलाई भ्रमित बनाएर खान माहिर हुन्छ। अनि हामी आफू सत्यवादी हुँ भन्दै उसैका पछि लागेर उसले कमाएको, उसले आर्जेको धनको उपभोग गर्छौँ। त्यस्तो धनको भोगले हामीलाई पनि उसकै जस्तो कर्म अनि उसकै जस्तो जीवनतर्फ उन्मुख गर्दै जान्छ। अर्थात हामीले सत्यलाई सत्य र असत्यलाई असत्य भनेनौँ र मूकदर्शक बनेर बस्यौँ अनि असत्यको संगतिमा बसेर त्यसकाे वाहवाह गर्यौँ, त्यसकाे समर्थन गर्यौँ, त्यसकाे कुनै कार्यमा मद्दत गर्यौँ, त्यसबाट प्राप्त भएको फलको आनन्द लियौँ भने पनि हामीलाई कार्मिक दोष पर्दछ।
साथै हामी राम्रो काम गर्छौँ, मानौँ एउटा मिस्त्रीले घर बनाउँछ, दर्जीले लुगा सिउँछ, शिक्षकले पढाउँछ, ब्राह्मणले पूजापाठ गराउँछ, ज्योतिषीले ग्रह गोचरको फलादेश गरेर केही आर्जन गर्छ। यी सबै कार्य एकदमै उत्कृष्ट हुन्छन् तर यिनबाट आर्जेको धन जो कोहीले यदि तामस भोगका निमित्त खर्चिन्छ भने यस्तोलाई पनि दोष लाग्ने गर्छ अनि उसले गरेको काम उसकाे कार्यकुशल्ताको आयु क्षीण हुँदै जान्छ। मतलब उसकाे क्षमता र ज्ञान बिलिन हुँदै जान्छ। जसका कारण उसले आफ्नो काम कर्ममा सन्तुष्टि प्राप्त गर्दैन।
यिनैबीच अर्को एउटा यस्ताे प्रवृति हुन्छ, जो शक्तिशाली बन्न अवश्य चाहन्छ। तर शक्तिको पहिचान र परिचालन दुवै गर्न सामर्थ्य राख्दैन। कतिलाई दैविक शक्ति वा दैविक तत्व प्राप्तिको इच्छा/रहर हुन्छ अनि अनेक तरहले त्यसकाे प्राप्तिको बाटोमा भौँतारिन्छन्। जाने सुनेका सबै टोट्का अपनाउँछन्, जानेसुनेका सबैसंग परामर्श पनि लिन्छन्। तर आफू भने त्यो अवस्था र त्यो तत्वको काबिल हुने कुनै कार्य गर्दैनन् अनि अपेक्षा भने अनेक राख्छन्। त्यस्ता व्यक्ति देवत्वको प्रकाश त चाहन्छन् तर मात्र देखाउन वा कुनै प्रतिशोधका निमित्त अनि आफूलाई महान कहल्याउनु नै उनीहरुको प्रमुख उदेश्य हुने गर्दछ।
प्राप्तिको त्यो यात्रामा उनीहरु यति खिचिन्छन् कि उनीहरु आफ्नो कर्म आफ्नो कार्य नै बिर्सिन्छ। कतिले त देवताप्रति भाव नै नराखी पूजन गर्छन् ताकी सिद्धी मिलोस् वा काम बनोस् भनेर। बिना भावको कर्म त बिना सासको मूर्ति समान हुन्छ भन्ने उनीहरुको चेतनाले बुझ्दैन। ती व्यक्तिहरु देखाउनकै लागि भएपनि पूजा गर्छन् अनि देखाउनकै लागि भएपनि आस्तिक बन्छन्। तर उनीहरु यति नास्तिक हुन्छन्, किनभने उनीहरुले देवत्व नै बुझ्न सकेका हुँदैनन् अर्थात उनीहरुमा भाव नै उत्पन्न भएको हुँदैन।
अनि जसलाई देवता र धर्मप्रति भाव उत्पन्न हुँदैन, उही त नास्तिक कहलिने हो। यी प्रवृत्तिका मानिस जो कोही हो। यिनीहरु तीर्थ, व्रत त गर्छन् तर मात्र प्राप्तिका निमित्त वा कसैले जाउ भन्यो भने त्यसकाे वास्तविक भाव त उनीहरुमा पलाएको हुँदैन। जसकाे कारण उनीहरु त्यो तत्व बुझ्न सकुन्, त्यो तत्व चिन्न सकुन्, यस्ता व्यक्तिको जीवनमा पनि देवत्वको दोष रहन्छ। किनभने उनीहरु भावरहित भएर देवार्चना गर्ने गर्दछन्, जुन व्यर्थ छ।
यसरी विभिन्न तरिकाले दोष भोग गर्दै हामी हाम्रो जीवनको उपलब्धि गुमाउँछौँ। अनि जो व्यक्ति आफ्नो त गर्यो-गर्यो तर अरुका जिम्मेवारी पनि पुरा गर्ने कोसिस गर्छ वा भनौँ आफ्नो सकेर अर्काको पनि कार्य सम्पादन आफैँ गर्छ भने त्यो व्यक्ति पनि उत्तिकै दोषी हुन्छ। किनभने भलै उसले मद्दत गर्यो तर उसले अर्काको कर्मको अभिभारा आफ्नो शिरमा लिएर आफूलाई उसकाे कर्मको भागी त बनाउँछ साथै उसले उसकाे ग्रह वा पूर्वार्दको पनि भोग आफूमा लिन्छ। जसकाे कारण जो व्यक्ति अरुको कार्य आफू सम्पादन गर्छ उ पनि दोषी रहन्छ। अझ जसकाे कार्यभार उसले जिम्मा लिन्छ एवम् सम्पादन गर्छ भने अर्को व्यक्ति कर्मबाट बिमुख हुदाको कारण आफू बनेर त्यस्को दुसफल आफूले भोग्ने गर्छ। त्यसैले कर्म जसकाे हो, उसैले गर्नुपर्छ। समय, अवस्था र परिस्थितिका कारण गरेका कर्ममा भने कुनै दोष हुन्न।
व्यक्ति कार्मिक बन्न जरुरी छ, तर अत्ति कार्मिकताले पनि भाग्य नाश गर्ने गर्छ। किनकि हामीले प्राप्त गर्ने भनेको आफ्नो शरीर र भौतिक अवस्था स्थिर रहुन्जेल हो। जस समय यो शरीर लड्छ, त्यसै समय धर्म, अर्थ, काम, मोक्ष, लोभ, पाप, शत्रुता, बैरता, प्राप्ती , फल सबै समाप्त हुन्छ। यो शरीरको संरक्षक मात्र हाम्रो दायित्व हो। अनि यसकाे सहि भोग हाम्रो कर्तव्य हो। यो छ हामी छौँ, यो छैन हाम्रो अस्तित्व त्यसै समय बिलिन हुन्छ। कर्म अनि दोष यी सबै कुराले हामीलाई आफ्नो गति वा दुर्गतीमा पुर्याउँछ। त्यसैले यी कुराको ध्यान गरौँ।