अस्ति,
पाठशालाबाट घर फर्किरहेका
एकझुण्ड साना नानीहरुले
आफ्नो च्यातिएको रित्तो झोला देखाउँदै
मसंग कापी र सिसाकलम मागे।
मैले उनीहरुको टाउको सुमसुम्याउँदै
ओठबाट झिकेर केही खुसीहरु
पोको पारिदिएँ
उनीहरुको रित्तो झोलाभरी।
खुसी हुँदै उनीहरु
आफ्नो वाचाल लिएर घर फर्किए।
हिजो
पाठशाला गइरहेका
तिनै साना नानीहरुले
एक पोको मुस्कान झिकेर ओठको झोलाबाट
रुञ्चे अनुहार लाउँदै
मसंग आफ्ना बेपत्ता बाबु मागे।
म दोषीजस्तो नतमस्तक उभिरहें
र चुपचाप–चुपचाप
ओठबाट झिकेर मौनता
मैले उनीहरुको अवोध आँखामा
आशाजस्तो क्षतविक्षत देशको अनिश्चितता भरिदिएँ।
रुँदै उनीहरु
आशा लिएर पाठशाला गए।
आज
गोधुली साँझमा
पाठशालाबाट घर फर्किरहेका
तिनै साना नानीहरुले
मेरैअघि
आक्रोशका अँसुहरु झार्दै
आफ्ना साना काँधहरु देखाउँदै
मसंग बन्दुक मागे
च्यातचुत पारेर झोलाबाट झिकेर
मैले दिएका मुस्कान र आशाहरु
मसंग बम र बारुद मागे
मैले उनीहरुतिर पिढ्युँ फर्काउँदै
खल्तीबाट झिकेर
आफ्नो चौर औंलाले
नेताजस्ता तस्बिर देखाइदिएँ
यसपालि भने उनीहरु
आँखामा तस्बिरविरुद्धको विद्रोह लिएर घर फर्किए।
अति सुन्दर मित्र