विभिन्न पार्टीमा लागेका तल्लो स्तरका कार्यकर्ता, सदस्य र शुभ चिन्तक प्रायजसो देशभक्त हुन्छन्, इमानदार हुन्छन्। हुन त सबैको आ-आफ्नै बुझाइ हुन्छ र हेराइ पनि विभिन्न नियतका हुने गर्छन्। मात्र हामीले उनीहरूलाई चिन्न सकिरहेका हुँदैनौं। यो अवस्थामा ती इमानदार देशभक्त नागरिकहरू उपेक्षित हुन्छन्। पार्टीभित्र इमानदार कार्यकर्ता हुँदाहुँदै पनि हामीले बुझ्ने भनेको पार्टीको सिद्धान्तलाई हो, सिंङ्गो पार्टीको उदेश्यलाई हो।
हामीले सोचेको वा चाहेको जस्तो क्रान्तिकारी, अनुशासित त आफ्नै घरमा पनि नभेटिएलान्, तर इमानदार भने थोरै-धेरै सबै पार्टीमा हुन्छन्। अलिकति हाम्रो हेराइमा आफ्नो र पराइलाई नियाल्ने दृष्टिकोणले मात्र बिगारेको हुन सक्छ।
यदि राष्ट्रियतालाई ध्यान दिएर मूल्यांकन गर्ने हो भने लगभग सबै पार्टीभित्र देशभक्त, क्रान्तिकारी, देशको लागि ज्यान फाल्न सक्ने लडाकुहरू पनि हुन्छन्। मात्र उनीहरूलाई सम्हाल्ने नेताहरू र सिङ्गो नेतृत्वको बहुमतहरूले उनीहरूलाई आफ्नो स्वार्थका लागि उपयोग गरेका हुन्छन्, आपसमा लडाएका हुन्छन्। उनीहरूले आफूभन्दा अर्को पार्टीका कार्यकर्तालाई आफ्नो दुश्मन जस्तो सम्झिने भुल गरेका हुन्छन्, यो नेतृत्वले उनीहरूलाई भ्रमित गरेर उक्साएको हुन्छ।
नेतृत्वमा त्यस्ता पक्षपाती, राष्ट्रघाती र जनघाती भ्रष्ट व्यक्तिहरूलाई जानबाट रोक्ने सबैभन्दा तल्लोस्तरका कार्यकर्ताले नै हो भन्नेबारे बुझ्न पनि जरूरी छ।
तलका कार्यक्रताहरूको थोरै गल्ती भनौं वा पार्टीको सिद्धान्तलाई बुझ्न नसकेका वा हामीले पठाएको व्यक्ति हाम्रो र सिंगो देशको प्रतिनिधि हुन्छ भन्नेबारे बिर्सिएर यस्ता खाले अवसरवादीहरूलाई छानेर प्रतिनिधि पठाएका हुन्छौँ। उही व्यक्ति भविष्यमा देशको नेतृत्वकर्ता बन्छ।
यो राजनीतिमा मात्र होइन, जुनसुकै सार्वजनिक कार्यमा यस्ता नियत भएका व्यक्तिहरूलाई अगाडि सार्नु हुँदैन। अपराधी रूझान भएका पक्षपाती वा भाइ-भतिजावाद, चाप्लुसी, जातीय झुकाव भएका तमाम खाले व्यक्तिहरूलाई सार्वजनिक कार्यमा अगाडि सार्दा समाजमा धेरै समस्या उब्जिन सक्छन्।
हामी जुनसुकै पार्टीका भएपनि पहिलाे त नेपाल आमाका सन्तान हौं, त्यसपछि मात्र पार्टीका नेता कार्यकर्ता हौं भन्ने कुरालाई मनमा गाँठो पारेर राख्नुपर्छ। अहिले लगभग देशका राजनीति पार्टीहरूको व्यवहारले यसबारेमा पुष्टि गरेको छ। हिजो हामीले आफूलाई फलानो पार्टीको भन्दै आपसमा लड्दै आएकाहरूलाई योभन्दा ठुलो शिक्षा अरू मिल्ने छैन।
अहिले देशभित्र कुन कम्युनिष्ट, कुन प्रतिकृयावादी हाे भनेर छुट्याउन सक्ने अवस्था छैन। सबै राजनीति पार्टीहरूको व्यवहार मिल्दाजुल्दा देखिन्छन्। त्यो ठिक छ कि बेठिक भन्ने त उनीहरूको व्यवहारले छुट्याउने हो, तर व्यवहार नै फरक देखिँदैन।
सर्वसाधारणले कम्युनिष्टका ठुला-ठुला ठेली पढेर अध्ययन गरेर छुट्याउलान् यो भन्नु मात्र कल्पना हो। लामाे समयदेखि पार्टीमा लागेका, जसले दिनरात एकले आर्कालाई कमरेड भनेर सम्बाेधन गर्छन्। उनीहरूलाई कमरेडको अर्थ थाहा छैन भने सर्वसाधारणले कुन असली कम्युनिष्ट हो, कुन नक्कली हो भन्ने कसरी छुट्याउन सक्छन्? यो चानचुने कुरा होइन।
जय नेपाल भन्नेहरूले पनि बुझ्नै पर्याे, नेपालको जय कसरी हुन्छ? केवल शब्द उचारण गरेर वा त्यो शब्दलाई आफूले कब्जा गरेर नेपालको विकास हुन सक्दैन। नेपालको जय हुनैपर्छ, प्रत्येक नागरिकले बिहान-साँझ जय नेपाल भन्नैपर्छ! तर देशलाई भ्रष्टचार मुक्तगर्ने, बेथिति बन्द गर्ने, राम्रो र मिठो शब्द प्रयोग गर्ने व्यक्ति पनि घरमा हुनुपर्छ।
देशभित्र भ्रष्टाचार, व्यविचार, बलात्कार, हत्या र हिंसा, जातीय विभेद, छुवाछुत आदि गर्दै पनि जाने वा आसपासमा भएको यस्तो व्यवहार देखेर पनि विरोध नगर्ने र मात्र 'जय नेपाल' भनेर नेपालको जय हुँदैन। त्यसको लागि आफ्नो आचरण सुधार, देशभक्त र न्यायप्रेमी हुनुपर्छ।
हामीले एउटा यो कुरा बुझौं, जुनसुकै पार्टीको व्यक्ति भएपनि हामी आपसमा कुनै नेताको उक्साइमा आएर न लडौं राम्रो व्यवहार गरौं। राजनीति प्रतिस्पर्धा भनेको वैचारिक हुनुपर्छ, त्यो पनि मैत्रीपूर्ण तवरबाट। एकआर्काको समस्या बुझेर, चरित्र बुझेर मात्र कुनै टिकाटिप्पणी गर्नुपर्छ।
नेताहरूले माथि जुनसँग पनि एकता गर्दै जाने तर उनैका कार्यकर्ता र समर्थकहरूमा तल भिडाउने जस्ता नराम्रा क्रियाकलाप भएका कैयौँ उदाहरणहरू छन्। अबका दिनहरूमा यो लठमार राजनीतिक नगरौं, वैचारिक छलफल त्यो पनि मैत्रीपूर्ण रूपबाट गरौं।
याद राखौं, हाम्रो जरूरत आफ्नो परिवार, आफन्ती, समाज र आफ्नो देशलाई सधैँ रहिरहन्छ। हाम्रो कुनै घटना हुने हो भने त्यो कमी कसैले पनि पुरा गर्न सक्दैन। तसर्थ चुनाव आएको बेला आवेगमा आएर कुनै पनि नराम्रो व्यवहार नगरौं, कसैलाई त्यसो गर्नका लागि नउक्साउँ। आ-आफ्नो मताधिकारको उपयोग सही ठाउँमा गरौं र गराउँ। हामीलाई माथि भनेको जस्तै सही देशभक्त र गणतन्त्रको पक्षमा र भ्रष्टाचारी, विदेशीका दलाल र प्रतिगामीहरूको विरूद्धमा मतदान गर्न भुल्नु हुँदैन।