सजिलै छाडिँदैन देश
सम्झनामा मेटिँदैन पखेराहरु
रोजीरोटीले दिलाएको नागरिकता
नागरिकता फेरिँदैमा मर्छ र राष्ट्रियता?
कहिले देखेको छैन
गोत्र फेरिएकी छोरीले
माइतीको माया मारेको
जिम्मेवारी बिर्सेर आँखा चिम्लेको
यो मुटुमा त्यही पहाडकाे चित्र खिचिएको छ
नसामा उनै आमाको रगत दौडिएको छ
पैतालामा त्यही माटोको कण टाँसिएको छ
पौरखी पसिनामा उनै बाको संघर्षको कथा
जोडिएको छ
फेर्ने सासले जिउँदो अनुभूति दिलाउँछ
नेपाली हुनुकै
म जहाँ जाउँ मेरो सोच र संस्कार
बोकेरै हिँड्छु आफैँसंग
मेरा भावना र विचारलाई
मेरो माटो र धर्मलाई
भूगोलको सिमाले बार लगाउन सक्दैन
सक्दैन हावाले मेरो विचारको दिशा बदल्न।
तिमी कगजको परिचयको कुरा गर्छौ
त्यो त च्याते च्यातिन्छ
फेरुँ फेरिन्छ
मेरो परिचय मै हुँ
म बद्लिन सक्दिनँ
मुटु झिकेर फेर्न सक्दिनँ
मैले म हुनुको जिकिर किन गरुँ?
म म नै हुँ, जुन लुगा लगाए पनि
जुन लेन्सकाे चस्मा लगाउँ
मेरा आँखाले
मेरै हिमली शृङ्खलाको फोटो खिच्छ
पर्फ्युम लगाउँ जुन ब्रान्डकाे
फरक पर्दैन
मेरो मनले
मेरै माटोको सुगन्ध खोज्छ
पिँजडामा थुन्दैमा वन बिर्सँदैन चराले
रुख र हागाँहरुसंगको प्रेम
जंगल र खोलाहरुसंगको प्रेम
घट्दैन झन्-झन् बढ्छ त्यसै-त्यसै