....अनि आमाकाे खुट्टा ढोगेर बिदा भएँ

सुदिप बराल

काठमाडौं
BreaknLinks
BreaknLinks

एउटी आमाले आफ्नो सन्तानलाई कति माया गर्नुहुन्छ भन्ने कुरा म आफैँले अनुभव गरेको छु।

कुरा आजभन्दा ९ वर्षअघिको हो। जब मेरा साइला दाइ एसएलसी दिएर काठमाडौं जादैँ हुनुन्थ्यो।

आफूबाट कहिल्यै टाढा नगएका छोरा काठमाडौं जाँदा मेरी आमा निकै भावुक हुनुहुन्थ्यो। आफ्नो सामानहरु पोको पारेर घरबाट बिदा मागेर काठमाडौं गएका दाइलाई मेरी आमाले टाढा नपुगेसम्म एकटक हेरिरहनुभयाे। तर दाइले एकपटक पनि घरलाई फर्किएर हेर्नुभएन।

जाने बेला दाइले घरलाई फर्किएर नेहेरेको भन्दै मेरी आमा मलाई अगाँलो हाल्दै रुन थाल्नुभयो। आमाले मलाई भन्नुभयो, ‘बाबु तेरो दाइले हामीलाई फर्केर पनि हेरेन!’

आमाको कुरा सुनेर म पनि आमासँगै रुन थालेँ। अनि बल्ल मैले बुझेँ, हामीलाई आमाले कति माया गर्नुहुँदो रहिछ।

त्यहीँ दिनकाे बेलुका मैले दाइलाई फोनमा आमा रूनु भएकाे सबै कुरा सुनाएँ। मेरो कुराले दाइलाई पनि नराम्रो लागेछ। उहाँले पनि रुदैँ भन्न थाल्नुभयो, ‘मसँग काठमाडौं जाने दाइले छोड्नुहुन्छ होला भनेर म हतारिदैँ आएँ।’

दाइको कुरा सुनेर मैले आमालाई फोनमा बोल्न लगाएँ, अनि बल्ल आमा र दाइको कुरा मिल्यो। त्यो दिनदेखि मैले आमालाई धेरै माया र सम्मान गर्न थालेँ।

गाउँबाट ‘एसएलसी’ दिएपछि पढाइलाई निरन्तरता दिन म काठमाडौं आएँ। म काठमाडौँ आउने बेला मेरी आमा उत्तिकै भावुक हुनुहुन्थ्यो जतिबेला दाइलाई बिदा गर्ने बेला हुनुन्थ्यो।

काठमाडौं जान लागेका छोरालाई बिदा गर्नका लागि बिहानदेखि नै भोक्कै बसेकी मेरी आमाले मलाई माया गर्दै भन्नुभएको थियो, ‘राम्रोसँग जाऊ है बाबु!’ आमाको कुरा सुनेर एक्कासी भक्कालिन थालेँ। अनि आमाको खुट्टा ढोगेर घरबाट निस्किएँ।

घरबाट टाढा पुगेपछि मैले आमा र घरलाई फर्किएर हेरेँ। मेरी आमा मलाई नै हेरिरहनु भएको थियो। अनि मैले परैबाट भएपनि दुई हात हल्लाउँदै आमासँग बिदा मागेँ।

जब म छुट्टी मनाउन गाउँ जान्छु तब सबैभन्दा धेरै मेरी आमालाई खुसी देख्छु। महिना दिनपछि आमासँग भेट्दा बच्चाझैँ आमाको काखमा सुत्न थाल्छु अनि काठमाडौंमा बिताएका मेरा दिनहरुलाई बेलीबिस्तार लगाउन थाल्छु। 
 

 

प्रकाशित मिति: : 2022-09-05 10:13:00

प्रतिकृया दिनुहोस्