२०६५ चैतमा भाइ मनोज बरालको छोराको व्रतबन्धको पार्टी थियो। त्यहाँ सिरहा, बस्तीपुरका धेरै निम्तालुहरू सम्मिलित थिए। प्रदीप गिरि चाहिं आइसक्नुभएको थिएन। तर, एउटा टेबल वरिपरि बसेका हामीले उहाँबारे निकै बेर कुरा गर्यौं। चाहे जीवनको कुरा होस् वा जगत्को, प्रदीप दाजु एउटा निरपेक्ष ‘रेफरेन्स’ हुनबाट कसैले रोक्न सक्दैन।
निकै ढिलो भएपछि मेरो मामा देवेन्द्र ढकाल (प्रदीप गिरिका एक प्रशंसक)ले आफ्नो घडीतिर हेर्दै भन्नुभयो, “उहाँको कार्यक्रम अझै सकिएको छैन जस्तो छ। स्रोताले सजिलै उम्किन दिँदैनन्। उहाँको त्यस्तै हो।”
मैले ठट्टा गरें, “नयाँ कुरा त प्रदीप दाजुले केही गर्नुहुन्न। सधैं उही पुराना मान्छे, पुरानो कथा, पुरानो सन्दर्भ। तर, किन होला उहाँप्रतिको आकर्षण कहिल्यै घट्दैन?” मामाको टिप्पणी सहज थिएन।