
सन्तोष न्यौपाने
‘समाचार आएकै कारण मेरो छोरी अपहरण गर्ने योजना बनाएका रहेछन्। तर पछि महेश बस्नेतको च्यानल हुँदै जाँदा सबै घटना हुन पाएन। किनकि अपहरण गर्ने भनिएका समूह उनै बस्नेत निकटका थिए।’
माथिको पंक्ति नेपालमा कार्यरत पत्रकारमध्येका एकको हो। उनले पत्रकारिताभित्रको रिस्कलाई केलाउँदै कफी गफमा मलाई सुनाएका थिए। कुनैबेला युरोप भ्रमणमा रहेका उनीसँग मेरो राम्रै भलाकुसारी भएको थियो। सोही क्रममा उनले आफ्नो मनमा रहेको पीडा पोखेका थिए।
माथिको प्रसंग अहिले बस्नेतसंग मिल्दोजुल्दो देखिन्छ। नगरपालिकाको काम, कर्तव्यलाई सहज रूपमा गर्न दिनु वा सहयोग गर्नुको साटो उल्टै विरोधसहित उत्रिनु एउटा उच्चस्तरको नेताको लागि पक्कै पनि शोभनीय नहुन सक्दछ।
त्यस्तै गरेर अर्को प्रसङ्ग को पनि कुरा गरौं। कुरो केही समय अगाडिको सत्य घटना नै हो। हामी केही साथीभाइ मिलेर सौराहा घुम्न गएका थियौं। जसले गाडी हाँकिरहेका थिए, ऊ ड्राइभर नै थियो। तर लाइसेन्स घरमा नै छुटेको थियो। हामीमध्ये एकजना कमेडी टाइपका साथी थिए। जाँदै गर्दा बीच बाटोमा चेकिङ पर्यो। सम्झना भएअनुसार दाउन्ने काटेपछि हुनुपर्दछ। अब परेन फसाद!
ट्राफिक प्रहरीले साथीसंग लाइसेन्स मागे। उसले घर छुट्यो भन्यो। ट्राफिकले जरिवानास्वरूप १ हजारको बिल थमाइदिए। बिल काट्नै लाग्दा त्यही कमेडी टाइपको साथीले ट्राफिक लाई भन्यो, ‘हेर्नुहोस् उसको लाइसेन्स छ तर अहिले छैन। घरमा छ। तर लाइसेन्स त बनाएको हो नि! तपाईंले यातायात विभागमा सोध्नु। त्यहाँबाट ल्याउनु। लाइसेन्स बनाउने ठाउँमा पनि छ लाइसेन्स!’ ट्राफिक मुर्मुरिए। बिल लिएर हामी लाग्यौं। लाइसेन्स साथमा हुने साथी चालक बने। पछि हामी साथीको व्यंग्यमा मज्जाले हाँस्यौँ।
धेरैपछि आज काठमाडाैँका मेयर बालेनले त्यही घटनाको सम्झनामा ल्याइदिए। अल्फाबीटासंगको वार्तालापमा घरको नक्शा नगरपालिकासंग छ भन्नु र हामीले लाइसेन्स यातायात विभागमा छ भन्नु उस्तै रह्यो। उता बिल तिरियो यता घर भत्कियो।
हिजो मात्रै काठमाडाैँका नगर प्रमुख बालेन शाहले नियमविपरीत भवन निर्माण गरेको भन्दै अल्फाबीटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले नेता महेश बस्नेतले कम्प्लेक्सको बचाउमा लागिपरे। जहाँ हजारौं प्रतिक्रिया बस्नेतको विरुद्धमा देखिन्छन् भने धेरै मिडियाहरुले बस्नेतलाई प्राथमिकतामा राखेर अनलाइन भरेको पनि भेटिन्छ।
कम्प्लेक्सका घरधनीको सम्बन्ध उच्चस्तरका राजनैतिक नेताहरुसंग भएपनि उनले देशको नियम, कानुन मान्नुपर्दछ। घरको नक्सा ल्याऊभन्दा नगरपालिकामा छ हेर्नु भनेर जवाफ दिनु शाेभनीय कदापि हुँदैन। जसमा बालेनको आक्रोश आउनु सामान्य नै हुन सक्दछ।
देशको राजधानी काठमाडाैँमा पार्किङ ठुलो समस्या छ। नियमविपरीत भवन निर्माण भएका छन्। उकुस-मुकुस, बग्रेल्ती छ। तर नियम मिचेर गरेका यस्ता कार्यमाथि काम कारवाही गर्दा उल्टो मेयरविरुद्ध राजनैतिक दलका नेता खनिनुले हामीले कस्ता नेता-कार्यकर्ता जन्माउँदै छौं भन्ने पनि देखाएको छ। यो सरासर गलत प्रवृत्ति हो।
बालेन एक स्वतन्त्र नगर प्रमुख हुन्। उनलाई कुनै पार्टीसंग लिनु-दिनु छैन। उनका हरेक भनाइबाट आफू देश बनाउन लागिपरेको प्रष्ट पारेका छन्। तर सुरुवाती दिनदेखि नै उनलाई चुनौती देखा पर्दै आएको छ। चुनौती छिचल्दै आगामी दिनमा कसरी बढ्ने हुन् त्यो हेर्न बाँकी नै छ।
देशदेखि विदेशमा रहेका नेपालीहरुले नगर प्रमुखले गरेको काममाथि स्याबास् भनिरहेका छन्। बालेनका पछि हजारौं युवाहरु भएपनि राजनैतिक दलहरुले बेलाबखत निकाल्ने बखेडाले कार्यमा असहजता प्रदान गरेको प्रष्टै देखिन्छ। यसतर्फ दलहरुले विरोध गर्नुको सट्टा उनलाई सहयोग गरेर विकास निर्माणमा अगाडि बढ्नु पर्दछ।
नेतृ रामकुमारी झाँक्रीले पनि आफूले आफ्नो पार्टीको कारण केही काम गर्न नसकेको फेसबुकमार्फत प्रष्ट पारेकी छन्। यसबाट पनि दलहरु विकास निर्माणको लागि कति बाधक छन् भन्ने देखाउँछ। बाधकलाई हटाउन वा सुधार गरेर लैजान झाँक्रीजस्ता नेताहरु सबै भण्डाफोर चिर्दै अगाडि बढ्नु आवश्यक छ। नत्र पार्टीले गरेका हरेक गलत क्रियाकलापलाई ढाकछोप गर्दै जाने हो भने हामीले सोचेको नेपाल कहिल्यै बनाउन सक्ने छैनौँ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया