पित्तथैलीको अप्रेसन गर्दा तीनवटा दाँत गायब

वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् । नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर निकालेका हुन् । मंगलबारको उक्त घटनाबारे पीडित ओझाले भनिन्, ‘अप्रेसन सकिएपछि बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै थिएनन् ।’ 

ओझालाई वार्डमा सारेपछि परिवारका सदस्यले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएको देखेका थिए । यसबारे उनीहरूले तत्काल चिकित्सकलाई प्रश्न गरेका थिए । अस्पताल र चिकित्सकले ‘अप्रेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको’ जवाफ दिएका छन् । 

‘अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन । पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन ।

बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ,’ वीरका निर्देशक डा. भूपेन्द्र बस्नेतको दाबी छ, ‘अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् ।’ 

प्रकाशित मिति: : 2022-08-22 06:22:00

प्रतिकृया दिनुहोस्