'कांग्रेस नेता भएपनि मेरो नजरमा कैयाैँ बामपन्थी नेताभन्दा अब्बल थिए, प्रदीप गिरि। अन्ततः उनी रहेनन्, प्रखर समाजवादी चिन्तकप्रति हार्दिक श्रद्धाशुमन अर्पण।'
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको देहान्तपछि बेल्जियम निवासी होम गुरूङले सामाजिक सञ्जालमा व्यक्त गरेको श्रद्धान्जली सन्देशले उनको लोकप्रियतालाई थप उजागर गरेको छ।
वैचारिक नेता गिरिले मृत्युपश्चात् पनि यस किसिमकाे दर्जा पाउनुमा उनी आफै याेग्य छन्, राजनैतिक चिन्तन–मनन, विचारमा विलक्षण र प्रस्तुतिमा स्पष्टता नै उनकाे प्रभाव हो। विगतमा राजनैतिक आस्थाका रूपमा असहमत तथा विरोधीहरूले पनि उनको क्षमताको कदर नै गर्थे। मृत्युपश्चात् पनि गरेका छन्।
बेल्जियम निवासी गुरूङ मात्रै होइन यतै बसेर नेकपा (एमाले)को सक्रिय राजनीतिमा लागेका चन्द्र शर्मा लेख्छन्, 'ठूलो बन्न खोजेनन् बरू असल नै बनिरहे। सामान्य दिनचर्या र उच्च विचार सहित नेपाली समाजलाई प्रजातान्त्रिक समाजवाद तर्फ अग्रसर गराउन लागिरहे प्रदीप गिरि।'
त्यस्तै, जनयुद्धकालदेखि नै सक्रिय राजनीतिमा लागेकी माओवादी नेत्री सुस्मा भुसालले पनि नेपाललाई र नेपाली जनतालाई आफूभन्दा उच्च स्थानमा राख्ने नेता गिरिको सादगी रूप सबैले सिक्नुपर्ने बताउँछिन्। भुसाल माओवादी केन्द्रकी शीर्ष नेत्री हुन्।
गुरूङ, शर्मा र भुसालसहित कैयाैँ नेपालीहरूले अध्ययनशील नेता गिरिलाई शब्दमार्फत् सम्मान गरिरहेका छन्। राजनैतिक आस्थाबाट हेर्ने हो भने यी सबै भिन्न छन्। तर आफ्नाे जीवनमा उनले गरेका राजनीतिक तथा सामाजिक कार्यहरूको सम्मान गरेका छन्। जसले गिरि 'नेपाली कांग्रेसबाहेक फरक आस्था, फरक विचार बोक्ने पार्टीका नेता–कार्यकर्तामाझ लोकप्रिय थिए' भन्ने पुष्टि गरेको छ।
हरेक पार्टीमा कुनै न कुनै नेताको निधन हुन्छ। निधनपछि पनि पार्टीका नेता–कार्यकर्तामाझ लोकप्रिय बन्नु चानचुने कुरो होइन। यसका लागि उनीहरूको जीवनशैली, उनीहरूले प्रवाह गर्ने विचार, बोल्ने शैलीले उत्तिकै प्रभाव पारेको हुन्छ। त्यसमध्येका एउटा पात्र हुन्, गिरि। जसलाई मृत्युपश्चात् पनि गुणगान गाउँदै श्रद्धान्जली अर्पण गरिरहेका छन्। जुन नेता गिरिप्रतिको उच्च सम्मान हो।
पहिलो र अन्तिम भेट
पत्रकारिताको सुरूवाती चरणमा पंक्तिकारकाे प्रदीप गिरिसँग पहिलो भेट कपिलवस्तुमा भएको थियो। उक्त भेट नै अन्तिम भेट बन्यो। त्यसपछि उनीसँग कहिल्यै भेटिएनन्। जिल्लाको वाणगंगा गाविस (हाल नगरपालिका) अन्तर्गत पर्ने बैरीयामा रहेको श्री बाल निम्न माध्यमिक विद्यालयमा नेपाली कांग्रेस कपिलवस्तुले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा गिरिसँगै थुप्रै नेता आएका थिए। सम्झना भएअनुसार उनी सादा पोसाक दौरा–सुरूवाल लगाएर पुगेका थिए। गिरिसँग वार्तालाप गर्ने मेसो चाहिँ पत्रकार सञ्जय न्यौपानेले मिलाएकाे सम्झना ताजै छ।
बुटवलबाट प्रकाशित हुने तिलोत्तमा दैनिकमा कार्यरत रहँदा न्यौपाने पत्रिकामा आउने पाठक प्रतिक्रियाको खोज गरिरहेका थिए। सोही क्रममा उनीसँग चिनजान भएको थियो। एक न्यौपाने अर्को तर्फ जिल्लाबासी भएको नाताले पनि केही समय हाम्रो सम्पर्क बाक्लियो। त्यतिबेला उनले कपिलवस्तुबाट कान्तिपुर दैनिकमा समाचार पठाउँथे। तिनै सञ्जयको कारण कांग्रेसी कार्यक्रममा प्रदीप गिरिसँग भेट हुने मौका मिलेको थियो।
'दाई अब तपाईंको गफ सुन्ने हो। मैले सबैलाई बोलाएर जम्मा पारेको छु,' ठट्टा गर्दै सञ्जयले प्रदीप गिरिलाई आग्रह गरे।
गिरिले पनि हाँस्दै सञ्जयलाई धाप मार्दै भने, 'तैंले जता गएपनि छाड्ने भइनस् हैन।'
अनि सबैजना सम्म भयाैँ। उनका राजनैतिक चिन्तनदेखि जीवन शैलीका गफ सुन्न थालियो। पत्रकार मात्रै नभएर उनलाई मन पराउने नेता–कार्यकर्ता जम्मा हुने नै भए। त्यो बेलामा गिरि एकदम रमाइला नेता, सबैसँग सजिलै घुलमिल हुने सादगी लाग्यो। जुन अहिले पनि मेरो मानसपटलमा त्याे पुरानाे दृश्य ताजै छ। त्यसपश्चात उनका हरेक अन्तर्वार्ता हेर्थे। कुनै संवाद छुटाइनँ।
भेटमा गिरिको सबैभन्दा मन परेको पाटो– अध्यात्म पनि थियो। उनी सरल स्वभावका नेताजस्ता देखिन्थे। उनका विचारबाट उनी गान्धीका अनुयायी हुनुको साथै माक्र्सवादका ज्ञाता रहेको प्रस्ट हुन्थ्यो। गफमा गिरिले मिसाउने आध्यात्मिक कुराले उनी रामायण, महाभारत, वेद, पुराण, उपनिषद् र गीतामा समेत राम्रो दख्खल राख्छन् भन्ने प्रष्टै हुन्छ।
जीवन र मृत्यु
मानिस जन्मेपछि मृत्युवरण गर्नै पर्दछ। मृत्यु शास्वत सत्य हो। जन्मिँदा सबै खुसी हुनु र मर्दा दुःखी हुनु प्रकृतिको नियम पनि हो। तर जन्मसँगै मृत्यु हुँदा आफ्नो इतिहास बनाएर जानको लागि कमैले मात्रै सक्दछन्। त्यसको लागि सोही अनुरूप जीवन प्रकियामा चल्नु पर्दछ।जुन प्रदीप गिरिबाट लिन सकिन्छ।
आजभोलि मानिस जिउँदो हुन्जेल कुनै वास्ता गरिँदैन तर मरेपछि भने उसको बढाई चढाई गरेर शब्द खर्चिने चलन धेरै छ। यो प्रक्रिया राजनीतिकर्मीमा धेरै हावी भएको पाइन्छ। तर प्रदीप गिरिको सवालमा यो पाइँदैन। उनलाई हरेक राजनैतिक पार्टीका नेता–कार्यकर्तालगायत सर्वसाधारणले रूचाएका छन्। उनको विचार, जीवनशैली र वाणीबाट प्रभावित हुने अत्याधिक छन्। यी सबै कुराहरूले पनि। गिरि मृत्युवरण गर्नुअगावै पनि सबैमाझ लोकप्रिय रहेकाे देखाउँछ।
अन्त्यमा,
नेपालका सबै नेताहरूले उनको जस्तै लोकप्रियता कायम राख्न सकून्। कांग्रेस नेता गिरिको देहान्तपछि आज सबैले देशको खम्बा ढलेको महसुस गरिरहेका छन्। त्यो महसुसलाई अरू नेताहरूले पूरा गर्न सक्नुपर्दछ।
जिउनु र मर्नु एउटा प्रक्रिया हो। तर यो बीचमा आफ्नो इतिहास रचेर अरूलाई पाठ सिकाउनु वा सिक्नु भनेको मृत्युपश्चात् पनि सदाका लागि जिउनु सरह नै हो। नेपाली माझ गिरि सधैं अमर रहिरहने छन्।