अखिल क्रान्तिकारीका नेपाल ल क्याम्पसका अध्यक्ष हुन्, विष्णु ढुङ्गेल। नेपालकाे विद्यार्थी संगठनको तत्कालीन अवस्था र वर्तमान विद्यार्थी आन्दोलनका बारेमा उनले फरक मत राखिरहेका हुन्छन्।
उनी विद्यार्थीहरुको हक हितका लागि धेरै आन्दोलनको नेतृत्व समेत गरिसकेका छन्। विद्यार्थी संगठनमा देखिएका समस्या र नेतृत्वहरूले गरेकाे गतिविधकाे बेला-बेलामा ढुङ्गेलले विद्रोहसमेत गरिरहेका हुन्छन्।
लामो समयदेखि विद्यार्थीकाे आन्दाेलनमा जाेडिएका उनै विद्यार्थी नेता विष्णु ढुङ्गेलसंग बिएल नेपाली सेवाको लागि ध्रुब बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
तपाईं त विद्यार्थी संगठनमा जोडिएको मान्छे, तत्कालीन विद्यार्थी संगठनको समस्याहरू के-के हुन्, किन यस्तो समस्या आइरहेकाे होला?
आजको विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलन साँच्चैको विद्यार्थीकाे हातमा छैन। विद्यार्थी संगठनकाे नेतृत्व वास्तविक विद्यार्थीको हातमा नरहेकाले आन्तरिक लोकतन्त्रसमेत मरिसकेको अवस्था छ। मुलभूत रुपमा विद्यार्थी संगठनहरुले वैधानिकतासमेत गुमाइसकेकाे अनुभूति गर्न सकिन्छ। आज विद्यार्थी संगठन नामको मात्र विद्यार्थी संगठन रहेको छ।
मुख्य नेतृत्वहरू जसलाई जे गर्न मन लाग्छ त्यही गरिरहेका छन्। अहिले विद्यार्थी राजनीति विद्यार्थीकाे वरिपरि छैन। देशमा भ्रष्टाचार, लुटतन्त्र, मिटरव्याजीलगायतको विभिन्न समस्याहरू छन्, यस्ता समस्याकाे बारेमा संगठनले बाेल्नुपर्ने हाे।
नव उदारवादी शिक्षाले देशमा प्राइभेट शैक्षिक संस्थाहरू माैलाइरहेकाे छन्। देशमा शिक्षाकाे व्यापार भइरहेका छ। तर आज सम्पूर्ण संगठनहरू धैर्य गरेर, चुपचाप, चिर निद्रामा बसिरहेको देख्न सकिन्छ।
आजभन्दा १५ वर्ष पहिले क्याम्पस जान छोडिसकेका व्यक्तिले अहिलेको विद्यार्थी संगठन चलाइरहेका छन्। यस्ता व्यक्तिहरूले विद्यार्थीकाे समस्या बुझ्न सक्दैन। बरू विद्यार्थी संगठनहरू कुनै राजनैतिक दलको वरिपरि मात्र रहने र माथिल्लो तहबाटै नेतृत्व छनोट हुने भएकाले खास यस्तो समस्या देखिएको हो।
वास्तविक विद्यार्थीहरू विद्यार्थी राजनीतिमा समावेश छैनन्। विद्यार्थी आन्दाेलनकाे इतिहास बोकेका हिजाेका विद्यार्थी संगठनहरू आज टाट पल्टिएर बसेको देख्न सकिन्छ। विद्यार्थीले नियमित नेतृत्व पाएकाे खण्डमा विद्यार्थीको आजको आवश्यकता र मुद्दालाई बोक्न सक्थे। तर राजनीतिको आडमा विद्यार्थी नेता भनिनेहरू नाम लिएर विद्यार्थी संगठनकाे नेतृत्व गरिरहेका छन्।
विद्यार्थीकाे नेतृत्व गरिरहेकाहरू नेताहरूको प्यारको रङ्ग मञ्चमा रहने, कोसंग सम्बन्ध राम्रो बनाए आफू राम्रोमा परिन्छ भन्ने मात्र चिन्ता छ। त्यसैले अबको नेतृत्व पार्टीको वकालत गर्ने हैन, विद्यार्थीकाे मुद्दा लिएर सडकमा आउनुपर्ने देखिन्छ।
विद्यार्थी आन्दोलनमा विकृति र समस्याहरू पनि देखिरहेकाे छ, यस्तो हुनुका कारणहरू के हुन्, यसलाई कसरी बुझ्ने?
अहिले विद्यार्थी संगठनहरू नव उदारवादी सिद्दान्तमा प्रवेश गरेको छ। विद्यार्थी आन्दोलन मौन देखिन्छ। कसैले मतलब गरेकाे देखिँदैन। खुल्ला रूपमा लाखौँ पैसा असुलेर क्याम्पसहरू चलिरहेको छन्। यस्ता मुख्य समस्याहरूमा अहिलेका विद्यार्थीहरू बाेल्न छाेडेका छन्। जस्तै चक्रवर्ती ल क्याम्पसले ३/४ लाखमा सकिने पढाइ एक्कासी १० लाख बढाएर लुटतन्त्र मच्चाइरहेको सबैलाई अवगत नै छ। कुनै संगठनकाे नेतृत्वले आजको विद्यार्थी आन्दोलन बुझ्न सकिरहेकाे छैन।
संगठनकाे नेतृत्व वास्तविक विद्यार्थीको हातमा नरहेकाेले पनि याे अवस्था आएकाे हाे। केही विद्यार्थी संगठनहरू त शिक्षाका दलालहरूसंग मिलेर आर्थिक चलखेलमा समेत सामेल भएकाले विद्यार्थीका मुद्दाहरू ओझेलमा परेका हुन्। हिजोको जस्ताे श्रम गरेर विद्यार्थी राजनीति हुँदैन, आज कुनै आन्दोलन बेचेर अथवा चन्दा उठाएर चलाइरहेका छन् विद्यार्थी आन्दोलन।
अबकाे आन्दाेलन नियमित विद्यार्थीलाई फिर्ता गरे संगठन चलायमान हुन्छ। विश्वविद्यालय पार गरेका विद्यार्थीले अबको दिनहरू के गर्ने? यस्तै कारणले गर्दा विश्वविद्यालयसमेत सक्षम विद्यार्थी होइन, बेरोजगार उत्पन्न गर्न थलाे रहेकाे मान्न सकिन्छ। त्यसैले विद्यार्थी आन्दोलनले नेता होइन, दास जन्माउने गरेका छन्।
नेपालको विद्यार्थी आन्दोलन यतिबेला अस्तव्यस्त देखिन्छ, किन यो अवस्था आएको होला?
नेपालका विद्यार्थी संगठनहरूले नेताहरूको चाकडी, गुलाम गरेर नेतृत्व लिने षड्यन्त्र गरिरहेका छन्। यो नेपालका सम्पूर्ण विद्यार्थी संगठनमा देखिएको प्रवृत्ति आफ्नाे दलकाे चाकडी हो। संगठनकाे कुनै अस्तित्व छैन, अस्तित्वविहीन देखिन्छ। किनभने यस्ता व्यक्ति नेताका गुलाम हुन्, जनताको वास्तविक साथी होइनन्। विद्यार्थी आन्दोलन संकटमा पुगिसकेकाे छ।
इतिहास हेर्ने हो भने विद्यार्थी आन्दोलन निकै गर्भिलो र छुट्टै पहिचान बाेकेकाे छ। २०३६ र ०४६ सालको परिवर्तनमा विद्यार्थीको एउटा छुट्टै राजनीतिक भूमिका थियो। २०६२/०६३ को जनआन्दोलनमा कठिन मोडहरूमा पनि आफ्नो मुद्दा कहिले छोडेनन्। निरन्तर आफ्नो मुद्दा उठाइरहे, तर अहिले त्यस्तो परिस्थिति छैन।
अहिलेका विद्यार्थी नेताहरू कुनै आन्दोलन विनाका नेता हुन्। अन्तराष्ट्रिय विद्यार्थी आन्दोलन, नेपालको विद्यार्थी आन्दोलन, विद्यार्थीहरूले बोक्नु पर्ने मुद्दा के-के हुन् भनेर कुनै एक केन्द्रीय नेतालाई सोध्नुस्, माैन रहन्छन्। किनकि उनीहरूमा याेग्यता छैन। उनीहरूले विद्यार्थीको मुद्दा बोकेकै छैनन्, मात्र सुविधाको राजनीति गरिरएका छन्। यिनीहरू दलाल हुन्, कुनै आशा गर्न सक्ने स्थिति छैन।
अब विद्यार्थी आन्दोलनमा जोडिन खोज्ने विद्यार्थीहरू कसरी अगाडि बढ्ने त?
आजको परिस्थितिमा विद्यार्थी आन्दोलन संकटमा देखिन्छ, यो सत्य हो। केही उर्जाशील मान्छेहरू पनि छन्, विद्यार्थी आन्दोलनमा कसरी केन्द्रीत हुने आजको गम्भीर विषय रहेको छ। किनभने बहस गर्ने र विद्यार्थी आन्दोलन कसरी अगाडि बढाउने भन्नु भन्दा पनि तल्लो तहका विद्यार्थीलाई प्रयोग गरेर दास बनाउने अहिलेका विद्यार्थी नेतृत्वहरूले गरेको देखिन्छ। गलत छ है भनेर फरक मत राख्ने अवस्था छैन।
यस्तो विषयहरू उठाएपछि अबको विद्यार्थी राजनीतिमा तिम्रो भविष्य छैन भन्दिने अवस्थासमेत उत्पन्न भएको देखिन्छ। तर यस्तो समस्यालाई सहज बनाएर लैजानु आजको आवश्यकता हो।
अब जोडिने विद्यार्थीहरू नेतृत्वलाई हस्तक्षेप गर्न सक्ने हुन सक्नुपर्छ। नियमित रूपमा स्ववियुको निर्वाचन गर्नुपर्छ भन्न सक्नुपर्छ। वास्तविक विद्यार्थीभन्दा अरूले विद्यार्थी राजनीति गर्न हुँदैन भनेर दवाव दिन सक्नुपर्छ। विद्रोह र वास्तविक विद्यार्थी नभएको खण्डमा नेताहरूलाई बिदाइ गर्न सक्ने हिम्मत राख्नु पर्छ।
जसले वास्तविक विद्यार्थीको मुद्दा बोकिरहेको छ र बहस गरिरहेको छ, उसलाई नेतृत्व दिन सक्नुपर्छ। तर विभिन्न विद्यार्थी संगठनको नाम लिएर सुविधा लिने, विद्यार्थीलाई प्रयोग गरेर आफू नेता बन्ने प्रवृत्ति रहेकाे देखिन्छ। त्यसैले आजको विद्यार्थी आन्दोलन हिजोको रूपमा निरन्तरता दिने हो भने यी कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ। यो आजको आवश्यकता हो।
लामो समय हुँदा पनि स्ववियुको निर्वाचन हुन सकेकाे छैन। के अब स्ववियु निर्वाचन आवश्यक छैन, निर्वाचन किन नभएको हो?
स्ववियुको निर्वाचन अहिलेको परिस्थितिमा नितान्त आवश्यक छ, हुन जरूरी छ तर भएको छैन। विद्यार्थी संगठन चलायमान छैनन्, अस्तित्व विहिन भइसकेका छन्। क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थीको मान्यता हुन छोडिसक्यो।
क्याम्पसमा विद्यार्थीहरूको वैधानिकतासमेत हराउन लागिसकेको छ। उमेर हदबन्दीको कारण आफ्नो पद सकिन्छ कि भनेर चुनाव गर्न छोडिसकेकाे अनुभूति गर्न सकिन्छ। हिजो जसले क्याम्पस सभापति जित्यो, आज पनि त्यो क्याम्पस विश्वविद्यालय उसकै भन्ने बनाउनका लागि भएपनि स्ववियुको निर्वाचन भइरहेको छैन। चाहने हो भने असम्भव भन्ने केही छैन। सबै विद्यार्थी संगठनले निर्वाचन हुनुपर्छ भनेर लाग्ने हो भने सहजै सम्भावना छ।
शिक्षामा भइरहेको विसंगति, महँगी, भ्रष्टाचार र क्याम्पसले गरेको गतिविधिलाई नियन्त्रण गर्नका लागि स्ववियु निर्वाचन हुनुपर्छ। यदि निर्वाचन भएन भने संगठनहरूले जीवन पाप्त गर्न सक्दैन।
यसको लागि अखिल क्रान्तिकारी जहिले पनि सकारात्मक छ। सबै संगठनहरूले रिटायर हुनुपर्ने नेता बोकेर हिँडिरहेको छन्। सम्पूर्ण संगठन विद्यार्थीको हातमा छैन, रिटायर भइसकेकाहरूको हातमा नेतृत्व रहेकाले यो समस्या उत्पन्न भएको मैले महसुस गरेको छु।
शिक्षामा देखिएकाे विकृतिकाे विषयमा त्रिभुवन विश्वविद्यालय मौन देखिन्छ, विद्यार्थी नेताहरु पनि चुपचाप छन्, यसबारे के भन्नुहुन्छ?
अहिलेकाे मुख्य समस्या भनेकाे शिक्षाको व्यापार गर्नेहरूले लगानी गरिरहँदा उचित शिक्षा पाउन सकिरहेकाे छैन। आम विद्यार्थीलाई नेपालमा कसरी शिक्षा प्रदान गर्ने विषयमा राज्य गम्भीर देखिँदैन। राज्यका दलाल, शिक्षाका माफियाहरूले शिक्षामा समेत दलाली गरिरहेका छन्। सहजै रूपमा हेर्दा त्रिभुवन विश्वविद्यालय आम नागरिकको हातमा छैन।
शैक्षिक संस्थाले राज्यबाट चुनावको बेला पैसा लिएर अन्य दिनमा जति लुटतन्त्र मच्च्याए पनि मौन बस्दिने भएकाले यस्तो अवस्था आएको हाे। शिक्षामा निजीकरण अन्त्य भएपछि सबै कुराको अन्त्य हुन्छ।
तपाईं अखिल क्रान्तिकारीकाे नेतृत्व गरिरहनु भएको छ, तपाईंकाे संगठनले गरेकाे वर्तमान कार्यहरू के-के हुन्?
नेपाल ल क्याम्पसबाट विद्यार्थीकाे नेतृत्व गरिरहँदा अखिलभित्र रहेका गलत कुराहरूकाे विषयमा विद्रोहकाे सुरूवात गरेका छौँ। ल क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा जेठो क्याम्पस भएकाले विश्वविद्यालय हुनुपर्दछ भनेर निरन्तर आवाज उठाइरहेका छौँ।
नेपालमा कानुन पढाउने कुनै पनि क्याम्पसहरू विश्वविद्यालयमा परिमार्जित हुन सकेका छैनन्। त्यसैले ल क्याम्पसहरू विश्वविद्यालय हुनुपर्छ। याे एउटा महत्वपूर्ण माग हो। अन्य क्याम्पसकाे तुलनामा कानुन पढ्नलाई ३ लाख २५ हजारको हारहारीमा पढ्न मिल्ने बनाएका छाैँ। अन्य चलखेल हुनबाट सचेत हुने वातावरण सिर्जना गरेका छाैँ।
विभिन्न विश्वविद्यालयहरूको समस्याको बारेमा चिन्तन, बहस, सेमिनार गरिरहेका छौँ। एउटा महत्वपूर्ण विषय २५ वर्ष मुनिकाहरूले मात्र नेतृत्व गर्नुपर्छ भनेका छौँ। अन्य संगठनमा पनि यसकाे प्रभाव परिरहेको छ। नियमित विद्यार्थीले मात्र आन्दोलनकाे जिम्मा लिनुपर्छ भनेर आवाज उठाइरहेका छौँ।
नेपाल ल क्याम्पस सत्ताको राजनीतिबाट ग्रसित नहोस् र नितान्त रूपमा कानुन पढाइ होस् भनिरहेका छौँ। अन्य सामान्य कुराहरू राजनैतिक रूपमा उठाइरहेका छौँ।