जुम्लामा ऐतिहासिक सांस्कृतिक पर्वकाे रुपमा मनाइने जात्रा भाेलिबाट सुरु हुँदै

जुम्लामा वि.सं १९५३ सालबाट लगातार मनाइदै आएकाे जात्रा भाेलि (शुक्रबार) बाट सुरु हुने भएकाे छ। प्राय: जनैपूर्णिमाकाे भाेलिपल्टबाट सुरु हुने जात्रा यस वर्षा एक तिथि घटेका कारण एकदिन अगाडिबाट सुरु हुन लागेकाे जात्रा समितिका सचिव धनराज सुनारले बताए।

‘याे वर्ष एक तिथि घटेकाे कारण जनैपूर्णिमाकै दिनबाट जात्रा सुरु हुँदैछ,’ उनले भने,‘जात्राकाे सबै तयारी पूरा भइसकेकाे छ। हरेक दिन साँझ निकाल्ने लाखे नाचका कारण प्रचारप्रसार राम्राे भएकाे छ।’

श्रावण कृष्ण चतुर्दशीका दिन गठामंगल (गाँठेमंगल)को रुपमा घण्टाकर्ण नामक राक्षसको पुत्ला थपना गरी सोही दिन साँझ नदीमा सेलाइ विदिवत् जात्राको सुरुवात गरिने लामाे समय जात्रा व्यवस्थापनमा खटिएका चित्रलाल श्रेष्ठले बताए।

‘जात्रा गठामंगल (गाँठेमंगल)को रुपमा घण्टाकर्ण नामक राक्षसको पुत्ला थपना गरी सोही दिन साँझ नदीमा सेलाएकै दिनबाट सुरु हुन्छ,’ उनले भने, ‘त्यसै दिनदेखि हरेक साँझ लाखे नाच देखाउने गरिन्छ। यसले जात्रा चलिरहेको छ भन्ने संकेत दिन्छ।’

उनकाअनुसार गाउँ–गाउँबाट सदरमुकाम आउने नागरिकले यो जात्रा भव्य रुपमा मनाइदैछ भन्न सन्देश बोकेर फर्किन्छन्। हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टबाट व्यापक हुने भए पनि याे वर्ष साेही दिनबाट जात्रा चल्दैछ।

पहिलो दिन औपचारिक रुपमा गाईजात्रा मनाइन्छ। यसकाे रुप काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रासँग मिल्दोजुल्दो भएकाे समितिका काेषाध्यक्ष महेन्द्र कार्कीले बिएल नेपाली सेवासँग बताए।

‘खासगरी बजार आसपासको घरमा त्यसवर्ष काेही मान्छे मरेको रहेछ भने त्यही घरबाट गाई निकाल्ने चलन छ,‘ उनले भने,‘गाईसँगै गाईका बाच्छाहरु समेतकाे नाचले जात्रा राेचक बन्छ।’

गाईका बाच्छाहरु नाचेर आम दर्शकलाई रमाइलो दिने गरिन्छ भने मान्छे मरेको घरका सदस्यहरुको शोक पनि कम हुने मान्यता रहेकाे छ। यद्यपी, पछिल्लो समय गाईजात्रा देशको अव्यवस्थालाई प्रहार गर्ने व्यंग्यात्मक प्रतिबिम्बको रुपमा समेत चिनिएको कवि यमराज कार्कीले बताए।

‘धेरै वर्षदेखि काव्यकाे माध्यमबाट व्यंग्य गरिन थालेकाे छ,‘ उनले भने,‘रिसरागभन्दा पनि राजनीति र उच्च पदस्त व्यक्तित्वमा देखिएकाे स्खलनलाई जस्ताको तस्तै देखाइन्छ।’

दोस्रो दिन रोपाइँजात्रा, तेस्रो दिन मिम वाद्साहा र पल्टन जात्रा, चौंथो दिन बाघ-भालु मार्ने र खष जात्राले जुम्ली नागरिकलाई भरपुर मनोरञ्जन दिन्छ।

कृष्ण जन्माष्टमिको दिन कृष्ण जन्मेको दृश्य देखाइन्छ। कृष्ण जन्माष्टमिको भोलिपल्ट लाखे मारी कृष्णको विजय रथयात्रा कृष्ण मन्दिरबाट सुरु गरी चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरी सोही कृष्ण मन्दिरमा आएर विधिवत् रुपमा जात्राको समापन गरिन्छ।

साउन र भदौ महिनामा मुख्यतया जुम्लाको सदरमुकाम खलंगामा हुने जात्रा नेवार समुदायसँग जोडिएको पाइन्छ। 

कान्तिपुरी नगरी (हालको काठमाडौं) बाट नेवार समुदाय देशको विभिन्न स्थानहरुमा व्यापारिक स्थानन्तरको सिलसिलामा दैलेख हुँदै जुम्ला आएर स्थायी कर्मथलो बनाउँदादेखि नै उनीहरुले यो संस्कृति भित्र्याएको देखिन्छ।

जसका प्रवर्तकका रुपमा पूर्णसिंह श्रेष्ठ मल्लका छोरा कृष्णबिर श्रेष्ठ मल्ललाई मानिन्छ। तर, आजको परिवेशमा यो नेवार समुदायको मात्र नभएर समग्र जुम्लाबासीको संस्कार र संस्कृति बनिसकेको सचिव सुनारले बताए।

‘अब त यो संस्कृति चन्दननाथ नगरपालिकाभित्र मात्र सिमित नभई जिल्लाका अन्य भाग, कर्णाली आसपासका जिल्लासँगै समग्र कर्णाली प्रदेशभित्र ठुलो जात्रा वा संस्कृतिको रुपमा विस्तार भएकाे छ,’ उनले भने।

जात्राको यो अवधिमा जुम्ला जिल्लालगायत आसपासका जाजरकोट, मुगु, कालिकोट र डोल्पा जिल्लाका लगभग २०/३० हजार नागरिकहरु लामो समय कृषि पेसा र घरायसी कामकाजबाट थकान मेटाउँदै जात्राको माध्यमबाट भरपुर मनोरञ्जन लिने आउने गरेका छन्।

दुई वर्ष काेराेनाकाे कारण राेकिएकाे जात्रा याे वर्ष पुन: मनाउन पाउँदा खुसी भएकाे कलाकार आनन्द अधिकारीले बताए। उनले भने,‘याे वर्ष पुराना सबै मनाेरञ्जनात्मक गतिविधि हुने छन्।’

जात्राले जिल्लाको सांस्कृतिक पर्यटनमा ठुलो प्रभाव पार्दै स्थानीय रोजगारी सिर्जनामा पनि टेवा पुर्‍याइरहेकाे छ। यसबीचमा गरिने बढीमालिका बढाइ पनि जुम्लाको ठुलाे पर्व हाे।

प्रकाशित मिति: : 2022-08-11 15:50:00

प्रतिकृया दिनुहोस्