‘मिस्टर एन्ड मिस थारु’ मा २५ प्रतियोगी छनोट

थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन्।

सात जिल्लाका प्रमुख सहरहरूमा सकिएको अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएका हुन्। गत २१ साउनमा चार र मंगलबार थप तीन जिल्लामा अडिसन सम्पन्न भएको छ।

मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो। विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरी तीनजना छनोट भएका छन्। छनोट हुनेमा प्रविनकुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी छन्।

यस्तै लहान अडिसनबाट पनि तीनजना छनोट भएका छन्। छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी छन्। टीकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन्।

गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी भएकामा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन्। वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीनजना छनोट भएका छन्। चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी चारजना छनोट भएका छन्।

नेपालगञ्जमा अडिसनमा आशीष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरी ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन २८ साउनमा काठमाडौँ, बुटवल र दाङमा हुनेछ। यस अडिसनपश्चात छनोट भएकालाई काठमाडौंमै राखेर प्रशिक्षण दिइने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए।

प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन्। प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो। पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन्। २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन्। २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन्।

प्रकाशित मिति: : 2022-08-10 16:54:00

प्रतिकृया दिनुहोस्